एमालेमा प्रदेश कमिटी चलायमान – ५ सय ४२ लाई जिम्मेवारी
काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिएलगत्तै ती कमिटीहरू चलायमान हुन थालेका छन् । गत भदौ २६ गते बसेको स्थायी समिति बैठकले सात प्रदेश संगठन कमिटीको सबै नाम अनुमोदन गरेको थियो । दुई साताअघि नै पूर्णता पाइसके पनि स्थायी समितिले सबै नाम एक पटक रुजु गरेर अनुमोदन गरेको हो । जसअनुसार संयोजक र सहसंयोजकसहित ५ सय ४२ नेताहरूले नयाँ जिम्मेवारी पाएका छन् । सबै प्रदेश कमिटीले धमाधम पहिलो बैठक र भेलाको तयारी थालेका छन् ।
नयाँ संवैधानिक संरचनाअनुसार प्रदेश कमिटी बनाउने एमाले पहिलो पार्टी बनेको छ । संसद्का प्रमुख दल कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक विवादमै रुमल्लिरहेको र जातीय–क्षेत्रीय मुद्दा र सत्ताको झिनाझप्टीमा कतिपय दल व्यस्त रहँदा एमालेले भने आन्तरिक एकता सुदृढ गर्दै प्रदेशको संरचना तयार पारेको हो । यससँगै एमालेका अधिकांश बेरोजगार नेताहरूले नया“ काम पाएका छन् ।
तीन प्रदेश ठूलो, ६ नम्बर प्रदेश सानो
हालै गठित प्रदेशहरूमध्ये ३ नम्बर प्रदेश संख्याका हिसाबले सबैभन्दा ठूलो र सबैभन्दा सानो ६ नम्बर प्रदेश देखिएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य संयोजक र पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी सहसंयोजक रहेको ३ नम्बर प्रदेश १ सय ११ सदस्यीय रहेको छ । त्यसैगरी, सबैभन्दा सानो संख्या ५२ सदस्यीय रहेको ६ नम्बर प्रदेश संयोजकमा उपाध्यक्ष युवराज ज्ञवाली र सहसंयोजकमा यामलाल क“डेल छन् ।
त्यस्तै, १ सय १ सदस्यीय प्रदेश नम्बर १ मा सचिव भीम आचार्य संयोजक र पोलिटब्युरो सदस्य शेरधन राई सहसंयोजक छन् । यो प्रदेशले संगठन कमिटीको पहिलो बैठकसमेत सम्पन्न गरेको छ । गत २२÷२३ गते धनकुटाको पाख्रिबासमा बसेको बैठकले प्रदेश कमिटीलाई चलायमान बनाउने निर्णय गरेको छ । त्यस्तै, प्रदेश नम्बर २ मा स्थायी समिति सदस्य सत्यनारायण मण्डल संयोजक र पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१ सदस्यीय, प्रदेश नम्बर ४ मा स्थायी समिति सदस्य किरण गुरुङ संयोजक र पोलिटब्युरो सदस्य गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९ सदस्यीय तथा प्रदेश नम्बर ५ मा उपमहासचिव विष्णुप्रसाद पौडेल संयोजक र पोलिटब्युरो सदस्य दलबहादुर राना सहसंयोजक रहेको ८० सदस्यीय कमिटी निर्माण भएको छ । प्रदेश नम्बर ७ को ५८ सदस्यीय कमिटीमा उपाध्यक्ष भीमबहादुर रावल संयोजक र पोलिटब्युरो सदस्य कर्णबहादुर थापा सहसंयोजक छन् । ४ नम्बर प्रदेशले आगामी असोज २ गते पोखरामा बैठक बोलाएको छ । प्रदेशका बैठक र भेलाहरूलाई चुनाव केन्द्रित गर्ने एमालेको तयारी छ ।
स्थायी समितिले प्रदेश कमिटीहरूलाई जिल्ला स्तरमा भेला, कार्यक्रम गर्ने, परिचालन गर्नेलगायतका अधिकार प्रदान गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । पहिलो अधिवेशनपछि प्रदेश संगठन कमिटीहरू विगतको अञ्चल कमिटीभन्दा धेरै कार्यकारी हुनेछन् । जिल्ला कमिटीले भने समन्वयकारी भूमिका खेल्नेछ । प्रदेश कमिटीमा स्थायी कमिटीबाट तोकिएका प्रदेश संयोजक र सहसंयोजक, अञ्चल इन्चार्ज तथा सहइन्चार्ज, केन्द्रबाट तोकिएका जिल्ला इन्चार्ज र सहइन्चार्ज, निवर्तमान अञ्चल सचिवहरू, जिल्ला कमिटीका अध्यक्षहरू, जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान जिल्ला अध्यक्षहरू, निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरू, जिल्ला कमिटीको सिफारिसमा केन्द्रीय कमिटीद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का महिला सदस्यहरू र केन्द्रीय कमिटीको विशेष निर्णयद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का दलित सदस्यहरू रहेको एमालेले जनाएको छ । प्रदेश सचिव र कुल सदस्य संख्याको १० प्रतिशत सदस्य मनोनयन गर्ने अधिकार भने स्थायी समितिले सम्बन्धित प्रदेश कमिटीलाई नै दिएको छ ।
तीनजना सल्लाहकारमा मनोनीत
बैठकले एमाले प्रवेश गरेका गोविन्दविक्रम शाह, रमेश श्रेष्ठ र मोती दुगडलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनीत गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply