तीव्र दबाबबीच प्रचण्डको भारत–यात्रा
केही दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्किँदैछन् । प्रधानमन्त्री भएको एक महिना बितेलगत्तै एउटा अतिमहत्वपूर्ण छिमेकी राष्ट्रको भ्रमण गरेर भारतीय पक्षसँग सम्बन्ध सुदृढ तुल्याउने अभिप्रायअनुरुप हुन लागिरहेको नेपाली प्रधानमन्त्रीको यो भ्रमणले नेपाली राजनीतिक वृत्तमा अनेक तरंग र आशंकाहरु उत्पन्न गराएका छन् । भारतीय पक्षको सद्भाव र इच्छाअनुरुप गठन भएका पूर्ववर्ति सरकारका प्रमुखहरुबाट भारत भ्रमण गरेलगत्तै विवादको शृंखलामा जोडिने भएका हुँदा अहिले प्रचण्डको भारत भ्रमणलाई पनि त्यही शीर्षकको उपशीर्षकमा राखेर हेर्न थालिएको छ । यसमा कति सत्यता होला र कति अफवाहले काम गरेका होलान्, त्यो आफ्नै ठाउँमा छन् । तर, नेपालका हरेक प्रधानमन्त्रीले गर्ने भारत भ्रमणलाई शंकास्पद दृष्टिले हेर्ने क्रमको भने अझै अन्त्य भइसकेको छैन र प्रधानमन्त्री दाहालको सवालमा पनि यो पक्ष हावी हुने स्वतः देखिन्छ ।
भारत र चीन विश्वका दुई शक्तिशाली राष्ट्र हुन् । अर्थव्यवस्थाका हिसाबले त चीन दोस्रो राष्ट्र बनिसकेको छ भने भारत भने चौथो राष्ट्रको रुपमा उदाएको छ । एसियाका यी दुई ठूला अर्थव्यवस्था भएका मुलुकका बीचमा बाँचेको नेपालले दुवै देशसित सन्तुलित व्यवहार गरेर अगाडि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जित भएको छ । एउटालाई काखा र अर्कालाई पाखामा पार्ने दाउपेच नेपालको हितमा हुन नसक्ने यथार्थ स्थापित भइसकेको छ । र, नेपालका हरेक प्रधानमन्त्रीले सत्ता सम्हालेलगत्तै सामाजिक, सांस्कृतिक, भौगोलिक सुगमतालगायत हरेक हिसाबले नजिक रहेको भारतको भ्रमण गर्ने र त्यसपछि मात्र आर्थिक रुपमा विश्वकै पहिलो शक्ति बन्ने दिशातिर उन्मुख चीनलाई दोस्रो प्राथमिकतामा राख्दै आइरहेको पाइन्छ । प्रधानमन्त्री दाहालले पनि यही क्रमलाई पछ्याएका छन् ।
यतिबेला प्रधानमन्त्री दाहाल भारत भ्रमणको तीव्र तयारीमा जुटेका छन् । करिब एक वर्षअघि संविधान जारी भएपछि भारतसित बिग्रिएको सम्बन्ध अझै तंग्रिइनसकेको हुँदा दाहालको यो भ्रमणले दुई देशबीच उत्पन्न कटुता, असहजता र अप्ठेरोपनामा केही सुधार आउला कि भन्ने अपेक्षा अहिले सँगालिन थालिएको छ । संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दीले आहत भएका नेपाली जनताले छिमेकीसितको सम्बन्ध सुमधुर भए धेरै व्यवधान र अप्ठेराहरु किनारा लाग्ने अपेक्षा सँगाल्नु स्वाभाविक पनि थियो ।
यद्यपि, प्रधानमन्त्री दाहालको भारत भ्रमणले दुई देशबीचको कटुता घट्ला नै । तर, कुनै नौलो एजेन्डा बोकेर भारत भ्रमणमा वर्तमान प्रधानमन्त्री निस्किन नलागेको हुँदा उनका यात्राले औपचारिक मान्यता पाए पनि जनयुद्धताका आठ वर्षसम्म भारतमा रहेका प्रचण्डका सामु यो यात्रा भारतीय स्थलहरु अर्को पटक घुम्ने तहभन्दा माथि उठ्ला भन्न सकिँदैन । किनकि, बिना एजेन्डा हुन लागिरहेको प्रधानमन्त्रीको यो भ्रमणले राष्ट्रको हितलाई ध्यानमा राखिएको पाइँदैन । केवल भारतीय समकक्षी, नेताहरुसित भेटघाटका साथै केही रमणीय स्थलहरुमा घुम्नमा नै प्रधानमन्त्रीको भ्रमणको सार्थकता झल्किने स्पष्टतः देखिन्छ ।
अर्कोतिर, प्रधानमन्त्री दाहालले अहिलेको भ्रमणमा राष्ट्रिय हित विपरीतका कुनै पनि सन्धी, सम्झौता नहुने पटकपटक स्पष्टिकरण दिँदै आएका छन् । आखिर, प्रधानमन्त्रीले किन यस्तो स्पष्टिकरण दिइरहेका छन् ? राणाकालीन समयमा चोर पत्ता लगाउने एउटा उपायमध्ये चोरीमा संलग्न व्यक्तिहरुलाई लस्करै उभ्याएर ‘चोरको खुट्टा काट्’ भन्ने चलन थियो रे । जब कसैले चोरको खुट्टा काट् भन्थे, वास्तविक चोरले खुट्टा पछाडि साथ्र्यो रे । अहिले प्रचण्डको स्पष्टिकरणले त्यही राणाकालीन सन्दर्भलाई उजागर गरेको छ । यदि, प्रधानमन्त्री दाहाल असल नियत लिएर भारत भ्रमणमा निस्किन लागेका हुन् भने अरु स्पष्टिकरण दिइरहनुको अर्थ देखिँदैन । होइन भने, ‘दाल मे कुछ काला है’ भन्ने चर्चित लोकोक्तिलाई पछ्याउन खोजेको देखिन्छ ।
यतिबेला प्रधानमन्त्री दाहाल तीखो दबाबमा रहेको जोकोहीले महसुस गर्न सक्छन् । भारत भ्रमणमा निस्किनुअघि पनि उनमा तीव्र दबाब परेको स्वतः बुझ्न सकिन्छ । किनकि, भारत भ्रमणमा निस्किनुअघि संविधान संशोधन गर्ने कुरा उनले गरेका थिए । संविधान संशोधन उनको बसमा छैन भन्ने कुरा सबैले बुझेका छन् । व्यवस्थापिका–संसद्को दुई तिहाईबिना संविधान संशोधन हुन सक्दैन । त्यसका निम्ति एमाले र अरु राजनीतिक दलको समर्थन लिनैपर्छ । संविधान संशोधनको गोटी फ्याँकेका दाहालले पछि भारत भ्रमणअघि संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कुरा उप्काए । तर अहिले भने भारत भ्रमणबाट फर्केपछि मात्र संशोधनको कुरा उठाएका छन् ।
सबैले बुझेको कुरा हो, प्रधानमन्त्री दाहाल तीव्र दबाबबीच भारततिर हान्निदैछन् । किन यस्तो दबाव र तनाव झेल्दै भारतको यात्रा गर्नुपरेको हो, एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकका प्रधानमन्त्रीलाई ? यही प्रश्नले नै प्रधानमन्त्रीको आशन्न भ्रमणको पछाडि लुकेको रहस्यलाई खोतल्न धेरै नै मद्दत पु¥याउने छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply