क्रिकेटको विकास गर्ने हो भने
इतिहासमा त्यस्ता क्षणहरू बिरलै आउँछन्, जसले सिंगो देशलाई नै उमंग, उत्साह र खुसीको माहोलमा आवृत्त तुल्याउँछन् । नेपाली क्रिकेट टोलीले बटुलेको ऐतिहासिक सफलताले त्यही कुरा उजागर गर्दछ । केही दिनपहिले बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपालका खेलाडीहरूले देखाएको सानदार प्रदर्शनपछि सिंगो देश नै खुसीमा झुमेको थियो । र, उत्कृष्ट सफलता प्राप्तिसँगै खेलाडीहरू पनि एकाएक ‘राष्ट्रिय हिरो’ बन्न पुगेका थिए । साथै, बंगलादेशबाट बटुलेर ल्याएको सफलता नेपाली दर्शक र शुभेच्छुकहरूसामु बाँडचुँड गर्न खेलाडीहरू पनि अत्यन्तै उत्साहित र लालायित देखिएका थिए । नेपाली खेलाडीहरूलाई राष्ट्र र जनताले अपार माया, स्नेह र सद्भाव अर्पण गरेका थिए । सर्वत्र के महसुस गरिँदैथियो भने, सगरमाथा, लुम्बिनीजस्ता विश्वसामु नेपालको पहिचान गराउने क्रम/उपक्रमसँगै अब क्रिकेट पनि थपिएको छ । तथापि, विश्व परिदृश्यमा क्रिकेटको माध्यमद्वारा नेपालको नाम चम्किनु कम गौरव र खुसीको विषय होइन ।
विश्वकप क्रिकेटमा नेपालले बटुलेको सफलताको अहिले जे–जति चर्चा/परिचर्चा चलिरहेको छ, सम्भवत: यो केही समयसम्म तन्किएला । विश्वकप क्रिकेटमा नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनको धङधङीले कतिपय खेलप्रेमीहरूलाई केही समय रिङ्गाउला । तर, अहिले नेपाली क्रिकेट टोलीले पाएको सफलतालाई आगामी दिनहरूमा अझै उचाइ प्रदान गराउने दिशामा सरकारले के कति ध्यान पुर्याइरहेको छ ? सरकारी निकायहरू कति चिन्तनशील छन् ? यो अत्यन्तै सोचनीय विषय हो । किनकि, खेलकुद क्षेत्रको इतिहास हेर्दा के देखिन्छ भने, कुनै पनि खेलमा सफलता पाएलगत्तै अनेक योजना बनाउने र त्यसलाई कार्यान्वयनको तहसम्मै नपुर्याई तुहाउन भूमिका खेल्ने कार्यमा सरकारी निकायहरू नै बढि जिम्मेवार देखिएका छन् । विगतमा पनि कुनै पनि अन्तर्राष्ट्रिय खेलमा नेपाली खेलाडीले सफलता पाएलगत्तै अनेक आश्वासन वितरण गर्ने र खेलक्षेत्रको विकासका लागि आकर्षक योजनाहरू ल्याउने कार्य नभएका होइनन् । तर ती कति मात्रामा कार्यान्वयन भए ? कार्यान्वयन भएका छैनन् भने किन भएनन् ? र, त्यसका लागि कुन पक्ष जिम्मेवार छ ? यस्ता प्रश्नहरूको सटिक जवाफ खोज्नुपर्ने समय आएको छ ।
खेलाडीहरूलाई प्रोत्साहित गर्नका लागि राज्य र खेलक्षेत्रको विकासमा रुचि राख्ने व्यावसायिक/व्यापारिक प्रतिष्ठानहरूले कुनै आकर्षक प्रस्ताव राख्नु स्वाभाविकै हो । यस्तो कार्य हरेक देशमा हुने गरेको पाइन्छ । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन र नतिजा ल्याओस् भन्ने अभिप्रायले खेलाडीहरूलाई खेल्नुअघि नै प्रोत्साहित गर्ने चलनलाई त्यति नकारात्मक रूपमा हेरिनु हुन्न । तर, विगतमा यस्ता तीता अनुभवहरू पनि भए कि, खेलाडीलाई फ्ल्याट र घडेरीको सपना देख्न लगाइयो । कार्यान्वयनको तहमा भने हात लागि सुन्य मात्रै भयो । अहिले विश्वकप क्रिकेटमा सफलता बटुल्ने खेलाडीहरूलाई राज्य र विभिन्न निकायहरूले आर्थिकदेखि अन्य सहयोग प्रदान गरेर प्रशंसनीय कार्य गरेको त छ नै, तर यसले निरन्तरता पाउने हो वा यत्तिमै सीमित रहने हो भन्ने प्रश्न पनि उठेको छ अहिले । किनकी, राज्यको गौरवको प्रतीक मानिएका क्रिकेट खेलाडीहरूलाई आगामी दिनमा राज्यले कुन रूपमा सहयोग पुर्याउँछ ? प्रतीक्षाको विषय बनेको छ ।
सीमित स्रोत साधनको भर, भौतिक पूर्वाधारको अभाव र अन्य विविध कठिनाइहरू हुँदाहुँदै पनि ती सबैलाई छिचोलेर क्रिकेट खेलाडीहरूको जुन ऐतिहासिक सफलता बटुले, यो राष्ट्रले गौरवबोध गर्नुपर्ने विषय हो । यसमा कुनै विमति छैन । तर, राष्ट्रको शिर ठाडो राख्ने कार्यमा उभिएका क्रिकेट खेलाडीहरू आगामी दिनमा कुनै सानोतिनो जागिरतिर अल्झिने स्थितिको विकास हुने हो भने अहिले नेपाली क्रिकेटले जुन शिखर टेक्न पुगेको छ, त्यो भोलिका दिनमा फेदीतिर सर्नेमा कुनै सन्देह नराखे हुन्छ । ट्वान्टी–२० विश्वकप क्रिकेटमा जमेका नेपाली खेलाडीहरू सेनाको तल्लो तहको जागिरप्रति लालायित रहेको कुरा अहिले मिडियामा जुन रूपमा आइरहेको छ, यो निश्चित रूपमा नेपाली क्रिकेटको उज्यालो भविष्यको शुभसंकेत होइन ।
क्रिकेटको समुच्च विकासका लागि खेलाडीहरूलाई प्रोत्साहित गर्ने कार्यमा राज्यले कन्जुस्याइँ गर्न छोड्नुपर्छ । किनकि, खेलाडीहरूलाई सम्मान गरेर र खादा ओढाएर मात्रै क्रिकेटको विकास हुन सक्दैन । र, दुई चार लाख रुपियाँको प्रोत्साहन–पुरस्कारले पनि खेलाडीलाई दत्तचित्त भएर लाग्ने वातावरण जुटाउँदैन । तसर्थ, भौतिक पूर्वाधारको विकास, पर्याप्त साधन–स्रोत र खेलाडीहरूलाई दीर्घकालीन रूपमा टिकाइराख्ने योजनाबिना नेपाली क्रिकेटको विकास हुन सक्दैन ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply