मोदी भ्रमणको संकेत
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको एकाध महिना नबित्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्दैछन् । यस्तो अवसर कमै प्रधानमन्त्रीले मात्र पाएका छन् । अझ, दुई देशका प्रधानमन्त्रीबीच छोटो समयमै भेट र भलाकुसारी हुनु द्विदेशीय सम्बन्धका तन्तुहरु झन् प्रगाढ र मजबुत हुनु पनि हो । तर, प्रधानमन्त्री भएलगत्तै नेपालको भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदीको केही दिनपछि हुन लागिरहेको दोस्रो नेपाल भ्रमण भने राजनीतिक हो वा धार्मिक हो, त्यो भने छुट्याउन मुस्किल नै देखिन्छ । किनभने, भारतीय प्रधानमन्त्री मोदीले सीताको जन्मभूमि, हिन्दुहरुको पवित्र तीर्थस्थल जनकपुरबाट आफ्नो नेपाल–भ्रमणको सुरुवात गर्दैछन् र तीन दिनसम्म नेपालमा रहँदा उनका अधिकांश समय धार्मिल स्थलहरुको परिभ्रमण र नागरिक अभिनन्दनमै खर्च हुने निश्चितजस्तै छ ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमणको आरम्भ किन जनकपुरबाट गर्न चाहे ? उनको रोजाइमा काठमाडौं नपरेर किन मधेस–भूमि नै प¥यो ? अहिले यो प्रश्नले व्यापकता मात्र पाइरहेको छैन, संशयसमेत उब्जाउन पुगेको छ । यद्यपि, मोदीको यस पटकको नेपाल भ्रमण कम राजनीतिक र बढी चाहिँ तीर्थस्थलहरु नै घुमघाम गर्ने रहेको हुँदा कतिपय संशयहरु मेटिँदै पनि गइरहेका छन् । जनकपुरपछि मोदी हिन्दुहरुकै अर्को पवित्र स्थल मुक्तिनाथ घुम्न लाग्दैछन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलनताका नै मोदी यी दुई धार्मिक स्थलमा पुग्न चाहन्थे । तर, तत्कालीन समयमा सुरक्षाको प्रश्न घनीभूत रुपमा उठेको हुँदा उनको धार्मिक स्थल घुम्ने योजनाले विश्राम लिएको थियो ।
तर, मोदीको यस पटकको नेपाल भ्रमण ती धार्मिक स्थलहरु घुम्ने पहिलाकै इच्छालाई मूर्त रुप दिने उद्देश्यसँग मात्र भने कदापि गाँसिएको छैन । धार्मिक स्थलहरुको घुमघाम र दर्शन त एउटा पाटो हो । तथापि, उनलाई गर्न लागिएको नागरिक अभिनन्दनले के कुरा स्पष्ट पार्दछ भने उनको भ्रमण पूरै राजनीतिक उद्देश्यले अभिप्रेरित छ । र, नेपाल र नेपाली जनतासँग चिसिएको सम्बन्धलाई न्यानो र फराकिलो बनाउने उद्देश्य उनको अहिलेको भ्रमणसँग जोडिएको स्पष्टै देखिन्छ । खासगरी, अढाई वर्षअघि नेपालमा संविधान जारी भएपछि त्यसकै असन्तुष्टि र आक्रोशस्वरुप लामो समयसम्म नाकाबन्दी लगाएपछि मोदी–छवि धमिलिन पुगेको थियो । पहिलो पटक नेपाल भ्रमणमा आउँदा काठमाडौंका सडक–सडकमा उभिएर नेपाली नागरिकहरुले ‘हाइ हाइ मोदी’ भन्दा उनले जेजति लोकप्रियता आर्जन गरेका थिए, ती सबै लोकप्रियता नाकाबन्दीको धुलोले पुरिन पुगेको थियो । अब भने मोदीले नेपाली जनताले सहनुपरेको नाकाबन्दीको पीडालाई बिर्साउन चाहन्छन् र उनी नेपालसँगको सम्बन्धलाई सुमधुर र न्यानो बनाउनुका साथै नयाँ आयाम दिने प्रयत्नमा छन् ।
प्रधानमन्त्री मोदीको दोस्रो नेपाल भ्रमणलाई सकारात्मक नजरले पनि हेर्नु पर्ने हुन्छ । उनी नेपाल र नेपाली जनतासँग आत्मीय सम्बन्ध बढाउन आतुर छन् भन्ने कुरा दोस्रो पटक नेपाल भूमि टेक्न लाग्दाको अवस्थालाई नियाल्दा प्रष्टै बुझ्न सकिन्छ । किनभने, प्रधानमन्त्री भएयता मोदीको प्राथमिकतामा नेपाल पर्दै आएको छ । नाकाबन्दीपछि नेपालसँगको सम्बन्धमा देखिएको तनाव लामै समयसम्म व्यवस्थापन गर्न नसक्दा उनले नेपाल भ्रमण गर्न सक्ने अवस्था थिएन । नेपालीहरुमा भारत र खासगरी प्रधानमन्त्री मोदीप्रति चरम आक्रोश रहेको हुँदा नाकाबन्दीको खाटा नबस्दै उनी नेपाल आउनु सान्दर्भिक पनि थिएन । अहिले भने नेपाली जनताले नाकाबन्दीको पीडालाई भुल्दै गएका छन् र मोदीका निम्ति पनि नेपाल भ्रमणको यो राम्रो समय हो । अझ, प्रधानमन्त्री ओलीसँगको सम्बन्ध सुधारमा प्रगति हुँदै गएकाले पनि विगतमा भन्दा उनको भ्रमण सौहार्द र फलदायी हुने देखिन्छ । यी पक्षहरु त छन् नै । विगतमा जुनकुनै व्यक्ति प्रधानमन्त्री भए पनि भारतको भ्रमण गर्नैपर्ने बाध्यता थियो र त्यो अहिले पनि कायम छ । नेपालका प्रधानमन्त्रीले पदभार सम्हालेको एकाध महिनामा नै भारत भूमि टेक्ने गरे पनि भारतीय प्रधानमन्त्रीहरुको प्राथमिकतामा भने नेपाल भ्रमण सायदै पथ्र्यो । डा. मनमोहन सिंह त्यसको उदाहरण हुन् । दुई कार्यकाल भारतको प्रधानमन्त्री हुँदा उनले एक पटक पनि नेपाल नटेकी बिदा लिए । तर, मोदीको प्राथमिकतामा भने नेपाल भ्रमण पर्नुलाई सुखद् र सकारात्मक ठान्नु पर्छ ।
यद्यपि, भारतीय प्रधानमन्त्री मोदीको दोस्रो नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइँ र आयाम दिनेमा विश्वस्त हुन सकिन्छ । ओली प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्धमा फेरि दरार उत्पन्न हुने हो कि भन्ने आशंका त यसअघि ओलीको भारत भ्रमणकै क्रममा मेटिइसकेको छ । साथै, यस पटकको मोदीको नेपाल भ्रमणपछि नेपाल–भारतबीचको सम्बन्धका नयाँ जुइनाहरु जोडिनेमा विश्वस्त हुन सकिन्छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply