महासंघ काठमाडौंमा तीन उम्मेदवार प्रतिस्पर्धाको मैदानमा
काठमाडौं । नेपाल पत्रकार महासंघको सबैभन्दा ठूलो शाखाका रूपमा स्थापित काठमाडौंको भोलिबाट सुरु हुने अधिवेशनमा तीन पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पत्रकारितामा खारिँदै गरेका पत्रकारहरू शन्तराम बिडारी, सिर्जन झा र रामकृष्ण अधिकारी काठमाडौं पत्रकार महासंघको बागडोर सम्हाल्ने आकांक्षाका साथ चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका हुन् ।
अधिवेशनका लागि एक दिन मात्रै बाँकी रहँदा तिनै उम्मेदवारले माहोल सिर्जनाका लागि प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् । आकांक्षीमध्ये बिडारी पहिलो ठूलो संगठन प्रेस चौतारी नेपालका तर्फबाट खडा भएका छन् । उनले आफूलाई राष्ट्रवादी अग्रज पत्रकार, प्रजातन्त्रवादी, वामपन्थी प्रगतिशील पत्रकारका साझा उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । साथै, साना लगानीकर्ताको संरक्षणलाई पहिलो मुद्दा बनाउँदै बिडारीले तिनको संरक्षकका रूपमा समेत उभिने प्रयास गरेका छन् । अघिल्लो निर्वाचनमै चौतारीले उपाध्यक्षको उम्मेदवारका रूपमा अघि सार्ने प्रयास गरे पनि बिडारीले वर्तमान सभापति गोविन्द चौंलागाईंलाई जिताउने अभियानको नेतृत्व गरेका थिए । यसपटक भने चौतारीले उपाध्यक्षमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार सीता पोखरेललाई अघि सारेको छ । उनी पनि व्यावसायिक पत्रकारितामा खारिएकी वर्तमान कार्यसमितिकी कोषाध्यक्षसमेत हुन् ।
चौतारीका केन्द्रीय सदस्य तथा पूर्वअञ्चल अध्यक्षसमेत रहेका बिडारीले महासंघमा प्रवेशलगत्तै संगठनबाट राजीनामा दिएर पत्रकारहरूको साझा र सामूहिक भावनाअनुसार नेतृत्व लिने घोषणासमेत गरिसकेका छन् । ‘कुनै अमूक संगठनको होइन, साना लगानीका मिडियाको संरक्षण र तिनमा आश्रित श्रमजीवीहरूको सुरक्षा र हितमा मेरो अर्जुनदृष्टि हुनेछ,’ बिडारीले भने, ‘अग्रज पत्रकारहरूलाई समेटेर काठमाडौंको इतिहास र पहिचानलाई चहकिलो बनाउनेतर्फ मेरा पाइला प्राथमिकताका साथ अघि बढ्नेछन् ।’
उता, अध्यक्षका अर्का प्रत्यासी झा प्रेस युनियनको समर्थनमा अघि बढेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष झा पनि बलियो प्रतिस्पर्धी मानिन्छन् । काठमाडौं नेतृत्वको समेत विश्वास जितेर अघि बढ्ने प्रयासमा रहेका झालाई युनियनका सबै अग्रजहरूबाट साथ रहनेमा भने शंका रहेको बताइन्छ । यद्यपि, वामपन्थी पत्रकारहरूको समेत प्रशंसा बटुलेर झाले आफूलाई सक्षम उत्तराधिकारीका रूपमा उभ्याउने कोसिस गरेका छन् ।
अर्का प्रत्यासी अधिकारीलाई प्रेस सेन्टरले साथ दिएको छ । नेकपा माओवादीको मोहन वैद्य समूहबाट एमाओवादी केन्द्र बनेका अधिकारी क्रान्तिकारी पत्रकार संघका पूर्वकेन्द्रीय सदस्य हुन् । नयाँ पत्रिका दैनिकमा कार्यरत अधिकारीले ठूला मिडियामा कार्यरत सञ्चारकर्मीहरूको बलियो समर्थन र सहयोगलाई नै जितको विश्वासिलो पहिलो आधार मान्दै प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् ।
तीन प्रतिस्पर्धीमध्ये बिडारी साना लगानीको मिडिया दामन पोस्ट साप्ताहिक र दामन पोस्ट डट कम अनलाइनका सञ्ंचालक र सम्पादक पनि हुन् । उनी छापा, विद्युतीय र अनलाइनका साथै म्यागेजिनहरूमा समेत काम गरिसकेका अनुभवी, योग्यतम व्यावसायिक पत्रकार मानिन्छन् । गोरखापत्र राष्ट्रिय दैनिक, एबीसी टेलिभिजन, साँघु साप्ताहिक, साप्ताहिक आवाज, जनसञ्चार साप्ताहिक, बुधबार साप्ताहिक, नेप्लिज डट ओरआरजी अनलाइनमा काम गरेर १४ वर्षभन्दा बढीको अनुभवका साथै विभिन्न म्यागेजिनहरूमा स्तम्भकार र प्रेस काउन्सिल नेपालको जर्नल आचार–संहितामा खोज र अनुसन्धानमूलक लेख प्रकाशनमा समेत बिडारी संलग्न हुँदै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर (एमए) तथा नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकसमेत गरिसकेका छन् । बिडारीलाई पत्रकारिताका अग्रज गुरु तथा आरआरबाट उत्पादित पत्रकारहरूको ठूलो पंक्तिको पनि साथ रहेको बताइन्छ ।
त्यस्तै, वर्तमान कार्यसमितिका सचिव रहेका अर्का प्रतिस्पर्धी अधिकारीले पनि पत्रकारितामा स्नातकोत्तर गरेका छन् भने केही साप्ताहिक पत्रिकामा काम गरेको अनुभव पनि बटुलेका छन् । झाले भने कान्तिपुर हटलाइन साप्ताहिक र अनलाइन सञ्चालन गर्दै आएका छन् ।
केन्द्रको जित–हारसँग काठमाडौंको प्रतिष्ठा
काठमाडौंको जित–हारले आगामी २० जेठबाट सुरु हुने केन्द्रीय महाधिवेशनमा विशेष प्रभाव राख्ने भएकाले प्रतिस्पर्धी संगठनहरू प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले विशेष महŒव दिएका छन् । यद्यपि, सेन्टरले चौतारीको समर्थनमा उपत्यकामा ललितपुरको नेतृत्व लिने तयारी गरिरहेको छ । अघिल्लो पटकका ९ सय ९५ र यसपटक थपिएका ४ सय १७ सहित काठमाडौं शाखामा पत्रकारहरूको संख्या १४ सय नाघेको छ । यसरी हेर्दा काठमाडौंबाट मात्रै १ सय ५० भन्दा बढी केन्द्रीय पार्षद् केन्द्रीय महाधिवेशनका लागि चयन हुँदै छन् । काठमाडौं महासंघकै केही पदाधिकारीको संलग्नतामा गैर पेसाकर्मीलाई समेत सदस्य बनाउने अनेक प्रयत्न भए पनि त्यसलाई असफल पार्दै सभापति गोविन्द चौंलागाईंको विशेष सक्रियता र पहलमा सबै धारका पत्रकार समेटिने गरी पछिल्लो संख्या थप्ने काठमाडौंको प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको छ । चुनावी संघारमा बाहिर सतहमा हेर्दा तीन संगठनबीच प्रतिस्पर्धा देखिए पनि निर्णायक मानिने अग्रज राष्ट्रवादी पत्रकारहरूको साथ र सहयोग जसले लिन सक्छ, उसैको विजयीमा पल्लाभारी हुने विश्लेषण गर्न थालिएको छ । वर्तमान सभापति चौंलागाईंले साना लगानीका मिडियाको संरक्षणका लागि कर छुटको व्यवस्था, लोककल्याणकारी विज्ञापन बढाउन खेलेको भूमिका, नाकाबन्दीका बेला मैदानमा देखाएको प्रशंसनीय नेतृत्वदायी भूमिकाको सम्मान गर्दै त्यसलाई पछ्याउँदै थप योगदान दिन सक्ने उपयुक्त उत्तराधिकारी हुनुपर्नेमा काठमाडौंमा अग्रज पत्रकारहरूले जोड दिइरहेको बताइन्छ ।
ती सबै पक्षलाई ध्यान दिँदै अघिल्लो बिरासतको निरन्तरता र नयाँ पुस्तालाई समेत संयोजन गर्दै अघि बढ्न सक्ने अनुभवी र व्यावसायिक व्यक्तित्व बिडारीलाई संगठनले अघि सारेको चौतारीका काठमाडौं इन्चार्ज हेमराज सिलवालले बताए । बिडारीले नयाँ नेतृत्वका लागि १२ वटा एजेन्डा सार्वजनिक गरेका छन् । श्रमजीवी पत्रकारको हित, साना मिडियाको संरक्षण र संवद्र्धन, लोककल्याणकारी विज्ञापन दोब्बर बनाउने अभियान, समानुपातिक विज्ञापन नीति, पत्रकारहरूको निःशुल्क उपचार, लेखनवृत्ति कोष स्थापना, ज्येष्ठ पत्रकारलाई ५ हजारसम्म पेन्सनको व्यवस्था, समावेशी सञ्चार नीतिको कार्यान्वयन, महासंघ काठमाडौंको भवन निर्माण अभियानलगायतका एजेन्डा बिडारी नेतृत्वको टिमले अघि सारेको हो ।
ती एजेन्डाका आधारमा चौतारीले प्रेस सेन्टर, प्रेस युनियन, राष्ट्रवादी धारलगायत सबै वाम प्रगतिशील पत्रकारहरूसँग तालमेल र एकताको नीति कायम राखेको चौतारी काठमाडौंका अध्यक्ष लोकेन्द्र केसीले बताए । स्रोतका अनुसार प्रेस सेन्टरलगायतका संगठनहरू विश्वसनीय आधार हुँदा चौतारीसँग समीकरणका साथ अघि बढ्न तयार हुँदै गएको बताइन्छ । त्यसका लागि सेन्टरले उपयुक्त उम्मेदवारहरूको समेत पहिचान गरिसकेको बताइन्छ ।
सदस्यता स्थानान्तरणमाथि प्रश्न
केन्द्रले तोकेको मितिभन्दा पछि काठमाडौं अध्यक्षको सहमतिविना स्थानान्तरण गर्न खोजिएका सदस्यहरू काठमाडौंको मतदानमा वञ्चित हुने भएका छन् । किर्ते गरेर सार्न खोजिएको भन्दै काठमाडौं शाखामा तालाबन्दी भएपछि खुलाउने क्रममा चौंलागाईंले प्रेस युनियनसहित ५ संगठनसँग त्यसरी १५ माघको मितिभन्दा पछि सार्न खोजिएका सदस्यतालाई मान्यता नदिने सहमति गरेका थिए । महासंघ काठमाडौंकी सदस्य भावना विद्रोहीले त्यसरी सार्न खोजिएका सदस्यहरूलाई मान्यता दिन नहुनेसहितका माग राखेर केन्द्रीय कार्यालय तिलगंगामा अनशन गरिरहेकी छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply