वायुसेवामा एमाओवादीकै दबदबा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्य नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलसित आजित बन्न पुगेका छन् । खरेलले निगमलाई एमाओवादीको भर्तीकेन्द्र बनाइरहेका छन् । तर, मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिना बितिसक्दा पनि खरेलले मन्त्री आचार्यको कुनै कुरा पनि नमानेको र मन्त्रीलाई असफल पार्नेतिर लागेको बताइन्छ । मन्त्री आचार्यले भने निगममा खरेलको हर्कत रोक्न सकेका छैनन् ।
मन्त्री आचार्यले एक वर्षभित्र १२ वटा जहाज ल्याउने योजना अघि सारे पनि आफू अनुकूलको सञ्चालक समिति नभएको र महाप्रबन्धक खरेलले सधैं एमाओवादीको सेवा हुने गरी काम गर्ने गरेको आरोप छ । मन्त्री आचार्यले पनि सञ्चालक समिति फेरबदल गर्न कुनै पहल गरेका छैनन् । विगतमा एमाओवादीका पोष्टबहादुर बोगटी र खड्गबहादुर विश्वकर्मा मन्त्री हुँदा नियुक्त भएका सञ्चालकहरूले पनि अहिलेसम्म राजीनामा दिएका छैनन् । आफूलाई अनुकूल हुनेगरी बोर्ड गठन गर्न नसकेकाले अहिले बोर्डका सदस्यहरू सबै एमाओवादी पक्षधर छन् । महाप्रबन्धक खरेलले पनि एमाओवादीकै पक्षमा काम गर्दा मन्त्रीलाई उनीबाट सहयोग हुने कुरै भएन ।
बोर्ड माओवादी पकडमा
निगम सञ्चालक समितिको अध्यक्ष पद अहिलेसम्म रिक्त छ भने पाँच जना सञ्चालकमा सबै एमाओवादीका छन् । मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव रञ्जनकृष्ण अर्याल एमाओवादी नेतृ हिसिला यमीका सच्चा सेवक नै हुन् भने अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्मा पनि एमाओवादी निकटकै व्यक्ति हुन् । मन्त्रालयबाट पदेन प्रतिनिधित्व गरेका बाहेक अन्य तीन जनामध्ये तीनै जना माओवादी पक्षधर भएपछि मन्त्रीलाई काम गर्न गाह्रो परेको निगम स्रोतले बतायो । बोर्ड सदस्य अशोकचन्द्र पोखरेल ट्राभल एजेन्सी सञ्चालक हुन् र उनले हवाइसम्बन्धी बिचौलियाको काम गर्छन् । कांग्रेस समर्थक रहे पनि बोर्ड सदस्य बन्नकै लागि उनी एमाओवादी भएको बताइन्छ । अर्का सञ्चालक अमरनारायण माली तेल व्यापारी हुन् । विगतमा मन्त्री विश्वकर्माले सदस्य बनाएकाले उनले पनि वैद्य माओवादीको पक्षपोषण गर्ने गरेका छन् । यसबाहेक चार्टर एकान्टेन्ट टेकनाथ आचार्य व्यवसायी भए पनि उनी अचेल आजित भएको बताइन्छ । मन्त्रीले पद छोडिसकेपछि पनि बोर्ड सदस्यहरू भने लाज पचाएरै बसिरहेका छन् । नेपाल वायुसेवा निगम ऐन, २०१९ मा वर्ष तोकेर सञ्चालक समिति सदस्यलाई नियुक्ति दिइएको भए पनि सरकारले चाहेको बेला बर्खास्त गर्न सक्ने व्यवस्था छ ।
भण्डारीकै पालादेखिका विशेषज्ञ
निगममा मन्त्रीले केही व्यक्तिलाई पदपूर्ति समितिमा राख्न सक्छन् । कर्मचारीको नयाँ भर्ना र बढुवाबारे आवश्यक काम गर्ने सो समितिमा दुई जना विशेषज्ञसहित दर्जनांै राख्न सक्ने प्रावधान छ, तर मन्त्री आचार्यले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन् । शरदसिंह भण्डारी मन्त्री भएका बेलादेखि विशेषज्ञका रूपमा नियुक्ति पाएकाले नै अहिले पनि काम गरिरहेका छन् । चार जनासम्म कानुनी सल्लाहकार नियुक्त गर्न पाउने भए पनि मन्त्रीले एक जना पनि राखेका छैनन् । चारै जना कानुनी सल्लाहकार एमाओवादी कार्यकर्ता भएको बताइन्छ ।
२ सय ३ जनाको म्याद थप
दिनदिनै घाटामा गएको संस्थामा आवश्यकताको आधारमा मात्र करारका कर्मचारीको म्याद थप्ने मन्त्री आचार्यको चाहना भए पनि महाप्रबन्धक खरेलले भने सबै एमाओवादीनिकट कर्मचारीको करारको म्याद थप गरेका छन् । असार मसान्तबाट ती कर्मचारीको म्याद सकिएको थियो । पूर्वमन्त्रीद्वय बोगटी र विश्वकर्माले नियुक्त गरेका अधिकांश एमाओवादी कार्यकर्ताको म्याद सकिएपछि महाप्रबन्धक खरेलले ‘मन्त्रीले हटाए पनि म जसरी पनि राख्छु, ढुक्क हुनुस्’भन्दै आश्वासन दिएर पठाएका थिए । म्याद थपिएन भने आन्दोलनका लागि तयार रहन कर्मचारीहरूलाई महाप्रबन्धक खरेलले आश्वस्त तुल्याएका थिए । जुन–जुन विभागअन्तर्गत ती कर्मचारीले काम गरिरहेका थिए, तिनै विभागबाट म्याद थप्नका लागि यसअघि नै सिफारिस मागिएको थियो । महाप्रबन्धक खरेलले यही शुक्रबार २ सय ३ जनाकै म्याद थप गरेका थिए । बोर्डमा करार म्याद थप गर्नुअघि ‘नयाँ कर्मचारी भर्ना नगरेसम्म मात्र करारमा राख्ने’ भनेर टिप्पणी उठाइएकोमा २ सय जना नयाँ स्थायी कर्मचारी भर्ना गरिसकेपछि पनि पुन: एमाओवादी कार्यकर्ताको म्याद थप गर्नुलाई मन्त्रीले महाप्रबन्धकद्वारा आफूलाई असहयोग गरिएको रूपमा लिएको बताइन्छ ।
महाप्रबन्धक खरेलले यात्रु सेवा विभाग, एयरपोर्टमा सानो नगदी कोषबाट तलब खाने गरी ३० जनालाई ज्यालादारीमा नियुक्त गरेका छन् । त्यसमा अधिंकाश एमाओवादी कार्यकर्ता रहेका छन् । यस सम्बन्धमा बुझ्न खोज्दा महाप्रबन्धक खरेलको मोबाइल स्विचअफ गरिएकाले सम्पर्क हुन सकेन ।
अनावश्यकले पनि मौका पाए
महाप्रबन्धक खरेलले करारका जति सबैलाई चरणगत रूपमा म्याद थप गरेपछि अनावश्यक कर्मचारीले पनि मौका पाएका छन् । सात वर्षदेखि तुम्लिङटारमा जहाज नउडेको हुँदा त्यहाँका कर्मचारीहरू कामविहीन छन् । खरेलले त्यहाँ कार्यरत करारका कर्मचारीको पनि म्याद थप गरेका छन् भने उद्धवप्रसाद भारती र दुर्गादत्त भट्टलाई सेक्युरिटी अफिसरमा म्याद थप गरेका छन् । सुरक्षाको सबै काम ग्रुप फोरलाई दिइसकेको र अन्य सुरक्षाका लागि निगमकै पुराना दक्ष कर्मचारी हँुदाहँुदै एमाओवादी भएकै कारण उनीहरूको म्याद थप गरिएको एक कर्मचारीले बताए । उनीहरूको नियुक्तिका बेला मानव संसाधन विभागका पूर्वप्रमुख माया भट्टले २ लाख रुपियाँ घुस लिएर नियुक्ति दिएको भन्दै अख्तियारमा समेत उजुरी परेको थियो ।
एमाले निकटलाई प्रतिशोध
मनरुप शाही अध्यक्ष भएपछि पूर्वाग्रहवश निकालिएका निगममा लामो समयदेखि कार्यरत कर्मचारीहरूको पुनर्नियुक्तिका लागि महाप्रबन्धक खरेलले कुनै पहल गरेका छैनन् । राधेश्याम रायमाझी, पूर्ण राई, द्रौपदा खनाललाई शाहीले आस्थाका आधारमा अवकाश दिएका थिए । ०५२ सालदेखि कार्यरत रायमाझीलाई त शाहीले ०६५ सालमा नियतवश सार्वजनिक मुद्दा दायर गरी आफ्नो विरोध गरेकै बहानामा दसैंको मुखमा जेल हालेका थिए ।
चाकडीका लागि बालकोट
मन्त्री र आफूबीच विवाद भएपछि महाप्रबन्धक खरेल चाकडीका लागि एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् । बिहीबार साँझ खरेल बालकोट पुगेर ‘आफूलाई सहयोग गर्नुपर्ने र आफू पनि सहयोग गर्न तयार रहेको’ भन्दै चाकडी बजाएको बालकोट स्रोतले बतायो । पहिले एमालेनिकट भए पनि महाप्रबन्धक हुनुअघि नै उनी एमाओवादी भएको बताइन्छ ।
अध्यक्ष भन्दै सदस्यमा नियुक्ति
खरेलले एकलौटी ढंगले निगम चलाउन थालेपछि सन्तुलनका लागि पनि रिक्त अध्यक्ष नियुक्तिको प्रक्रिया मन्त्री आचार्यले अघि बढाएका छन् । वायुसेवाकै पूर्वकर्मचारी शिवशरण न्यौपानेको यसअघि नियुक्तिका लागि मन्त्री आचार्यले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगे पनि कर्मचारीको विरोधका कारण फिर्ता लिएका थिए । एमाले पूर्वअध्यक्ष झलनाथ खनालको विशेष जोडमा अध्यक्षमा न्यौपानेको नियुक्ति गर्ने तयारी भए पनि विगतमा झैं कार्यकारी अधिकारको विषयमा विवाद हुने भयले कर्मचारीहरूले नै सो नियुक्ति रोक्न लगाएका थिए । ‘अब खरेलको एकलौटी रोक्न पनि न्यौपानेलाई नियुक्ति गर्नुपर्ने भएको छ’– मन्त्रीको सचिवालय स्रोतले भन्यो । त्यसो त खरेलकै नालायकीका कारण चीनबाट असार १५ मा ल्याइसक्ने भनिएको वाई–२० जहाज अहिलेसम्म ल्याउन सकिएको छैन । स्टोर, जनशक्तिलगायत अन्य व्यवस्थापनमा झन्झट आउने भएकाले चीनको हर्बिक भन्ने स्थानमा एबिक कम्पनीले तयार गरिसकेको जहाज पार्किङ चार्ज तिरेर बसिरहेको छ । यसअघि ल्याएको जहाज समयमा उडान गर्न नसकेपछि अख्तियारको समेत खप्की खानुपरेपछि महाप्रबन्धक खरेल जहाज ल्याउन उत्साहित नभएको बताइन्छ । यसैबीच, सञ्चालक समितिबाट सफाइ पाई इन्जिनियरिङ विभागको प्रमुखको जिम्मेवारी पाएका फ्लाइट इन्जिनियर अच्युत पहाडीले सो विभागको जिम्मा पाएपछि ‘काम देखाउने मौका यही हो’ भन्दै रोकिएका जहाजहरूका उडानहरू सुरु गर्न थालेका छन् । उनले १८ महिनादेखि ग्राउन्डेड नाइन–एन एबीटी जहाजलाई आफू नियुक्त भएको तेस्रो दिनमा नै परीक्षण उडान गरेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply