कसरी रोकिएको थियो मोदीको नेपाल भ्रमण ?
काठमाडौं । आयोजकले १ हजार निम्ता कार्ड छापिसकेका थिए । पाहुनाका लागि सोल्टी होटलमा सुइट पनि बुकिङ भइसकेको थियो । सुरक्षा अधिकारीहरूसँग छलफल पनि भइसकेको थियो । नेपाल उद्योग परिसंघ (सीएनआई)ले पत्रकार सम्मेलन आयोजना गरेर गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी दुई दिनका लागि काठमाडौं आउने खबर सार्वजनिक पनि गरिसकेको थियो । तर, एकाएक अन्तिम घडीमा भ्रमण रद्द गर्नुपर्दा आयोजक मात्र होइन, मोदी स्वयम् पनि अप्ठेरोमा परे ।
प्रसंग आजभन्दा दुई वर्षअघिको हो । सीएनआईले आफ्नो १०औं वार्षिक साधारण सभामा अतिथि वक्ताका रूपमा मोदीलाई आमन्त्रण गरेको थियो । २०६८ चैत १२ र १३ (सन् २०१२ मार्च २४–२५) मा सोल्टी होटलमा मोदीले गुजरातमा कसरी विकास सम्भव भयो भन्नेबारेमा अनुभव बाँड्ने तय भएको थियो । ‘उताबाट सबै कन्फर्मेसन आएको थियो’– नेपाल उद्योग परिसंघ (सीएनआई)का निर्देशक मेघनाथ न्यौपानेले भने– ‘हामीले त्यही अनुसार कार्यक्रम तय गरेका थियौं ।’
सीएनआईले पत्रकार सम्मेलन गर्नुअघि पनि मोदीको भ्रमण सार्वजनिक गर्नका लागि अनुमति मागेको थियो । मुख्यमन्त्रीका सचिव एके शर्मा (आईएएस)ले फेब्रुअरी १८ मा लेखेको पत्रमा ‘अघिल्लै दिन मोदीले आफ्ना सबै कुरा राख्ने भएकाले पछिल्लो दिन गुजरातका बारेमा अलग्गै कार्यक्रम नराख्न’ आयोजकलाई अनुरोध गरेका थिए । उनै शर्माले त्यसको ११ दिनपछि ‘सुरक्षा र प्रोटोकलका विषयमा सहयोगको अपेक्षा’ गर्दै नेपालस्थित भारतीय राजदूत जयन्त प्रसादलाई पनि पत्र लेखेका थिए ।
गुजरातको मुख्यमन्त्री भएर विकासको आकर्षक मोडल प्रस्तुत गरेका मोदीलाई नेपालमा निम्त्याउँदा व्यवसायीहरू खुसी थिए । भर्खरै ‘भाइब्रेन्ट गुजरात’ शीर्षकमा शिखर सम्मेलन आयोजना गरेर ठूला–ठूला लगानीकर्तालाई आकर्षित गर्न सफल मोदी पनि आफ्ना अनुभव सुनाउन नेपाल आउन चाहन्थे । ‘सबै तारतम्य मिलिसकेको थियो’– परिसंघका निर्देशक न्यौपानेले भने– ‘तर अन्तिम चरणमा विविध कारणले उहाँको भ्रमण रद्द भयो ।’
भारतको मुख्यमन्त्रीले विदेश जाँदा पहिला गृह मन्त्रालय र त्यसपछि विदेश मन्त्रालयको अनुमति आवश्यक पर्दछ । आफ्नै जहाजमा गुजरातको अहमदावाद विमानस्थलबाट मोदी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने रुट पनि तय भइसकेको थियो । स्रोतले भन्यो– ‘तर नेपालबाटै नआइदिए हुन्थ्यो भन्ने सन्देश गएपछि भारतीय विदेश मन्त्रालयले क्लियरेन्स दिएन र भ्रमण हुन सकेन ।’
अहिले मोदी भारतको प्रधानमन्त्री हुँदा उनलाई बधाई दिनेको ओइरो लागेको छ । शीर्ष नेताहरूमध्ये कतिले फोन गरेर बधाई दिएका छन् भने कतिले लिखित बधाई पठाएका छन् । त्यो पनि नगरेका नेताहरूले फेसबुकमा भए पनि उनलाई बधाई दिएर मन शान्त पारेका छन् । तर, त्यतिबेला सत्तारुढ कांग्रेसका लागि चुनौती बनिरहेका मोदीलाई रोक्न भारतीय संस्थापन र ऊसँग निकट नेपाली नेताहरूले कसरत गरेको जानकारहरू बताउँछन् । स्रोतले भन्यो– ‘भारतीय संस्थापन पक्ष मोदीलाई नेपालमा आएको देख्न चाहँदैनथ्यो । त्यही भएर तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रयोग गरेर हिन्दू अतिवादी छवि भएका कारण संविधान बनाउने कुरामा प्रतिकूल असर पर्छ भनेर उनलाई रोकिएको थियो । यसका लागि अरू को–को प्रयोग भए, तपाईं थाहा पाइहाल्नुहुन्छ ।’
नरेन्द्र मोदी भारतमा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बन्दैछन् भन्ने अनुमान पाँच वर्ष अघिदेखि नै थियो । त्यही भएर नेपाली व्यवसायीहरूले भारतको भावी नेताको ध्यानाकर्षण गर्न पनि उक्त कार्यक्रम आयोजना गर्न खोजेका थिए । तर, भारतीय संस्थापनबाट प्रभावित हुने बाबुराम भट्टराई, कृष्णप्रसाद सिटौला, प्रदीप ज्ञवाली जस्ता नेताहरूको पहलबाट उनको भ्रमण रोकिएको थियो । तीमध्ये अहिले मोदीले जित्नासाथ भटराईले फोन गरेरै र ज्ञवालीले फेसबुकमार्फत मोदीलाई हतार–हतार बधाई दिएका छन् । यतिसम्मकि ज्ञवालीले ‘नागरिक’ दैनिकलाई प्रतिक्रिया दिँदै मोदी जस्ता अतिवादी नेताको भ्रमणले संविधान निर्माण नै प्रभावित हुन सक्ने भन्दै भयावह कल्पना समेत प्रस्तुत गरेका थिए ।
गत शुक्रबार सार्वजनिक भारतको १६औं लोकसभा निर्वाचनको नतिजापछि भाजपाका नेता मोदी प्रधानमन्त्री बन्ने तय भएको छ । ५ सय ४३ मध्ये भाजपा गठबन्धनले ३ सय ३५ सिट पाएको छ भने भाजपाले एक्लै सरकार बनाउन आवश्यकभन्दा ११ सिट बढी अर्थात् २ सय ८३ सिट पाएको छ । मोदीको शपथ आगामी आइतबारसम्म हुनेछ । यसबीचमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र भूतपूर्व प्रधानमन्त्रीको बधाई ग्रहण गर्दै मोदीले नेपालसँगको भारतको गहिरो सम्बन्धको स्मरण गरेका छन् । जानकारहरूले उनको पहिलो विदेश भ्रमण नेपालबाट हुन सक्ने पनि औंल्याएका छन् । हिन्दू धर्मप्रति पूरा आस्था राख्ने मोदी पशुपतिनाथको दर्शन गर्नका लागि पनि यता आउन सक्ने बताइन्छ । १० वर्षसम्म भारतको प्रधानमन्त्री रहँदा डा. मनमोहन सिंहले भने एक पटक पनि नेपाल भ्रमण नगरी बिदा भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply