वामदेवलाई हेलिकोप्टर कति प्यारो !
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको काँधमा यतिबेला गृह प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने अहम् जिम्मेवारी छ । तेस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका गौतम स्वयमल्लाई उक्त जिम्मेवारीका बारेमा थाहा नहोला भन्न सकिन्न । तर, गृह मन्त्रालय सम्हालेको २३ दिनको अवधिमा उहाँको मुख्य प्राथमिकतामा गृह प्रशासनभित्र व्यापक सुधारभन्दा पनि घुमघाम परेको छ ।
यसबीचमा भेला उद्घाटन र वैवाहिक समारोहहरू बढी मात्रामा उहाँ सहभागी भइरहनुभएको छ । अहिले नेपाल प्रहरीमा सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त छन् । चुनावअघि नै रिक्त ती पदहरूमा बढुवा गर्नुपर्ने भए पनि संविधानसभाको निर्वाचन, सरकारको गठनलगायतमा समय व्यतीत भएको हुँदा त्यत्तिकै थाती थियो । नयाँ गृहमन्त्री आएपछि पहिलो प्राथमिकतामा एआईजीहरूको बढुवा हुनुपर्ने थियो । विगतमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले निर्वाचनलगत्तै एआईजीमा बढुवा गर्ने तयारी गरे पनि नयाँ सरकारले नै बढुवा गर्नेगरी त्यत्तिकै रोकिएको थियो । उक्त पदका लागि डीआईजीहरू राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्र शाह, गणेशराज राई, केदारप्रसाद साउद, रमेशशेखर बज्रँचार्य, विज्ञानराज शर्मा, यादव अधिकारीलगायत १३ जना प्रतिस्पर्धामा छन् ।
तर, एआईजीमा बढुवालगायत गृह प्रशासनलाई गतिशील तुल्याउने कार्ययोजना ल्याउनुको साटो गृहमन्त्री गौतम विभिन्न वैवाहिक समारोहदेखि भेलाहरू उद्घाटन गर्न हेलिकोप्टर सयरमा व्यस्त देखिएपछि गृहका अधिकारहरु पनि दिक्क भएका छन् ।
यसबीचमा, गृहमन्त्री गौतम गएको फागुन ३० गते तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित एमालेका नेता एवम् दोस्रँे संविधानसभा निर्वाचनमा तनहुँ २ बाट उम्मेदवार बनेका किसान श्रेष्ठका छोराको बिहेमा सहभागिता जनाउन हेलिकोप्टर चढेर पुग्नुभएको थियो । उहाँसँगै युवा संघका अध्यक्ष महेश बस्नेत पनि जानुभएको थियो । एक सूत्रका अनुसार, जग्गा व्यवसायी श्रेष्ठ पछिल्लो समयमा एमालेमा बनेको ओली–गौतम समीकरणलाई अधिक रुचाउने केही सीमित व्यक्तिमध्ये एक पर्दछन् । त्यसो त, श्रेष्ठ एमालेका केही उच्च नेताहरूलाई उच्च रक्तचाप कम गर्ने औषधिका रूपमा प्रयोग गरिने ‘सिप्लिकाने’ को अचार खुवाउने नेताका रूपमा पनि परिचित छन् । गौतमले दमौलीमा किसान भेलालाई पनि सम्बोधन गर्नुभएको थियो । तर, एमाले जिल्ला कमिटीले भने जिल्लासित कुनै समन्वय नगरी कार्यक्रम गरिएकोमा असन्तुष्टी जनाएको थियो ।
यसअघि, फागुन २९ गते गृहमन्त्री गौतम हेलिकोप्टर चढेर डोल्पाको जिल्ला परिषद् उद्घाटन गर्न पुग्नुभएको थियो । डोल्पा जानुअघि गएको फागुन २९ गते उहाँ प्युठानको जिल्ला परिषद् उद्घाटन गर्न पुग्नुभएको थियो । प्युठान जाँदा पनि उहाँले हेलिकोप्टर नै प्रयोग गर्नुभएको थियो । फागुन १७ गते उहाँ तराई यातायातको वार्षिकोत्सवको उद्घाटन गर्न बाराको सिमरा पुग्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको आग्रहमा पौडेलसँगै सिमरा पुग्नुभएका गौतमले त्यहाँ जाँदा भने बुद्ध एयरको नियमित उडानबाट यात्रा गर्नुभएको थियो ।
नेपाली कांग्रेससित करिब आधा महिनाजति माथापच्ची गरेर उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएको पर्सिपल्टदेखि नै गौतमको हेलिकोप्टर सयर सुरु भएको थियो । रामेछापको पुरानो सदरमुकामस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयको शतवार्षिकीको उद्घाटन गर्न गौतम गएको फागनु १५ गते त्यहाँ पुग्नुभएको थियो । गृहमन्त्रीमा नियुक्त भएको महिना दिन नपुग्दै हेलिकोप्टर सयरमा व्यस्त गौतम पछिल्लो पटक एमाले धादिङको १ नम्बर क्षेत्रीय अधिवेशन उद्घाटन गर्न पुग्नुभएको थियो । गएको चैत १ गतेको उक्त अधिवेशन उद्घाटन गर्न गौतमलगायत एमाले सभासद् राजेन्द्र पाण्डे र अन्य कार्यकर्ताहरू तीन वटा हेलिकोप्टर लिई पुगेका थिए । सडक मार्ग प्रयोग गर्दा पनि तीन घन्टामा पुगिने उक्त कार्यक्रमस्थलमा हेलिकोप्टर लिएर जाँदा गृहमन्त्रीले चर्को आलोचनासमेत खेप्नुपरेको छ ।
हेलिकोप्टर सयरमै एक महिना व्यतीत गर्न लाग्नुभएका गौतमले यसअवधिमा काठमाडौं–केन्द्रित डनहरूलाई पक्राउ गर्ने र फुटपाथमा व्यापार गर्नेहरूलाई हटाउने कार्य गरेर केही प्रशंसा चाहिँ निश्चित रूपमा बटुल्न भ्याउनुभएको छ । तर, पनि मुख्य कार्यहरूमा चाहिँ उहाँको ध्यान अहिलेसम्म केन्द्रित नभएको लगभग पक्कापक्की देखिएको छ ।
बक्स
हेलिकोप्टर यात्रा
फागुन १५– रामेछाप
फागुन १७– प्युठान
फागुन २९– तनहुँ
फागुन ३०– डोल्पा
चैत १– धादिङ
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply