सहाना सिकिस्त
काठमाडौं । नेपाली कम्युनिस्ट तथा महिला आन्दोलनकी अग्रणी नेतृ सहाना प्रधान यतिबेला प्रतिकूल स्वास्थ्य समस्यासित जुधिरहनुभएको छ । गएको शुक्रबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना भई उपचाररत हुनुहुन्छ । विगत तीन वर्षदेखि अस्वस्थ हुनुभएकी नेतृ प्रधान दुई वर्षयतादेखि गम्भीर बिमारी हुनुहुन्थ्यो ।
मस्तिष्कघात र निमोनियाको संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानको अहिलेसम्म होस खुल्न सकेको छैन । तर, उहाँमा देखिएको निमोनियाको समस्या भने केही कम हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भर्ना भएदेखि नै उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । यसैबीच, नेतृ प्रधानको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ । उहाँको उपचारमा कुनै कमी हुन नदिने पनि सरकारले बताएको छ । गएको सोमबार प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले नेतृ प्रधानका छोरा उमेशलाल श्रेष्ठलाई भेटी सरकारको निर्णय सुनाउनुभएको थियो ।
यसैबीच, प्रधानमन्त्री सुशील कोइरालाले एक सन्देश पठाई नेतृ प्रधानको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । नेतृ प्रधानको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री वामदेव गौतम, स्वास्थ्यमन्त्री खगराज अधिकारीलगायतका नेताहरू जानुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकी पत्नी नेतृ प्रधानले नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य योगदान दिनुभएको छ । ०४६ सालको संयुक्त जनआन्दोलनमा वाममोर्चाको अध्यक्ष रही उहाँले आन्दोलनको नेतृत्व हाँक्नुभएको थियो । बहुदल आएपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा उहाँले उद्योग तथा बाणिज्य मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । ०४८ को संसदीय निर्वाचनमा काठमाडौं–४ र ०५१ को मध्यावधि निर्वाचनमा उहाँ काठमाडौं–६ बाट निर्वाचित हुनुभएको थियो । गणतन्त्र स्थापना भएपछि गठन भएको पहिलो मन्त्रिपरिषद्मा उहाँले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । विसं. १९८४ साल असार २७ गते काठमाडौंको असनमा जन्मिनुभएका प्रधानको पुष्पलाल श्रेष्ठ २०१०सालमा विवाहा भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply