रायमाझीको रमाइलो टिप्पणी
काठमाडौं । दिनानुदिन राजनीतिमा खुम्चिँदै जानुपरेको पीडाबाट छुटकारा पाउनका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले केही वर्षअघि आफूबाटै छुट्टिएर गएका मोहन वैद्य र अरू साना–तिना समूहलाई फकाएर मोर्चा बनाउन सफल भए । भविष्यमा पार्टी एकीकरणसमेत हुने हवाला दिँदै अहिले कार्यगत एकतामा भिडेका प्रचण्ड तत्कालीन अवस्थामा खुसी नै होलान् । तर, उनकै पार्टीभित्रका एक जना नेताले भने माओवादी विचारधारामा अडिएका पाँच पार्टीको कार्यगत एकताप्रति भने रमाइलो पाराले टिप्पणी गरेका छन् ।
त्यस्तो रमाइलो टिप्पणी गर्ने नेता हुन्– टोपबहादुर रायमाझी । उनले प्रचण्डको पहलमा भएको कार्यगत एकतालाई ‘हिउँले कठ्याङ्ग्रिएका नेताहरूले हातखुट्टा सेकाएर तंग्रिनका लागि आगो फुकफाक गरेको’ बताएका छन् । केही दिनअघि मध्यबानेश्वरस्थित निवासमा बसिरहेका रायमाझीलाई एक जना कार्यकर्ताले फोन गरेर पाँच पार्टीको कार्यगत एकताबारे राय माग्न चाहे । सम्भवत: ती जिल्लातिरकै कार्यकर्ता थिए । कार्यकर्ताको जिज्ञासा सुनेपछि रायमाझीले ती कार्यकर्तालाई बुझाउने शैलीमा भने– ‘पुस–माघतिर हिमालतिर हिउँ पर्छ । हिउँ पर्दा हातखुट्टा कठ्याङ्ग्रिन्छन् । हिउँले कोही पनि हलचल गर्न सक्दैनन् । हिउँले हातखुट्टाहरू कठ्याङ्ग्रिएपछि आगो फुकफाक गरेर ताप्छन् । र, ती मानिसहरूले केही राहत पाएको महसुस गर्छन् ।’ रमाइलो टिप्पणीलाई जोड्दै उनले भने– ‘हो, अहिले भएको पाँच दलको कार्यगत एकता पनि त्यस्तै हो । हिउँले कठ्याङ्ग्रिएका नेताहरूले आगो फुकफाक गर्न लागेका हुन् ।’
एमाओवादीमा डा.बाबुराम भट्टराई निकटका नेता मानिने रायमाझीको यस्तो रमाइलो टिप्पणीले भट्टराई समूह माओवादीहरूबीचको कार्यगत एकताप्रति सन्तुष्ट नरहेको संकेत गर्दछ । वैद्यहरूसित मिलेर जाँदा आफूहरू तल पर्ने त्रासमा भट्टराई समूह रहेको हुँदा पनि कार्यगत एकताप्रति सन्तुष्ट नरहेको बुझिएको छ । तर, असारको पहिलो साता माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पाँच दलको बैठकमा भने डा.भट्टराई उपस्थित थिए । सबै पार्टीका पदाधिकारी उपस्थित हुने उर्दी जारी भएपछि डा.भट्टराई पनि पुगेका हुन् ।
पाँच दिनअघि पाँच माओवादी विचारधारा निकट पार्टीहरूबीच भएको कार्यगत एकताको अहिले नेतृत्व गर्ने जिम्मा भने क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले पाएका छन् । थापा कार्यगत एकतालाई टुंग्याउन निकै सक्रियतापूर्वक लागेका व्यक्ति पनि हुन् । दस वर्षअघि एमाओवादी अध्यक्ष प्रचण्डसित मतभेद भएपछि पार्टी छाडेर हिँडेका थापा अहिले भने प्रचण्डसितै एउटै मोर्चामा उभिन आइपुगेका हुन् । माघ १९ अघि तत्कालीन राजा ज्ञानेन्द्रले शाही कदम चाल्नुअघि अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई श्रम कारबाही गरेपछि दिल्ली पुगेर त्यसको खुलासा गर्ने थापालाई प्रचण्डकै प्रस्तावमा एक महिनाका लागि मोर्चाको अध्यक्षता गर्न दिइएको हो । मोर्चामा रहेका दलका शीर्ष नेताहरूले एक–एक महिनाको अवधिमा नेतृत्व गर्दै जाने सहमति भएको छ । मोर्चामा एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा (माओवादी)का संयोजक मातृका यादव, नेकपा एकीकृतका महासचिव परी थापा र क्रान्तिकारीका महासचिव थापा रहेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply