राजदूतका बन्न दौडधुप
काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्तिका लागि गृहकार्य सुरु गरेपछि कूटनीतिक क्षेत्रमा सल्बलाहट सुरु भएको छ । तर, व्यक्तिका नाममा नभई मापदण्ड तय गर्ने भन्दै उहाँले अहिलेसम्म आफूलाई भेट्न आउनेहरूको व्यक्तिगत विवरण बुझ्नुबाहेक वचन दिनुभएको छैन ।
सोमबार मन्त्रीले बोलाएको अन्तक्र्रियामा सहभागी हुन मन्त्रालयमा आएका पूर्वपरराष्ट्र सचिव र पूर्वराजदूतहरूले पनि उहाँलाई बुढेसकालमा आराम गर्नका लागि जाने ठाउँका रूपमा विदेशस्थित नियोगहरूलाई विकास नगर्न सुझाव दिएका थिए । कूटनीतिक सेवामा अनुभव सम्हालेका ४५ जनाका अनुभव एक–एक गरी सुन्दै मन्त्री पाण्डेले आफूबाट राष्ट्रको शिर झुकाउने गरी काम नहुने प्रतिबद्धता दोहोर्याउनुभएको थियो । मन्त्रीको भनाइ थियो, म एउटा मापदण्ड बनाउन चाहन्छु । अहिले कसैलाई पनि वचन दिएको छैन । मेरो टेबुलमा बायोडाटाको चाङ लागेको छ ।
१४ वटा नेपाली राजदूत नेतृत्वविहीन छन् भने दुई वटा हालै स्थापित नियोगहरूमा पनि राजदूत नियुक्त गर्नुपर्नेछ । ३१ दूतावासमध्ये १५ मा मात्र अहिले राजदूत कार्यरत छन् । अहिले राजदूतविहीन भएका देशहरूमा भारत, थाइल्यान्ड, कतार, कुवेत, इजिप्ट, दक्षिण अफ्रिका, श्रीलंका, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका, क्यानडा, ब्राजिल र जेनेभास्थित स्थायी नियोग छन् । त्यसबाहेक ओमन र बहराइनमा पनि यसै वर्षदेखि राजदूत नियुक्त गर्नुपर्नेछ ।
मन्त्रालयमै सकस
बाहिरबाट नियुक्त गर्नमा त अप्ठेरो छँदैछ, मन्त्री पाण्डेलाई मन्त्रालयभित्रै कर्मचारीलाई मिलाउन पनि सकस परेको छ । राजदूत ताकेर तीन वर्षदेखि मन्त्रालयमा बसेका सहसचिवदेखि भर्खरै सहसचिव भएका अर्जुनकान्त मैनालीसम्म राजदूतको दौडमा छन् ।
५० प्रतिशत करिअर डिप्लोम्याटलाई राजदूत बनाउने चलनलाई आधार बनाउँदा यस पटक बढीमा छ जना सहसचिवले मौका पाउनेछन् । अहिले कार्यरत १५ राजदूतमध्ये १० जना मन्त्रालयका सहसचिव भएकैले राजदूत भएका थिए भने पाँच जना मात्रै बाहिरबाट नियुक्त छन् । मन्त्रालयका एक अधिकारीले भने, यसकारण यदि ५० प्रतिशत नै कार्यान्वयन गर्ने हो भने पनि बढीमा छ जनासम्मले मौका पाउने स्थिति छ । तिनै छ जनालाई आधार बनाएर अहिले सहसचिवहरूबीच प्रतिस्पर्धा चलेको छ ।
अहिले मन्त्रालयमा १६ सहसचिव छन् । कामु सचिवका रूपमा कार्यरत शंकर बैरागी, दीपक धिताल, अम्बिका लुइँटेल, कालीप्रसाद पोखरेल, यज्ञबहादुर हमाल, अमृत राई, रमेश खनाल, प्रकाश सुवेदी, ताराप्रसाद पोखरेल, अर्जुनकान्त मैनाली, कृष्ण ढकाल, निर्मल काफ्ले, दुर्गाबहादुर सुवेदी क्षेत्री, लोकबहादुर थापा र झविन्दप्रसाद अर्याल मन्त्रालयमा छन् भने खगनाथ अधिकारी दिल्ली र सेवा अधिकारी न्युयोर्कमा नियोग उपप्रमुख छन् । त्यसैगरी, तीन सहसचिव– भरत पौडेल (पाकिस्तान), मुक्ति भट्ट (डेनमार्क) र रुद्र नेपाल (अस्ट्रेलिया) राजदूत छन् ।
छ जनामा को–को ?
मन्त्रालयमा वरिष्ठताका आधारमा कामु सचिव बैरागीलाई छोड्दा खगनाथ अधिकारी पहिलो नम्बरमा छन् । दिल्लीस्थित दूतावासमा कार्यबाहक राजदूतका रूपमा कार्यरत उनी अर्को साता नेपाल फर्किंदैछन् र उनको स्थानमा कृष्ण ढकाल जाँदैछन् । अघिल्लो लटका सहसचिवमध्ये सबै राजदूत हुँदा अधिकारी मात्रै छुटेकाले यस पटक उनको करिब–करिब पक्कापक्की जस्तै छ । त्यसैगरी, मन्त्रालयमा रहेका दीपक धिताल, अम्बिका लुइँटेल, कालीप्रसाद पोखरेल, यज्ञबहादुर हमाल, अमृत राई र प्रकाश सुवेदीको बढी सम्भावना छ । कनिष्ट भए पनि अवकाश लिने समय आइसक्यो भन्दै ०७२ कात्तिकसम्म अवधि रहेका अर्जुनकान्त मैनालीले समेत दौड तीव्र पारेपछि अरू सहसचिव आश्चर्यमा परेका छन् ।
अहिले परराष्ट्रमा सचिव रहेकै अवस्थामा करिअर डिप्लोम्याटका रूपमा राजदूत बनेका डा. मदनकुमार भट्टराई (जापान) र दुर्गाप्रसाद भट्टराई (राष्ट्रसंघ) तथा सहसचिव रहेकै बेला राजदूत बनेका भरत पौडेल (पाकिस्तान), मुक्ति भट्ट (डेनमार्क), हरिकुमार श्रेष्ठ (बंगलादेश), पारस घिमिरे (म्यान्मार), प्रल्हाद प्रसाईं (इजरायल), धनञ्जय झा (सयुक्त अरब इमिरेट्स), डा. निरञ्जन बस्नेत (मलेसिया) र रुद्र नेपाल (अस्ट्ेरलिया) छन् । त्यसैगरी, बाहिरबाट नियुक्त पाँच राजदूतमध्ये एमालेका तर्फबाट उदयराज पाण्डे (साउदी अरब) छन् भने बाँकी चार राममणि पोखरेल (बेल्जियम), रविमोहन सापकोटा (रुस), कमानसिंह लामा (दक्षिण कोरिया) र डा. महेश मास्के (चीन) छन् ।
दलका दैलामा दौड
उता, कम्तीमा १० राजदूत दलहरूका कोटामा नियुक्त हुने भएपछि अहिले सत्तारुढ दुई दल कांग्रेस र एमालेका नेताहरूसमक्ष बायोडाटा बुझाउनेहरूको लाम लाग्ने गरेको छ । कांग्रेसबाट प्रधानमन्त्री र एमालेबाट परराष्ट्रमन्त्री भएका कारण दुवैतिर कुरा मिलाउनका लागि आकांक्षीहरूले कोसिस गरिरहेका छन् । पूर्वसचिव गोविन्दप्रसाद कुसुम र बिन्दा हाडाले त भारतमा उपचाररत् एमाले नेता केपी ओलीलाई समेत भेटिसकेका छन् ।
परराष्ट्र मन्त्रालय सम्हालेको एमालेमा राजदूत नियुक्तिका लागि अहिलेसम्म छलफल भएको छैन । विदेश विभाग प्रमुखसमेत रहनुभएका संसदीय दलका नेता बिरामी भएर दिल्लीमा रहेका कारण विभागको बैठक पनि बसेको छैन भने अष्टलक्ष्मी शाक्य प्रमुख रहेको राज्य व्यवस्था विभागले पनि छलफल सुरु गरेको छैन । एमालेले यस पटक योग्य, भाषामा दख्खल भएका, कूटनीति बुझेकालाई प्राथमिकता दिने योजना बनाएको एक नेताले बताए । उनका अनुसार, औपचारिक छलफल नभए पनि नेताहरूबीच केही नामहरूका बारेमा सामान्य छलफल चाहिँ भएको छ ।
प्रधानमन्त्रीका विदेश मामिलासम्बन्धी सल्लाहकार रहिसकेका डा. राजन भट्टराईलाई अहिल्यै राजदूत बनाएर पठाउने वा पार्टी काममा लगाउने भन्नेबारेमा एमालेका नेताहरूले निष्कर्ष निकालिसकेका छैनन् । जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेको, प्रमको सल्लाहकार भइसकेको र मुलुकको राजनीतिक आयाम पनि बुझ्न सक्ने भएका कारण उनलाई भारतको राजदूत बनाएर पठाउनुपर्ने विषयमा पनि एमालेमा छलफल चलिरहेको छ । त्यसैगरी, अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदाका सल्लाहकार मिलन तुलाधर पनि राजदूत बन्ने दौडमा छन् भने पूर्वसचिव गोविन्द कुसुम र बिन्दा हाडा त ढुक्क जस्तै छन् । एमाले पंक्तिबाट डा. शिवमाया तुम्वाहाम्फे, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, डा. अर्जुन कार्की, प्रा.डा. कृष्णचन्द्र शर्मालगायतका नाम छलफलमा छन् । रामेछापबाट दुई पटक चुनाव हारेका कैलाश ढुंगेलदेखि बाँकेका शाहीकालीन उपसभापति डा. केशव सुवेदीसम्मले नेताहरूसमक्ष आफ्नो बायोडाटा बुझाउन बाँकी राखेका छैनन् ।
उता, कांग्रेसबाट प्रधानमन्त्रीका सल्लाहकार रहेका दुवैजनाले राजदूतमा जान दौड तीव्र पारेका छन् । जेनेभाको राजदूत भएर अवकाश पाएका पूर्वसचिव डा. दिनेश भट्टराईलाई सुस्त प्रधानमन्त्रीको कामकाजविहीन विदेश मामिला सल्लाहकार भएर बस्न पटक्कै मन छैन । उनले मन्त्रालयमा समेत फोन गरेर काममा अनावश्यक चासो देखाउने गरेको गुनासो छ ।
अर्थमन्त्री रामशरण महतले मन नपाराउने डा. चिरञ्जीवी नेपाललाई आर्थिक सल्लाहकार भएर बस्नुभन्दा राजदूत हुने रहर छ । त्यसैगरी, यसअघि जेनेभाको राजदूत भइसकेका डा. शम्भुराम सिम्खडा र पूर्वअर्थमन्त्री शंकर कोइराला दुवैले अमेरिकाको राजदूत ताकेका छन् । कांग्रेस नेता दीपकुमार उपाध्यायले भारतको राजदूत हुन मन गरेका छन् भने भारतकै लागि भीम उदास दौडमा छन् ।
अहिले दलका कोटाबाट नियुक्त पाँचमध्ये चार राजदूत उसैका भएकाले एमाओवादीले भने मौका नपाउने भएको छ । तर, अलि जिद्दी गरेमा बढीमा एक जनासम्म उसलाई प्राप्त हुनेछ ।
राजदूत आएकोमा आशंका
यसैबीच, साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डे बिनाकाम बिदा मागेर नेपाल आएकोमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले आश्चर्य प्रकट गरेका छन् । घरमा कुनै असामान्य काम हुँदा वा सरकारी कामका सिलसिलामा मात्रै राजदूतले बिदा मागेर आउने चलन छ । तर, पाण्डे भने यस्तो बेलामा काठमाडौं आइपुगेका छन्, जतिबेला उनी रहेको मुलुक साउदी अरेबियाले नेपालमा दूतावास खोल्नका लागि घरजग्गा खोजिरहेको छ । एक अधिकारीले भने– ‘हाम्रा राजदूतले उताका दूतावासका लागि घरजग्गा खोज्ने जस्तो काममा जोडिन मिल्दैन ।’ राजधानीको मुख्य क्षेत्रमा साउदी अरेबियाले दूतावास स्थापना गर्न खोजिरहेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply