संविधानको वर्ष बनोस्
नेपालीहरूका अनेक मौलिक परम्पराकै एक अंगका रुपमा हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ । विक्रम सम्बत् २०७० विदा भएर हाम्रा आँगनमा २०७१ आइपुगेको छ । पुराना पातहरू झरेका छन् र नयाँ पालुवा पलाएका छन् । यससँगै आपसमा शुभकामना साटासाट पनि भइरहेका छन् । व्यक्तिगत सुख, समृद्धि र सुस्वास्थ्यका साथै यतिबेला आपसमा भेट हुँदा मानिसहरूका मनमा देशको चिन्ता पनि उत्तिकै छ । त्यही भएर भेटघाटमा मात्र होइन, मोबाइल, इमेल, फेसबुक र ट्वीटरमा शुभकामना सन्देश आउँदा पनि एउटा कुरा छुटेको छैन– नयाँ वर्षमा संविधान बन्न सकोस् । यसबाट पनि के देखिन्छ भने नयाँ संविधान निर्माण नेपालीका लागि आफ्नै सुख र समृद्धि बराबर भइसकेको छ । आज देश अनेक समस्याबाट ग्रस्त छ । बेरोजगारी समस्या विकराल बनेको छ, विकास निर्माण सुस्त छ, आर्थिक समृद्धि सपना मात्रै बनेको छ । तर, मानिसहरूमा यी सबै काम नहुनुका पछाडि संविधान निर्माण हुन नसक्नु नै हो भन्ने लागेको छ । नहोस् पनि किन ? संविधानसभाबाट नयाँ संविधान बनाउनका लागि नेपाली जनताले आधा शताब्दीभन्दा बढी प्रतीक्षा गरेका छन् । अझ प्रतीक्षा मात्र होइन, रगत पसिना बगाएका छन् । २००७ सालबाट सुरु भएको यो अभियानका पटकपटक तुहिएको देखेका जनताले यस्तो अपेक्षा गर्नु अनपेक्षित होइन । अघिल्लो वर्ष सुरु हुँदा जस्तो निराशा अहिले देशमा छैन । अरु केही प्रगति हुन नसके पनि बाटो बिराएको लोकतान्त्रिक प्रक्रियाले पुन: बाटो पक्रेको छ । अघिल्लो वर्ष सुरु हुँदा मुलुकमा पहिलो जननिर्वाचित संविधानसभा असफल भएको थियो र दोस्रो संविधानसभाको निर्वाचन हुन्छ कि हुँदैन भन्ने अवस्था थियो । राजनीतिक दलहरू आफ्नै कारणले गर्दा पाखा लागेका थिए र सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सेवानिवृत्त कर्मचारीहरूको नयाँ सरकार बनेको थियो । त्यस्तो निराश बेलामा मानिसहरूले कामना गरेका थिए, कम्तीमा यस वर्ष संविधानसभाको निर्वाचन भइदेओस् । आखिर जनताको त्यो कामना पूरा भएको छ र मुलुकमा पुन: संविधानसभा गठन भएको छ । यस्तो बेलामा यस वर्ष नयाँ संविधान प्राप्त होस् भन्ने अपेक्षा गर्नु सर्वथा उचित कुरा हुन्छ ।
मानिसले गल्ती गर्छ । यो नियम राजनीतिका सन्दर्भमा पनि लागू हुन्छ । राजनीतिक दलहरूले पनि गल्ती गर्छन् । विगतमा हाम्रा सबै राजनीतिक दलहरूले कुनै न कुनै गल्ती गरेका छन् । तर, मुख्य कुरा त्यस्ता गल्तीबाट पाठ सिक्ने कि नसिक्ने भन्ने हो । हो, अघिल्लो संविधानसभाबाट नयाँ संविधान बन्न सकेन र अर्बौंको रकम मात्र होइन, नेपालीका सपनाहरूको पनि फजुल खर्च गर्दै चार वर्षमा पूर्णत: दुर्घटनाग्रस्त भयो । त्यसबाट यसपटक शिक्षा लिनका लागि चुनावका बेला राजनीतिक दलहरूले जनतासमक्ष बाचा गरेका छन् । उनीहरूले निर्वाचन सम्पन्न भएको एक वर्षभित्र नयाँ संविधान बनाउने अठोट पनि व्यक्त गरेका थिए । तर, संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्दाभन्दै एक महिना फजुलमा खर्च भयो भने अर्को दुई महिना नियमावली बनाउनमै खर्च भइसकेको छ । बल्लतल्ल संविधानसभाको आफ्नो नियमावली बनाएको छ भने अब बढीमा १५ दिनभित्र संविधानसभाको समितिहरूको नेतृत्व चयन गर्ने कुरा कार्यतालिका बनेको छ । जनअपेक्षा, आफ्नै प्रतिबद्धता जस्ता कुरालाई पनि ध्यानमा राखेर होला, संविधानसभाले १० महिनाभित्र नयाँ संविधान बनाइसक्ने कार्यतालिका तयार गरेको छ । पहिलो बैठक सुरु भएको अवधिलाई गणना गरेर यसै वर्षको माघ ८ गते नयाँ संविधान जारी गर्ने गरी कार्यतालिका जारी हुनुलाई आमरुपमा स्वागतयोग्य कदमका रुपमा लिइएको छ । तर, अब मुख्य कुरा बाँकी छ, त्यो कार्यतालिका अनुरुपको बाटोमा हिँड्नु । नयाँ वर्षको आगमनका बेला हाम्रो मुलुकका भाग्य र भविष्य निर्धारणको जिम्मा लिएका जनप्रतिनिधिहरूलाई त्यही शुभकामना दिनुपर्छ, कृपया आफ्नै निर्णयमा अडिग रहिदिनूस्, आफ्नै निर्णय पालना गरिदिनुहोस् ।
नयाँ वर्षका अवसरमा देशबासीलाई शुभकामना सन्देश दिँदा राष्टपति, प्रधानमन्त्री, सभामुखलगातका दलका नेताहरूले समेत संविधान निर्माणलाई जोड दिन भुल्नुभएको छैन । अझ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले त विक्रम सम्बत् २०७१ लाई संविधानको वर्ष बन्ने घोषणा पनि गर्नुभएको छ । घोषणा त पहिल्यै भएको छ, उहाँकै नेतृत्वमा कार्यतालिका नै सार्वजनिक भइसकेको छ । अब यतिबेला आम नागरिकले उहाँको पनि नेतृत्वलाई परीक्षण गरिरहेका छन् । नयाँ वर्षको सन्दर्भमा उहाँ र अरु नेताहरूले दिएको शुभकामनालाई आम नागरिकले व्यवहारमा परिणत भएको हेर्न चाहेका छन् । त्यो शुभकामना कार्यान्वयन गर्ने ठाउँमा अरु होइन, उहाँहरू आफैँ हुनुहुन्छ । हिजो जस्तो कुनै काम हुन सकेन भने दरबारले चलखेल गऱ्यो भनेर वा यस्तै अदृश्य शक्तिलाई दोष दिएर उम्किने ठाउँ आज छैन । त्यसकारण, साँच्चै हामी पनि कामना गर्छौं, नयाँ वर्ष संविधानको वर्ष बनोस् ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply