मन्त्रीकाविरुद्ध बल्खुमै अनशन !
काठमाडौं । मन्त्री भएको दुई दिन भएको छैन, तर आफूले बोलेको कुरालाई लिएर आफ्नै पार्टीका नेताले अनशन बस्ने चुनौती दिँदा कस्तो हुन्छ होला ? विषयको राम्रो अध्ययन नगर्दा र बोल्दा होस नपुर्याउँदा ऊर्जा मन्त्री राधा ज्ञवालीले पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूको तारो बन्नुपरेको छ ।
पार्टीको नवौं महाधिवेशनको विषयमा छलफल गर्न बसेको केन्द्रीय कमिटी बैठकमा एकाएक मन्त्री ज्ञवालीको विरोधमा बोल्नुपर्ने वातावरणको सिर्जना मन्त्री स्वयम्ले गरेकी थिइन् । ऊर्जामन्त्रीका रूपमा शपथ खाएकै दिन पत्रकारहरूसँग कुरा गर्दै उनले लोडसेडिङ अन्त्य गर्न छवटा थर्मल प्लान्ट ल्याउने बताएकी थिइन् । आर्थिक रूपमा मुलुकले धान्नै नसक्ने भन्दै त्यसअघि पनि पटक–पटक प्रस्ताव आए पनि अस्वीकृत गरिएको विषयको अध्ययन नै नगरी मन्त्री त्यसरी बोलेपछि त्यसको दुई दिनपछि बसेको केन्द्रीय कमिटी बैठकमा औपचारिक छलफल सुरु हुनुअघि सदस्यहरूले ज्ञवालीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका थिए । पोलिटब्युरो सदस्य केशव बडालले त ‘यदि मन्त्रीले बोलेको कुरा साँचो हो भने म त्यसको विरोधमा अनशन बस्छु’ भनेपछि एकाएक अरू पनि छलफलमा सहभागी भएका थिए । अर्का पोलिटब्युरो सदस्य बेदुराम भुसालले थर्मल प्लान्ट होइन, सक्ने भए सोलार प्लान्ट ल्याउन मन्त्री ज्ञवालीलाई सुझाव दिएका थिए ।
चारैतिरबाट आफ्नो विरोध भएपछि मन्त्री ज्ञवालीले आफूले त्यस्तो बोल्दै नबोलेको भन्दै बचाउ गरेकी थिइन् । तर, यत्तिकैमा यो विषय सेलाएन । स्थगित भएर दुई दिनपछि बसेको केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले पुन: यो विषय उठाए । अध्यक्ष झलनाथ खनाललाई सम्बोधन गर्दै अधिकारीले भने– ‘मन्त्रीजीलाई तपाईंकै सरकारको पालामा तत्कालीन ऊर्जामन्त्री भरतमोहन अधिकारीले ल्याएको ऊर्जा सकंटकाल घोषणाको प्रस्ताव राम्रोसँग पढ्न लगाउनूस् ।’ नवांै महाधिवेशनका विषयमा पछि बोल्ने तर पहिला विकाससँग सरोकार राख्ने विषय उठाउने भन्दै अधिकारीले भनेका थिए– ‘अध्यक्ष कमरेड, तपाईंले भरतमोहनजीले ल्याउनुभएको साढे चार वर्षमा ऊर्जा संकट समाधान गर्ने प्रस्ताव कार्यान्वयन गर्न मात्र मन्त्री ज्ञवालीलाई लगाउनुभयो भने अरू केही गर्नै पदैन । ०५१ मा ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रमको ‘क्रेडिट’ जसरी हामीले अहिलेसम्म पाइरहेका छौं, अधिकारीजीको प्रस्ताव कार्यान्वयन गर्ने हो भने त्योभन्दा ठूलो ‘क्रेडिट’ पाउँछौं ।’
मन्त्री भएपछि नेपाल विद्युत् प्राधिकरणका एमाले निकट कर्मचारी युनियनले मन्त्री निवास पुल्चोकमा राखेको बधाई कार्यक्रममा पनि यो विषय उठेको थियो । वास्तविकता बुझ्नकै लागि युनियनका अध्यक्ष रामप्रसाद रिमालले सुरुमै प्राधिकरणका पछिल्ला समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए । रिमालले पछिल्लो समयमा मूलत: दुईवटा घटनाले ठूलो विवादको रूप लिएको बताएका थिए । एउटा त्रिशूली–३ ए को क्षमता वृद्घिको विषय र दोस्रो बाबुराम भट्टराई नेतृत्वको सरकारले ल्याएको २ सय मेगावाटको थर्मल प्लान्टको प्रस्ताव । थर्मल प्लान्टको प्रस्ताव कर्मचारीहरूकै विरोधका कारण फिर्ता भएको थियो । रिमालका कुरा सुनिसकेपछि त्यहाँ पनि मन्त्री ज्ञवालीले थर्मल प्लान्टका विषयमा आफूले त्यसरी नबोलेको बताएकी थिइन् । ‘प्राधिकरणलाई कुनै भार नपर्ने गरी कुनै निजी क्षेत्रलाई ल्याउने कुरा भनेकी थिएँ’– मन्त्री ज्ञवालीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
हाल नेपालमा दुइवटा थर्मल प्लान्ट संचालनमा छन् । एउटा हेटौडामा र अर्को दुहवीमा । यी प्लान्टवाट विद्युत उत्पादन गर्दा प्रति युनिट ३० रूपैयाभन्दा बढि लागत लाग्ने गरेको छ । ‘एक लिटर डिजेलको झण्डै सय रुपियाँ पर्छ, एक लिटर तेलले ३ युनिट उत्पादन गर्छ’– प्राधिकरणका एक कर्मचारीले भने– ‘प्रतियुनिट ३० रुपियाँ खर्च गरेर ग्राहकलाई ८ रुपियाँमा बेच्दा प्राधिकरण कति दिन चल्छ ?’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply