तेल चोरी प्रकरण चर्किंंदै
काठमाडौं । तेल चोरी प्रकरणका कारण नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीहरूबीच आरोप–प्रत्यारोप चल्न थालेपछि तेल आपूर्तिमा समस्या उत्पन्न हुने सम्भावना बढेको छ । केही दिनअघि रूपन्देहीको भलबारीसम्म तेल ल्याउने क्रममा बीच बाटोमै चोरी भएको पाइएपछि चोरीमा संलग्नहरूलाई पक्राउ पुर्जी जारी गरिए पनि उनीहरू अझै पक्राउ परेका छैनन् ।
भारतको बेतालपुरबाट भलबारीसम्म ट्यांकरमा तेल ल्याउने क्रममा चोरी भएको पाइएपछि चालक र सहचालकहरूलाई समातिएको थियो । उनीहरूले निगमको भलबारी डिपोमा आउनुअघि नै रूपन्देहीको मधवलिया र पडसरी क्षेत्रमा तेल अपचलन गरेका थिए । समातिएका चालकले चोरीमा ट्यांकर व्यवसायीहरूको पनि मिलेमतो रहेको बताएपछि अहिले प्रहरीले चोरी कार्यमा संलग्न ट्यांकर व्यवसायीहरूको खोजी गरिरहेको छ । तर, पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरूले भने चोरी कार्यमा व्यवसायीहरूको संलग्नता नरहेको दाबी गर्दै आफूहरूलाई आतंकित तुल्याएको बताएका छन् । आफूहरूलाई आतंकित तुल्याए ढुवानी नै प्रभावित हुनसक्ने धम्की दिएर अहिले व्यवसायीहरूले ढुवानी सेवा प्रभावित पार्ने चेतावनी दिएका छन् ।
आयल निगमले भने तेल चोरीमा आफ्नो कुनै संलग्नता नरहने बताएको छ । ‘निगमले ढुवानी खर्च मात्रै दिने हो । ट्यांकरमा पूरै तेल छ कि छैन र कस्तो गुणस्तरको तेल छ भन्ने निगमले हेर्छ । तेल कम भएको खण्डमा त्यही अनुसार ढुवानी खर्च कटाएर भुक्तानी गरिन्छ’– निगमका कर्मचारी संघका अध्यक्ष देवी न्यौपानेले बताए । यसैबीच, निगमका तीन कर्मचारी संगठनहरूले ‘निगमका करार सम्झौतामा रहेका ट्यांकरहरू मार्फत निगमको पेट्रोलियम पदार्थ इन्डियन आयल कर्पोरेसनबाट लोड गरी निगमको निर्दिष्ट डिपोसम्म ढुवानी गरी अनलोड गर्नेसम्मको सम्पूर्ण दायित्व ढुवानीकर्ताको नै हुने र बाटोमा चालक वा सहचालकले तेलको अपचलन गरेको अवस्थामा समेत ढुवानीकर्ता नै जिम्मेवार हुने व्यवस्था’ रहेको उल्लेख गरेका छन् । उक्त व्यवस्था ट्यांकर ट्रकबाट पेट्रोलियम पदार्थ ढुवानी नियमावली–२०५३ मै उल्लेख छ । साथै, निगमको डिपोमा पेट्रोलियम पदार्थ अनलोड गर्नुपूर्व आईओसीबाट लोड भई आएका ट्यांकरहरूको चेक जाँच गरी पेट्रोलियम पदार्थको गुणस्तर तथा परिणामसमेत यकिन गरेर मात्र निगमले बुझ्ने गरेको बताइन्छ । ‘चेक जाँच गर्दा तेल कम भएको परिणाम बराबरको रकम क्लेमेबल लसको रूपमा खुद्रा मूल्यले हुनआउने रकम निगमले सम्बन्धित ढुवानीकर्ताहरूबाट असुल उपर गर्ने गरिएको छ ।’ तीन कर्मचारी संगठनको विज्ञप्तिमा उल्लेख छ ।
तर, ढुवानी व्यवसायीहरूले भने तेल अपचलनमा निगमका कर्मचारी र चालक र सहचालकहरूको हात रहेको बताउने गरेका छन् । पेट्रोल ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले आफूहरूले इन्डियन आयलले दिएअनुसारकै तेल आयल निगमलाई बुझाइरहेको बताए । उनले भने– ‘निगमले कम परिणाममा तेल बुझेको छ भने भन्नुपर्यो । त्यसको मात्र हामी जवाफदेही हुनसक्छौं । बाटोमा भएका कुराप्रति हामी जवाफदेही हुन सक्दैनौं ।’ आफूहरू आर्थिक पक्षमा मात्र जिम्मेवार भएको र बाटोमा चोरी हुने कार्यको जिम्मेवारी लिन नसक्ने बताउँदै उनले भने– ‘अहिले निर्दोष व्यवसायीहरूलाई वारेन्ट जारी गरिएको छ । त्यसको खारेजी हुनुपर्छ र अपचलनमा जो–जो संलग्न छन्, उनीहरूमाथि कारबाही हुनुपर्छ ।’ तेल अपचलनमा ट्यांकर व्यवसायीको नाम जोड्नुको कुनै तुक नभएको पनि उनले बताए । आज बस्ने संघको बैठकले ठोस निर्णय गरी अघि बढ्ने अध्यक्ष बोहराले बताए ।
निगमले पनि तेलको परिणाम कम भए ठेकेदारलाई नै तिराउने गरिएको हुँदा बाटोमा भएको घटनाप्रति जिम्मेवार नहुने बताएको छ । न्यौपाने भन्छन्– ‘बाहिर के हुन्छ, त्यसमा निगम जिम्मेवार हुँदैन ।’ तेल अपलचन कार्य पहिलादेखि नै भइरहे पनि यस पटक भने उजुरी परेपछि अपचलन गर्नेहरू समातिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply