वार्तामा परराष्ट्र फालाफाल
काठमाडौं । मन्त्रिपरिषद् गठनअघि कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटका विषयमा भएको रोचक रस्साकस्सी बुधबारले फेला पारेको छ । सहमति बन्दै, भत्किँदै फेरि छलफल हुँदै निष्कर्षमा पुगेका यी दुई पार्टीबीच सबभन्दा रमाइलो र लामो रस्साकस्सी चाहिँ परराष्ट्र मन्त्रालयमा परेछ ।
मुलुकको विदेश नीति निर्माण र परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने परराष्ट्र मन्त्रालय कसले लिने भनेर होइन, कसले नलिने भनेर निकै प्रतिस्पर्धा भएको रहेछ । कांग्रेसका वार्ता टोलीमा रहेका बिनाविभागीय मन्त्री रामशरण महतलाई यस पटक अर्थमन्त्री होइन, उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने रहर थियो । तर, पत्रकार सम्मेलन गरेरै यसअघि नै सुजाता कोइरालाले ‘मेरो एक्सपर्टिज परराष्ट्रमै हो’ भन्नुका साथै प्रधानमन्त्री सुशील कोइरालासँग निरन्तर आफूलाई परराष्ट्र चाहिने दबाब दिइरहेकी रहिछन् । त्यही भएर एमालेसँग मन्त्रालय टुंग्याउनका लागि वार्तामा जानुभन्दा पहिला महत, दीपकुमार उपाध्याय, कृष्ण सिटौला र मीनेन्द्र रिजाललाई बालुवाटारमा बोलाएर उहाँले भन्नुभएछ– ‘स्थानीय विकास, भौतिक योजना, सञ्चार नछोड्नू, परराष्ट्र चाहिँ नल्याउनू ।’
तर, एमालेका वार्ताकार वामदेव गौतम र विष्णु पौडेलले कांग्रेसका वार्ताकारहरूलाई सजिलो पारिदिए । आफूलाई चाहिने मन्त्रालयको सूचीको पहिलो नम्बरमा उनीहरूले परराष्ट्र मन्त्रालयको नाम राखेपछि मीनेन्द्र रिजालले बालुवाटारमा प्रमले भनेको कुरा रमाइलो पाराले खुलासा नगरिरहन सकेनन् । तर, जब वार्ता टोली प्रमुख गौतमले आफ्नो पार्टीले पाउने मन्त्रालयका नाम अध्यक्ष झलनाथ खनाल र ग्रान्डी अस्पतालमा उपचाररत नेता केपी ओलीलाई सुनाउनुभयो, तब ‘परराष्ट्र किन लिएको ? त्यसको कामै छैन’ भन्ने जवाफ पाउनुभयो । देशभर सञ्जाल भएका भौतिक योजना, स्थानीय विकास, शिक्षा, सञ्चारजस्ता कुनै पनि विकासे मन्त्रालय नलिएर परराष्ट्र जस्तो देशभर एउटा पनि कार्यालय नभएको र विदेशमा पनि राजदूत पठाउँदा भागबन्डाका आधारमा पठाउनुपर्ने मन्त्रालय छानेकोमा हप्की खाएपछि गौतमले किन परराष्ट्र मन्त्रालय लिइयो भनेर नेताहरूलाई स्पष्टीकरण दिनुभएको थियो । र, केन्द्रीय कमिटीको बैठकमा पनि लामो स्पष्टीकरण दिनुभएको थियो ।
उसो त गौतम स्वमय्लाई पनि परराष्ट्रमा कुनै रुचि थिएन । अझ परराष्ट्र लिएमा आफूलाई मनै नपर्ने भीम रावल मन्त्री भइहाल्छन् कि भन्ने डर पनि थियो । अर्का वार्ताकार विष्णु पौडेलेको पनि परराष्ट्रमा व्यक्तिगत रुचि थिएन । पछि अध्यक्ष खनालले फोन गरेरै ‘परराष्ट्रमा जानूस्’ भन्दा पनि उहाँ मन्त्री हुनुभएन । तर, गौतमले चाहिँ आफूले परराष्ट्र किन रोजेको भन्ने जिकिर चाहिँ रमाइलो गरी दिनुभएको छ ।
उपप्रम गौतमले बैठकमा भन्नुभयो– ‘मैले परराष्ट्र रोज्नुका केही कारणहरू छन् । यसो सोचें, ०५१ सालमा उपप्रधानमन्त्री हुँदा माधव कमरेडले रोजेको, पछि गृह नपाएर उपप्रम हुँदा केपी कमरेडले पनि रोजेको र बाबुरामको सरकारमा ईश्वर कमरेड जाँदा पनि त्यही नै लिएको कारणले सबभन्दा महत्त्वपूर्ण मन्त्रालय यही रहेछ भनेर मैले परराष्ट्र चाहियो भनें र कांग्रेसले पनि सहजै ‘हुन्छ’ भने । उनीहरूमा पनि समस्या रहेछ भन्ने पछि थाहा पाएँ । तर, उता सहमति भइसकेपछि यता नेताहरूले मलाई परराष्ट्र किन लिएको भनेर भन्नुभयो ।’
एमाले टोलीले पनि परराष्ट्र मन्त्रालय साट्न खोजेको जानकारी पनि गौतमले दिनुभयो । उहाँले भन्नुभयो– ‘लौ त भनेर मैले फेरि कुरा गरें । परराष्ट्र लैजानुहोस्, भौतिक योजना दिनूस् भन्यौं, कांग्रेसले मानेन । पछि शिक्षासँग साटौं भन्यौं, त्यो पनि मान्दैन । ए बाबा, वन देऊ न त भन्दा पनि मानेनन् । केही सीप लागेन कमरेडहरू ।’
अरू मन्त्रालयका हकमा भने त्यति किचलो नपरेको उहाँको अनुभव छ । बैठकमा उहाँको भनाइ थियो– ‘विष्णु पौडेलले २६ वटा मन्त्रालयलाई १३ ग्रुपमा बाँड्नुभएको थियो । जस्तो, गृह र रक्षा, सञ्चार र शिक्षा, भौतिक योजना र स्थानीय विकास, पर्यटन र स्वास्थ्य । त्यसबाट एकएक छानौं भन्ने कुरा भएको थियो । पछि कांग्रेसले मानेन ।’
एमालेमा गृहमा अडान लिनु ठीक भए पनि बाँकी मन्त्रालय न्यायोचित नभएको भनेर आलोचना भएपछि गौतमले उक्त जानकारी दिनुभएको हो । कांग्रेसले अर्थ, भौतिक योजना, स्थानीय विकास, शिक्षा जस्ता प्रशस्त बजेट हुने विकासे मन्त्रालय लिए पनि एमालेसँग कुनै पनि त्यस्ता मन्त्रालय नभएकाले जनतासमक्ष पुग्न कठिन हुने र विकासका कुनै पनि काम गर्न नसकिने भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गरेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply