वामदेवलाई हेलिकोप्टर कति प्यारो !
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको काँधमा यतिबेला गृह प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने अहम् जिम्मेवारी छ । तेस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका गौतम स्वयमल्लाई उक्त जिम्मेवारीका बारेमा थाहा नहोला भन्न सकिन्न । तर, गृह मन्त्रालय सम्हालेको २३ दिनको अवधिमा उहाँको मुख्य प्राथमिकतामा गृह प्रशासनभित्र व्यापक सुधारभन्दा पनि घुमघाम परेको छ ।
यसबीचमा भेला उद्घाटन र वैवाहिक समारोहहरू बढी मात्रामा उहाँ सहभागी भइरहनुभएको छ । अहिले नेपाल प्रहरीमा सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त छन् । चुनावअघि नै रिक्त ती पदहरूमा बढुवा गर्नुपर्ने भए पनि संविधानसभाको निर्वाचन, सरकारको गठनलगायतमा समय व्यतीत भएको हुँदा त्यत्तिकै थाती थियो । नयाँ गृहमन्त्री आएपछि पहिलो प्राथमिकतामा एआईजीहरूको बढुवा हुनुपर्ने थियो । विगतमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले निर्वाचनलगत्तै एआईजीमा बढुवा गर्ने तयारी गरे पनि नयाँ सरकारले नै बढुवा गर्नेगरी त्यत्तिकै रोकिएको थियो । उक्त पदका लागि डीआईजीहरू राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्र शाह, गणेशराज राई, केदारप्रसाद साउद, रमेशशेखर बज्रँचार्य, विज्ञानराज शर्मा, यादव अधिकारीलगायत १३ जना प्रतिस्पर्धामा छन् ।
तर, एआईजीमा बढुवालगायत गृह प्रशासनलाई गतिशील तुल्याउने कार्ययोजना ल्याउनुको साटो गृहमन्त्री गौतम विभिन्न वैवाहिक समारोहदेखि भेलाहरू उद्घाटन गर्न हेलिकोप्टर सयरमा व्यस्त देखिएपछि गृहका अधिकारहरु पनि दिक्क भएका छन् ।
यसबीचमा, गृहमन्त्री गौतम गएको फागुन ३० गते तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित एमालेका नेता एवम् दोस्रँे संविधानसभा निर्वाचनमा तनहुँ २ बाट उम्मेदवार बनेका किसान श्रेष्ठका छोराको बिहेमा सहभागिता जनाउन हेलिकोप्टर चढेर पुग्नुभएको थियो । उहाँसँगै युवा संघका अध्यक्ष महेश बस्नेत पनि जानुभएको थियो । एक सूत्रका अनुसार, जग्गा व्यवसायी श्रेष्ठ पछिल्लो समयमा एमालेमा बनेको ओली–गौतम समीकरणलाई अधिक रुचाउने केही सीमित व्यक्तिमध्ये एक पर्दछन् । त्यसो त, श्रेष्ठ एमालेका केही उच्च नेताहरूलाई उच्च रक्तचाप कम गर्ने औषधिका रूपमा प्रयोग गरिने ‘सिप्लिकाने’ को अचार खुवाउने नेताका रूपमा पनि परिचित छन् । गौतमले दमौलीमा किसान भेलालाई पनि सम्बोधन गर्नुभएको थियो । तर, एमाले जिल्ला कमिटीले भने जिल्लासित कुनै समन्वय नगरी कार्यक्रम गरिएकोमा असन्तुष्टी जनाएको थियो ।
यसअघि, फागुन २९ गते गृहमन्त्री गौतम हेलिकोप्टर चढेर डोल्पाको जिल्ला परिषद् उद्घाटन गर्न पुग्नुभएको थियो । डोल्पा जानुअघि गएको फागुन २९ गते उहाँ प्युठानको जिल्ला परिषद् उद्घाटन गर्न पुग्नुभएको थियो । प्युठान जाँदा पनि उहाँले हेलिकोप्टर नै प्रयोग गर्नुभएको थियो । फागुन १७ गते उहाँ तराई यातायातको वार्षिकोत्सवको उद्घाटन गर्न बाराको सिमरा पुग्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको आग्रहमा पौडेलसँगै सिमरा पुग्नुभएका गौतमले त्यहाँ जाँदा भने बुद्ध एयरको नियमित उडानबाट यात्रा गर्नुभएको थियो ।
नेपाली कांग्रेससित करिब आधा महिनाजति माथापच्ची गरेर उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएको पर्सिपल्टदेखि नै गौतमको हेलिकोप्टर सयर सुरु भएको थियो । रामेछापको पुरानो सदरमुकामस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयको शतवार्षिकीको उद्घाटन गर्न गौतम गएको फागनु १५ गते त्यहाँ पुग्नुभएको थियो । गृहमन्त्रीमा नियुक्त भएको महिना दिन नपुग्दै हेलिकोप्टर सयरमा व्यस्त गौतम पछिल्लो पटक एमाले धादिङको १ नम्बर क्षेत्रीय अधिवेशन उद्घाटन गर्न पुग्नुभएको थियो । गएको चैत १ गतेको उक्त अधिवेशन उद्घाटन गर्न गौतमलगायत एमाले सभासद् राजेन्द्र पाण्डे र अन्य कार्यकर्ताहरू तीन वटा हेलिकोप्टर लिई पुगेका थिए । सडक मार्ग प्रयोग गर्दा पनि तीन घन्टामा पुगिने उक्त कार्यक्रमस्थलमा हेलिकोप्टर लिएर जाँदा गृहमन्त्रीले चर्को आलोचनासमेत खेप्नुपरेको छ ।
हेलिकोप्टर सयरमै एक महिना व्यतीत गर्न लाग्नुभएका गौतमले यसअवधिमा काठमाडौं–केन्द्रित डनहरूलाई पक्राउ गर्ने र फुटपाथमा व्यापार गर्नेहरूलाई हटाउने कार्य गरेर केही प्रशंसा चाहिँ निश्चित रूपमा बटुल्न भ्याउनुभएको छ । तर, पनि मुख्य कार्यहरूमा चाहिँ उहाँको ध्यान अहिलेसम्म केन्द्रित नभएको लगभग पक्कापक्की देखिएको छ ।
बक्स
हेलिकोप्टर यात्रा
फागुन १५– रामेछाप
फागुन १७– प्युठान
फागुन २९– तनहुँ
फागुन ३०– डोल्पा
चैत १– धादिङ
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply