बिदा लिँदै वामदेव
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम १४ वर्षपछि अखिल नेपाल किसान महासंघको नेतृत्वबाट बिदा हुने भएका छन् । लगातार दुई कार्यकाल महासंघको अध्यक्ष रहेका गौतम पछिल्लोपटक एउटै कार्यकाल झन्डै नौ वर्ष अध्यक्ष थिए ।
आगामी चैत २६ देखि २८ गते काठमाडौंमा हुने महासंघको छैटौं राष्ट्रिय महासम्मेलनबाट बिदा लिने इच्छा गौतमले निकट नेता–कार्यकर्तासँग व्यक्त गरेका हुन् । २०५८ सालमा एमाले र तत्कालीन मालेबीच एकीकरण भएपछि बनेको महासंघमा गौतम अध्यक्ष थिए । २०६४ सालमा सम्पन्न पाँचौं महासम्मेलनबाट पुन: नेतृत्वमा निर्वाचित गौतम उमेरले ६८ वर्ष पुगेका छन् । ‘लामो समयसम्म अध्यक्षमा रहेकाले पुन: दोहोरिँदा नेतृत्व विकास अवरुद्ध हुने भन्दै उहाँले पटकपटक बिदा लिने इच्छा देखाउनुभएको छ,’ उनीनिकट एक नेताले भने । एमालेको सबैजसो जनवर्गीय संगठनमा एउटै व्यक्ति दुई कार्यकाल बढी अध्यक्ष बन्न नपाउने व्यवस्थासमेत छ । महासंघ पनि एमालेको घोषित जनसंगठनमध्ये एक हो ।
केन्द्रीय पदाधिकारीमध्ये सबैभन्दा ज्येष्ठ उमेरका गौतमले उमेर हदका कारण पार्टीको दसौं महाधिवेशनबाट पनि स्वत: अवकाश पाउँदै छन् । एमाले विधानमा ७० वर्षसम्म मात्रै केन्द्रीय कमिटीको उम्मेदवार बन्न पाउने व्यवस्था छ । महासम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महासम्मेलनका लागि महासंघको बैठकले ‘कृषि क्षेत्रमा आमूल परिवर्तन र व्यवसायीकरण गरौं, खाद्य सम्प्रभुता कायम गरौं’ भन्ने मूलनारा तय गरेको छ । ‘संविधानसभाबाटनयाँ संविधान जारी भइसकेको परिप्रेक्ष्यमा मुलुकलाई तीव्र आर्थिक विकासतर्फ बढाउन निर्भरतामुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो,’ महासंघका उपमहासचिव बलराम बाँस्कोटाले भने, ‘यसपछि मात्रै मुलुकका सबै जनताले खाना पाउने अधिकारको सुनिश्चित गर्न सकिन्छ ।’ महासम्मेलन नजिकिँदै जाँदा प्रचारलगायतका तयारी कार्य तीव्र बनेको छ ।
महासम्मेलनमा ७ सय प्रतिनिधि
महासंघको महासम्मेलनमा जिल्ला र २३ वटा घटक संगठनहरूबाट ७ सय २५ जनासम्म प्रतिनिधि सहभागी हुँदैछन् । ५ वटा निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ जना, ७ वटा निर्वाचन क्षेत्रसम्म भएका जिल्लाबाट ६ जना तथा त्यसभन्दा माथि निर्वाचन क्षेत्र भएका जिल्लाबाट ७ जना प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।
६५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव
उपमहासचिव बाँस्कोटाका अनुसार ९२ सदस्यीय केन्द्रीय कमिटीलाई बढीमा ६५ सदस्यीय बनाउने विषयमा छलफल अघि बढेको छ । प्रत्येक प्रदेशबाट दुई पुरुष र दुई महिला तथा २३ घटक संगठनबाट एकजना तथा सात सदस्यीय सचिवालय र कुल सदस्यको एक तिहाइ स्थायी समिति सम्मेलनबाट निर्वाचित हुनेछन् । अध्यक्ष, उपाध्यक्ष र महासचिवपछि २ या १ उपमहासचिव र त्यत्तिकै संख्यामा सचिव राख्ने विषयमा छलफल भइरहेको छ ।
श्रेष्ठ र बाँस्कोटा दाबेदार
गौतम दोहोरिन इच्छुक नदेखिएपछि अध्यक्षका लागि उपाध्यक्ष केशवलाल श्रेष्ठ र उपमहासचिव बाँस्कोटा दाबेदार देखिएका छन् । श्रेष्ठले सर्वसम्मत रूपमै अध्यक्ष चयन गर्ने गरी छलफल अघि बढेको बताए । ‘मैले वामदेव कमरेडसँग तपाईंले बिदा लिँदा सर्वसम्मत चयन गर्नुपर्ने प्रस्ताव राखेको छु, उहाँ त्यसमा सकारात्मक नै हुनुहुन्छ, एकपटक नेतृत्व लिएर ऊर्जाका साथ संगठन सञ्चालन गर्न सक्छु भन्ने मेरो दाबी हो,’ श्रेष्ठले भने । महासंघका अहिलेका उपाध्यक्ष शान्ता मानवी पशुपन्छी विकासमन्त्री छिन् भने महासचिव डा. प्रेम दंगालले भने युवा स्वरोजगार तथा साना व्यवसायी कोषको उपाध्यक्षमा नियुक्त भएपछि महासंघबाट बिदा लिइसकेका छन् । श्रेष्ठ र बाँस्कोटा दुवै नेता गौतम निकट हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply