तराईमा लाखौंको मार्चपास गर्ने एमालेको तयारी
१५ दिनमा ३५ वटा जनसभा, ७ लाख सहभागी हुने
काठमाडौं । सरकार राष्ट्रियता टुक्र्याएर चुनाव अनिश्चित बनाउँदै मुलुकलाई संवैधानिक संकटमा धकेल्न उद्यत देखिएको छ । तराईमा रहेका भूमिपुत्र थारू, धिमालसहित रैथानेहरू यादव, चौधरी, ठाकुर, दलितका सबैलाई अधिकारबाट वञ्चित बनाएर नेपाललाई नै भारतको एउटा उपनिवेशमा परिणत गर्ने ‘संविधान संशोधन’ को डिजाइन कार्यान्वयनमा दत्तचित छ ।
यी सबै षड्यन्त्रका बाबजुद तराई–मधेसका जमिनदारहरूको शोषण र उत्पीडनविरुद्धको आन्दोलनबाट निर्मित एमालेलाई मधेसविरोधी पार्टीका रूपमा दर्ज गर्ने दुष्प्रयत्नविरुद्ध फागुन तेस्रो साताबाट सिंगै तराई–मधेस एकपटक जुरुक्कै उठ्ने भएको छ । यी सबै षड्यन्त्रविरुद्ध तराईमा लाखौंलाख जनता सडकमा उतारेर ‘मार्च पास’ गर्ने गरी एमालेको हाई कमान्ड ‘स्थायी समिति’ ले योजना सार्वजनिक गरेको हो । पञ्चायत शासकबाट सुखानीको जंगलमा हत्या गरिएका पाँच सहिदहरूको स्मृति दिवसकै दिन अर्थात् आगामी २१ फागुनबाट ५ चैतसम्म १५ दिन मेची–काली अभियान सञ्चालन गर्ने एमालेले घोषणा गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहितको अगुवाइ, सबै केन्द्रीय नेता, जनसंगठनका नेतृत्वसहितको सहभागिता, प्रदेश संगठन र जिल्ला कमिटीहरूको व्यवस्थापनमा लगातार एमालेले तराई–मधेसका लाखौं जनतालाई ‘मार्च पास’ र जनसभामा उतार्न लागेको हो । जसअन्तर्गत एकै दिन ‘पूर्व–पश्चिम हाइवे’ का प्रमुख सहरहरूमा दुईवटासम्म आमसभा गर्ने गरी योजना बनाइएको केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेका अनुसार काँकडभिट्टाबाट सुरु हुने जनप्रदर्शन र मार्चपास इनरुवा, इटहरी, बर्दिबास, जनकपुर, वीरगन्ज, बुटवल, भैरहवा हुँदै कञ्चनपुुरको महेन्द्रनगरसम्म पुग्नेछ । फर्किएर सुर्खेतसम्म समापन हुँदा कम्तीमा ३० देखि ३५ वटासम्म जनसभा, प्रदर्शन र ¥याली हुनेछन् । एमालेले यसलाई पार्टीको इतिहासमै सबैभन्दा ठूलो शक्ति प्रदर्शन हुने भन्दै सम्पूर्ण ध्यान केन्द्रित गरेर पार्टी पंक्तिलाई परिचालित गर्ने निर्णय गरेको छ । हजारौंको सहभागितामा तराई–मधेसमा जनसभा र भेलाका कार्यक्रमहरू भइरहँदा पनि नागरिकता र अघिल्लो पुस्ताको कुनै ठेगान नभएका मधेसी मोर्चाका केही नेताले एमालेलाई ब्यान्ड बाजा बजाएर लखेट्नेजस्ता तुष्टि लिने उत्तेजित भाषण गरिरहेकै बीचमा तिनका पृष्ठभूमि, चरित्रका साथै मधेसका नाममा गरिरहेको शोषण र उत्पीडनको भण्डाफोर गर्ने गरी एमालेले योजना बनाएको छ ।
पूर्व–पश्चिम राजमार्गका सबै सहरहरूमा एकदेखि दुई घण्टाको दूरीमा लगातार जुलुस र आमसभा आयोजना हुँदा दुई साताबीचमा लाखौंको सहभागिता रहने एमालेको दाबी छ । गत मंसिरबाट फागुन पहिलो सातासम्म राष्ट्रिय जागरण अभियानअन्तर्गत आमसभा र जनपरिचालन गरिरहेको एमालेले फागुन तेस्रो साताबाट सुरु हुने पछिल्लो अभियानलाई चुनावकेन्द्रित शक्ति प्रदर्शनका रूपमा प्रतिष्ठासँग जोड्न खोजेको छ । जागरण अभियानअन्तर्गत एमालेले यसबीचमै झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, बुटवल, धनगढी, नवलपरासीलगायतका स्थानमा आमसभा गरेको थियो ।
शीर्ष नेतादेखि केन्द्रीय तहका नेता, २२ वटै जनसंगठनका नेतृत्वसमेत सहभागी हुने अभियानमा कम्तीमा ५ हजारले एउटा सभास्थलबाट अर्को सभास्थलसम्म ‘मार्चपास’ गर्ने ज्ञवालीले जानकारी दिए । एउटा जुलुसले अर्को आमसभा स्थलसम्म मार्चपास र जुलुस गरेपछि अघिल्लो टोली झाँकीसहित पूर्ववत् स्थानमा फर्किनेछ भने नयाँ टोली र हजारौं सहभागी मार्चपास र जुलुस फेरि अर्को आमसभा स्थलतर्फ अघि बढ्नेछ । ‘त्यसबाहेक नेतृत्वसँगै कार्यकर्ता पंक्ति, जनसमुदाय हुनेछन्, दिनभरि जुलुस हिँडिरहनेछ,’ उनले भने, ‘अघिपछि झन्डा राखिएका सयौं गाडी, मोटरसाइकल र साइकलहरूको ¥याली पनि सँगसँगै जानेछ ।’ उनले १५ दिनसम्मको लगातार अभियानमा लाखौं जनता सडकमा उत्रिने अपेक्षा गरिएको समेत बताए ।
‘अभियानको मुख्य उद्देश्य संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने र राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई सुदृढ गर्नु हुनेछ,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अभियानको तयारी र व्यवस्थापनको नेतृत्व सम्बन्धित प्रदेशका प्रदेश संगठन कमिटी र जिल्ला कमिटीहरूले गर्नेछन् ।
हुलाकी मार्ग र मध्यपहाडी राजमार्गमा छुट्टै अभियान
एमालेले १५ दिने सो अभियान सकिएलगत्तै हुलाकी राजमार्ग केन्द्रित गरेर तराईमै छुट्टै विशेष जागरण अभियान चलाउने पनि तयारी गरिरहेको छ । हुलाकी मार्ग एमालेकै अवधारणा बजेटका आधारमा अघि बढिरहेको छ । हुलाकी मार्ग विस्तार र शाखा जोड्ने सडक निर्माणका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले तराईमा इतिहासकै सबैभन्दा बढी विनियोजन गरेको थियो । जनतालाई यसबारे प्रशिक्षित गर्न पनि हुलाकी राजमार्ग आसपासका सबै स्थानमा घरदैलो गर्ने र सभामा जनसमुदायक केन्द्रित गर्ने गरी एमालेले तयारी गरेको हो । अन्तिममा भने पाँचथरबाट दार्चुलासम्म अर्थात् मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान चलाइने सचिव योगेश भट्टराईले बताए । ‘अबको चुनावमा एमालेले बहुमत नल्याएसम्म हामी एकढिक्काका साथ अभियानमा केन्द्रित हुन्छौं,’ उनले भने ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply