प्रहरीका अधिकारीलाई भित्रैबाट संरक्षण
काठमाडौं । रामेछाप सैपु–१ की डिल्लीमाया तामाङ पाँच वर्षदेखि न्याय खोज्दै भौंतारिँदै आएकी छन् । १४ वर्षीया छोरी सुन्तली तामाङलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले सुरुमा पक्राउ गरे पनि फेरि छोडेपछि न्याय प्राप्तिको उनको लडाइँ अप्ठ्यारोमा परिरहेको छ । रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मा दासले दोषी श्याम राउतलाई पक्राउ गरेर पछि छोडेका थिए ।
अचेल प्रधानमन्त्री कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय धाउनु तामाङको दैनिकी नै बनेको छ । दोषीलाई पक्राउ गर्न माग गर्दै किटानी जाहेरी दिँदा पनि अझैसम्म प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन । न्यायको खोजीमा तामाङले घरखेत नै बन्धकी राखेकी छन् । छोरीको हत्यामा संलग्न भएको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर छोडिदिँदाको पीडाले आँखामा आँसु पनि रित्तिएको पीडित तामाङ बताउँछिन् ।
प्रहरीले पटक–पटक दोषीलाई पक्राउ गर्ने आश्वासन दिए पनि दोषी पक्राउ गर्न सकेको छैन । घटनालगत्तै सैपु–१ का श्याम राउतले घटना आफूले गराएको स्वीकार गरेको बताए पनि तत्कालीन रामेछाप जिल्लाका प्रहरी प्रमुख डीएसपी दासले पीडितको किटानी जाहेरी नलिई दोषीलाई छोडेको पीडित तामाङ बताउँछिन् । दासमाथि दबाब परेपछि उनले ०६९ जेठ १२ गते किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
तामाङले छोरीको हत्या गर्ने अभियुक्त पक्राउ गरेर मुद्दासमेत दर्ता नगर्ने डीएसपी दासमाथि कारबाही हुनुपर्ने माग गरेकी छन् । तर, पाँच वर्ष बितिसक्दा समेत न पीडित पक्राउ परेका छन्, न त दोषी छोड्ने डीएसपी दासलाई विभागीय कारबाही नै भएको छ । ‘न्याय खोज्दा खोज्दै धनसम्पत्ति पनि सकियो,’ तामाङले भनिन्, ‘धनसम्पत्ति सिद्धियो, आँखामा आँसु रित्तियो, तर पनि न्याय पाउने आशा मरेको छैन ।’ राष्ट्रिय मानवअधिकार आयोगले सुन्तली तामाङलाई कर्तव्य गरी मारेका अभियुक्तलाई पक्राउ गर्न उजुरी दिँदा पनि पक्राउ गर्न नमान्दा दोषी भागेकाले डीएसपी दासलाई विभागीय कारबाही गर्न पत्राचार गरे पनि अझैसम्म कारबाही हुन सकेको छैन । आयोगले मन्त्रिपरिषद्् कार्यालय र गृह मन्त्रालयलाई डीएसपी दासलाई विभागीय कारबाही गर्न पत्राचार गरेको ११ महिना बितिसक्दा समेत कुनै कारबाही हुन नसकेको हो ।
गृह मन्त्रालयले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । प्रधान कार्यालयले दासलाई विभागीय कारबाही गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालयमार्फत पूर्वक्षेत्रीय ट्राफिक प्रहरीको कार्यालयलाई पत्राचार गरेको छ । दासले अभियुक्तलाई पक्राउ नगरेका कारण पीडित परिवार न्याय पाउनबाट वञ्चित भएको भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गृह मन्त्रालयाई पत्राचार गरेको थियो । प्रहरी डीसएपी दासलाई विभागीय कारबाही गर्नुको सट्टा बचाउने खेलमा लागेको पीडित डिल्लीमाया तामाङको गुनासो छ ।
तत्कालीन डीएसपी दासले मोटो रकम लिएर दोषीलाई छोडेको भन्दै प्रहरी प्रधान कार्यालयमा काजमा तानेको थियो । तर, विभागीय कारबाही गर्नुका सट्टा उनलाई महानगरीय प्रहरी बालाजु वृत्तको प्रमुख बनाउँदै हाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा पठाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सुन्तली तामाङलाई सैपु गाविस–१ को खुर्दुकी भन्ने स्थानमा श्याम राउतले कर्तव्य गरी मारेको र घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयमा पटक–पटक किटानी जाहेरी गर्दा पनि डीएसपी दासले अनुसन्धान नगरेको उल्लेख गरिएको छ ।
प्रहरीले अभियुक्तलाई समयमा पक्राउ नगर्दा आरोपित श्याम राउतको परिवारको डर तथा धम्कीका कारण तामाङ परिवार विस्थापितसमेत भएको थियो । हाल तामाङ परिवार आफ्नै गाउँमा फर्किएको छ । तर, दोषी भने फरार छ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा जाहेरी परेपछि तत्काल अनुसन्धान थाल्नुपर्ने हुन्छ । तर, दासले दोषीले घटना आफूले गरेको आफ्नै अगाडि स्वीकार गर्दा पनि भगाएको पीडित तामाङको भनाइ छ । उनले भनिन्, ‘दोषीले प्रहरी कार्यालयमा आएर हो मैले नै गरेको भन्दा पनि डीएसपी दासले किन छोडे ?’
आयोगले मृतकको हकवालालाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र पीडित परिवारले न्यायको खोजीमा गरेको खर्चसमेत उपलब्ध गराउने आयोगले मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । सोहीअनुसार केही राहतसमेत तामाङ परिवारले प्राप्त गरेको छ । डीएसपी सञ्जीव शर्मा दासलाई मानवअधिकार आयोगमा पटक–पटक बयान लिइएको र प्रहरी हेडक्वार्टरले पनि स्पष्टीकरण सोधेको छ । आयोगले पनि बयान लिने, प्रधान कार्यालयबाट पनि स्पष्टीकरण सोध्ने काम भएको छ ।’ डीएसपी दासलाई प्रहरीले ११ महिना बितिसक्दा समेत कारबाही नगरेको भन्दै पीडित तामाङ न्याय नपाइने हो कि भन्ने चिन्तामा छन् ।
प्रहरी प्रधान कार्यालयमार्फत पूर्वक्षेत्रीय कार्यालय इटहरीमा दासलाई विभागीय कारबाहीका लागि पत्राचार भएको थियो । तर, पूर्वक्षेत्रीय प्रहरी कार्यालय इटहरीका प्रमुख केशरी घिमिरेले विभागीय कारबाही गर्नुको सट्टा पूर्वक्षेत्रीय ट्राफिक कार्यालयमा पत्राचार गरेका छन् । घिमिरेले प्रहरी प्रधान कार्यालबाट आएको पत्रअनुसार विभागीय कारबाहीका लागि पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा पठाएका छन् ।
मानवअधिकार आयोगको सिफारिसमा पीडित परिवारले ६ लाख रुपैयाँ पाए पनि न्यायको खोजीमा अहिले पनि ७ लाख ऋण लागेको बताउँदै अब त ऋण पत्याउने ठाउँ पनि नभएको तामाङले बताइन् । पूर्वक्षेत्रीय ट्राफिक कार्यालय इटहरीका सौरभ राणाले डीएसपी दासलाई विभागीय कारबाही गर्न दुई साताअघि पत्र प्राप्त भएको बताएका थिए । तर, कारबाही कहिले गर्ने भन्नेमा उनीहरू नै अन्योल छन् । डीएसपी दासलाई कारबाहीको सट्टा एसएसपीमा बढुवा गर्न सिफारिस गर्ने तयारी गरिएको स्रोतले बतायो । स्रोतका अनुसार सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको संरक्षणमा दासको बढुवाको तयारी भइरहेको स्रोतको दाबी छ । विभागीय कारबाहीअनुसार घटुवा तथा बढुवा रोक्कालगायत काम हुने प्रहरी प्रधान कार्यालयले बताएको छ ।
डीएसपी दासले ०६९ जेठ १२ गते लेखिएको मुद्दा आफू कारबाहीमा परिने त्रासका कारण ०६८ फागुन ३ गते पुरानो मितिमा मुद्दा दर्ता गराएका थिए । प्रहरीले मापसे गर्नेलाई पक्राउ गरेर कारबाही गरे पनि ज्यान मार्नेलाई कारबाही नगर्दा निकै पीडा हुने गरेको तामाङले सुनाइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply