एमाले महाधिवेशनमा गति आएन
काठमाडौं । आगामी जेठ २४ देखि ३१ सम्म राजधानीमा हुने तय भएको नेकपा (एमाले)को नवौं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक दस्तावेजको मस्यौदा लेखनको काम बल्ल टुंगो लागेको छ । मंगलबार बिहान ११ बजेदेखि साँझसम्म बसेको मस्यौदा कमिटीको बैठकले लामो छलफल गरेको थियो ।
केन्द्रीय कमिटीको २६ औं बैठकले अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा दस्तावेजको मस्यौदा कमिटी निर्माण गरेको थियो । तर, खनालले महासचिव ईश्वर पोखरेलेका भाउँतामा लागेर बैचारिकरुपमा आफूभन्दा उल्टो धु्रबमा रहेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीलाई मस्यौदा लेख्ने जिम्मा लगाएका थिए । ज्ञवालीले तयार पारेर बुझाएको मस्यौदामा चित्त नबुझेपछि अध्यक्ष खनाल आफैंले मस्यौदामा उल्लेखित शब्द एउटै नछुटाई पढेर सच्याएका थिए । खनालले सच्याएर कमिटीमा ल्याएको मस्यौदामा आइतवारवाट दफावार छलफल भएको थियो । महासचिव पोखरेललाई जिम्मा दिइएको सांगठानिक प्रतिवेदनको मस्यौदा अझै निर्माण भएको छैन ।
राजनीतिक दस्तावेजको काम सकिए पनि निर्धारित मितिमा महाधिवेशन हुने कुरामा उत्पन्न आशंका भने अझै हटेको छैन । दस्तावेज लेखनमा भएको ढिलाइसँगै महाधिवेशनको सबै कार्यतालिका पछाडि धकेलिइसकेको छ । यसअघि फागुन १० देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटीको २६औं बैठकले जेठ २४ गते नवौं महाधिवेशनको उद्घाटन र ३१ गते समापन गर्ने गरी कार्यतालिका बनाएको थियो ।
कार्यतालिका अनुसार राजनीतिक दस्तावेजको मस्यौदा चैत मसान्तभित्रै तयार गर्ने, वैशाख ५ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बसेर उक्त मस्यौदालाई अन्तिम रूप दिने र वैशाख १५ गतेभित्र अन्तिम दस्तावेज छापेर तलका कमिटीसम्म पुर्याउने भनिएको थियो । दस्तावेजको मस्यौदा नबनेकै कारण वैशाख ५ गतेको केन्द्रीय कमिटी बैठक सात मिनेट बसेर १० गतेका लागि सारिएको थियो । तर, त्यो मितिमा पनि दस्तावेजको मस्यौदा नआएकाले केन्द्रीय कमिटीको बैठक अझै बस्न सकेको छैन ।
संगठित सदस्यता नवीकरणका बारेमा व्यवस्था गरिएको कार्यतालिका पनि पछि धकेलिइसकेको छ । चैतभित्र संगठित सदस्यता नवीकरण गरेर वैशाख ५ गतेभित्र केन्द्रमा त्यसको अभिलेख पठाइसक्ने तालिका बनाए पनि अझै सबै जिल्लाको अभिलेख आइसकेको छैन । संगठन विभाग प्रमुख युवराज ज्ञवालीले भने– कति जिल्लाको आउन बाँकी छ भन्ने यकिन त भएन तर अभिलेख आउने क्रम जारी नै छ ।’
अध्यक्ष झलनाथ खनालले यही वैशाख २३ बाट १० दिने चीनमा निस्किँदै हुनुहुन्छ । अब ५ दिनभित्र केन्द्रीय कमिटी बैठक नबसे एकैचोटी जेठको पहिलो हप्ता धकेलिनेछ । त्यो बेला केन्द्रीय कमिटी बैठक बसेर मस्यौदालाई अन्तिम रूप दिने, त्यसलाई छापेर तल्ला कमिटीमा पठाउने र जेठ २४ मा महाधिवेशन गर्ने कुरा कुनै अवस्थामा सम्भव हुने छैन ।
त्यस्तै, चैतभित्रै पूर्णता दिने भनिएका १३ वटा उपसमितिहरूले पनि अझै पूर्णता पाएका छैनन । मूल व्यवस्थापन समितिको बैठक बसेर उपसमितिका संयोजकले सिफारिस गरेकाहरूको नामलाई आवश्यक छानबिन गरेर पूर्णता दिनुपर्ने व्यवस्था गरिएको थियो । तर, मस्यौदा कमिटीको बैठककै कारण मूल व्यवस्थापन कमिटीको पनि बैठक बस्न सकिरहेको छैन ।
व्यवस्थापकीय अस्तव्यस्तताले निर्धारित समयमा महाधिवेशन हुने कुरामा आशंका बढाइरहेका बेला नेता केपी ओलीको स्वास्थ्यमा देखिएको समस्याले पनि महाधिवेशन सर्ने आशंकामा बल पुर्याएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply