अत्यासलाग्दो सडक दुर्घटना
विगत केही महिनायता बढ्दो सडक दुर्घटनाले धेरै प्रश्नचिह्न उठाएको छ । काभे्र, चितवन, अर्घाखाँचीमा भएका भयावह यातायात दुर्घटनाले नेपालमा सार्वजनिक यातायात दिनहुँ असुक्षित बन्दै गएको गतिलो प्रमाणसमेत दिएको छ । यातायातका साधनहरूमा सवारी हुनुको अर्थ भयावह दुर्घटनाको सामना गर्नु हो भन्ने छाप पर्दै छ । आखिर सडक दुर्घटनामा किन वृद्धि भइरहेको छ ? कसको लापरबाहीले दुर्घटना बढिरहेको छ ? र, दुर्घटनाका कारक तŒवहरू के–के हुन् ? यस्ता गम्भीर प्रश्नहरू यतिबेला सतहमा उत्रिएका छन् ।
पछिल्लो समय, देशका विभिन्न सडकखण्डमा भएका दुर्घटनाका कारण दर्जनौंले जीवन गुमाएका छन् । कैयौं घाइते हुन पुगेका छन् । दुर्घटनामा जीवन गुमाएकै कारण कतिपयको सहारा खोसिएको छ भने कतिपयका सिउँदो पुछिएका छन् । यस्तो भयावह दृश्य दिनहुँ उत्पन्न भए पनि सडक दुर्घटनालाई न्यूनीकरण गराउनेतिर सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन । कसको लापरबाहीले सडक दुर्घटना चुलिँदै गएको हो ? सम्बन्धित निकायले सचेततापूर्वक कदम चाल्न ढिलाइ गरिरहेको सर्वत्र महसुस गरिँदै छ अहिले ।
नेपालमा बर्सेनि सडक दुर्घटना वृद्धि हुनुमा धेरै कारण अंकित रहेका छन् । एक त यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट प्रणालीले दुर्घटना वृद्धिमा पर्याप्त सघाउ पु¥याइरहेकोमा कुनै दुईमत देखिँदैन । सिन्डिकेट प्रथाले गर्दा यातायात व्यवसायीहरूको एकाधिकार झनै मौलाउँदै गएको छ । सिन्डिकेटको तगारोले सडकहरूमा नयाँ र सुविधायुक्त सवारीसाधनलाई गुड्नबाट छेकेको छ र वर्षौ पुरानो, थोत्रा र इन्जिनसमेत सही अवस्थामा नरहेका सवारी साधनहरूले सडकमा कब्जा जमाइरहेको अवस्था छ । केही दिनअघि अर्घाखाँचीमा भएको जिप दुर्घटनापश्चात् पहाडी भेगका कच्ची सडकखण्डमा कस्तो कन्डिसनका सवारी साधनहरू चल्दा रहेछन् भन्ने कुरा स्वतः पुष्टि भएको छ । जिपको ब्रेक फेल भएकै कारण अर्घाखाँची–दुर्घटना निम्तिएको प्रस्टै भएको छ । त्यसो त नेपाली सडकहरूमा वर्षौंदेखि त्यस्ता सवारीसाधनहरू गुडिरहेका छन्, जसको कन्डिसन कस्तो छ भन्नेमा कसैको पनि ध्यान पुग्न सकिरहेको छैन । वर्षौं पुराना र ठीक कन्डिसनमा नभएका सवारी साधनहरू हटाउनेमा भन्दा पनि त्यसलाई नै गुड्न दिने यातायात व्यवसायीहरूका हठले दुर्घटना निम्त्याउन भूमिका खेलिरहेको छ । जबसम्म सिन्डिकेट प्रथा हट्दैन, तबसम्म सडक दुर्घटनामा कमी आउने कल्पना गर्न मुस्किलै पर्दछ ।
पछिल्लो समय, पहाडका कच्ची सडकहरूमा सवारी दुर्घटना बढेको देखिएको छ । यातायात व्यवसायीहरूले पनि आफ्ना सवारीसाधनहरू पुराना र थोत्रा हुँदै गएपछि पहाडका कच्ची सडकहरूमा चलाउने गरेको पाइएको छ । स्पष्टै छ, एक त कच्ची सडक र त्यसमा पुराना र थोत्रा सवारी साधनहरू चलाएपछि त्यसले दुर्घटना ननिम्त्याए अरू के निम्त्याउँछ ? काभे्र र अर्घाखाँचीमा त्यस्तै कच्ची सडकमा दुर्घटना भएका हुन् र चितवनको दुर्घटनामा पनि सडकको बेहाल अवस्था नै थोरबहुत रूपमा जिम्मेवार रहेको देखिएको छ ।
केही दशकयता सडक निर्माणमा तीव्रतर वृद्धि हुन पुगेको छ । सडक सञ्जालले देशका अधिकांश भूभागलाई जोड्न पुगेको छ । तर, वृद्धिसँगै सडकको स्तरोन्नति भने हुन सकेको देखिँदैन । स्थानीय तहमा प्रवाहित बजेट सडक निर्माणमा केन्द्रित हुने गरेको भए पनि अधिकांश सडकहरू भने कच्ची अवस्थामा नै रहेका छन् । त्यस्ता सडकहरू हिउँदमा ठीकठीकै चल्ने र वर्षामा भने बन्द हुने अवस्थाका छन् । अहिले यातायात व्यवसायीहरूलाई त्यस्ता कच्ची सडक दुहुनो गाई साबित हुन पुगेको छ । सडक कच्ची रहेको कारण देखाउँदै यात्रुहरूबाट मनपरी रूपमा भाडा असुल्ने कार्यमा व्यवसायीहरूबीच प्रतिस्पर्धा नै चल्ने गरेको पाइएको छ । सडकको स्तरोन्नति भएसँगै भाडादरमा चेपिनुपर्ने भएको कुरा बुझेका व्यवसायीहरूले अधिकांश कच्ची सडकहरूमा मनलाग्दी भाडा असुलिरहेका छन् र ग्रामीण भेगका सर्वसाधारण चर्को भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्ने हेतुले केही सडकखण्डमा भने सुधार गर्ने प्रयत्न गरिएको छ । सवारीसाधनहरूको बढ्दो चापसँगै दुर्घटना बढ्न थालेपछि बीपी राजमार्गको सिन्धुली जिल्लाभरि टाइम–कार्ड लागू गरिएको छ । साना सवारी साधनहरूको चाप बढ्न थालेपछि लागू गरिएको टाइम–कार्डले चालकहरूलाई सचेतना त दिलाएको छ नै, दुर्घटनामा पनि केही कमी आएको बताइएको छ । तर, टाइम–कार्डको व्यवस्था देशका अरू सडकखण्डमा पनि लागू गर्दा उचितै हुने देखिन्छ । तर, त्यसका निम्ति व्यवसायीहरूको एकाधिकारको अन्त्य पनि हुनुपर्ने देखिन्छ ।
केही दिनयता सडक दुर्घटनामा भएको वृद्धिले धेरै नेपालीलाई झस्काएको छ र नेपाली सडकहरू दिनप्रतिदिन असुरक्षित हुँदै गइरहेकोमा उत्तिकै चिन्तित पनि छन् । सडक दुर्घटनामा देखिएको वृद्धिलाई न्यूनीकरण गर्नेतिर सरकारले समयमै कदम नचाल्ने हो भने अझ पनि थुप्रै काभ्रे, चितवन र अर्घाखाँचीहरूको नियति नदोहोरियला भन्न सकिँदैन ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply