राष्ट्र बैंकभित्र रडाको
काठमाडौं । नेपाल राष्ट्र बैंकभित्र मौलाएको एकपक्षीय प्रवृत्तिविरुद्ध जेहाद छेड्ने आवरणमा नेपाली कांग्रेससम्बद्ध कर्मचारीहरू केही दिनदेखि हड्तालमा उत्रिए पनि त्यसको भित्री चुरो भने अर्कै रहेको छ । कांग्रेससम्बद्ध वित्तीय संस्था कर्मचारी संघले बैंकभित्र नीतिगत एवम् संस्थागत सुधार गर्ने बहानाबाजीमा हड्ताल छेडे पनि उनीहरूलाई उचाल्ने कार्यमा अर्थमन्त्री डा.रामशरण महत नै लागिपरेको बुझिएको छ ।
आफ्नो मन्त्रालयमातहतका विभिन्न निकायमा राजनीतिक नियुक्ति, सरुवा, बढुवालगायत थुप्रै काममा पछिल्लो समय बाजी मारेका अर्थमन्त्री डा.महतले राष्ट्र बैंकभित्र भने कुनै हलचल ल्याउन नसकेपछि त्यहीँका कर्मचारीहरूलाई उचालेर आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका हुन् । आफूले दिएका अनुचित निर्देशन राष्ट्र बैंकको नेतृत्व तहले अस्वीकार गरेपछि मन्त्री डा.महतले कर्मचारीहरूलाई हड्तालमा उत्रिन लगाएर दुनो सोझ्याउन चाहेको बुझिएको छ । तर, कर्मचारीहरूले नीतिगत तथा संस्थागत सुधारको नाममा हड्ताल सुरु गरे पनि आफ्नो छनोटमा रहेका केही व्यक्तिहरूले भनेजस्तो विभाग नपाएपछि हड्तालको नाटक रचेका हुन् ।
केही समयअघि, राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागको कार्यकारी–प्रमुख नारायण पौडेलको वित्त कम्पनी सुपरीवेक्षण विभागमा सरुवा गरिएको थियो । ग्रामीण बैंक, सहकारी जस्ता ‘घ’ वर्गका वित्तीय निकायहरूको सुपरीवेक्षण गर्ने विभागबाट ‘ग’ वर्गअन्तर्गत पर्ने फाइनान्स कम्पनीहरूको सुपरीवेक्षण गर्ने वित्त कम्पनी विभागमा उनलाई सरुवा गरिएको थियो । तर, कांग्रेससम्बद्ध कर्मचारीहरूले भने पौडेललाई नियमन विभागमा लैजान चाहेका थिए । राष्ट्र बैंकको नेतृत्व तहले विगतमा त्यही विभागमा कार्यरत रहँदा पौडेलले अनुचित काम गरेको हुँदा उनलाई उक्त विभागमा सरुवा गरिएन । तर, पौडेललाई नियमनमा सरुवा नगर्ने बित्तिकै वित्तीय संस्था कर्मचारी संघले गएको भदौ १३ गतेबाट हड्तालको घोषणा गरेको हो ।
०६२/६३ को जनआन्दोलनपछि बनेको सरकारमा अर्थमन्त्री भएका डा.महतले पौडेललाई नियमन विभागको कामु कार्यकारी–निर्देशक बनाएर लगेका थिए । उनलाई तत्कालीन कामु गभर्नर कृष्णबहादुर मानन्धरलाई दबाब दिएर उक्त विभागमा लगिएको थियो । पौडेललाई नियमन विभागमा लगेपछि त्यतिखेर डा.महतले मापदण्ड नै पूरा नगरेका वित्तीय संस्थाहरूलाई जथाभावी लाइसेन्स बाँड्न लगाएका थिए । तत्कालीन समयमा डा.महतको सिफारिसमा एकै दिन बसेको एउटै बोर्ड बैठकमा २८ वटा वित्तीय कम्पनीहरूलाई लाइसेन्स दिने निर्णय गरिएको थियो । तर, त्यतिखेर जथाभावी लाइसेन्स बाँडिएका ती वित्तीय कम्पनीहरूमा अहिले अधिकांश समस्याग्रस्त घोषित भएका छन् । र, केही वित्तीय संस्था त धराशायीसमेत भइसकेका छन् ।
अर्थमन्त्रीमा नियुक्त भएपछि डा.महतले अहिले आफूमातहतका विभिन्न वित्तीय संस्थाहरूमा धमाधम राजनीतिक नियुक्ति थालेका छन् । केही दिनअघि मात्रै अर्थमन्त्री महतले कृषि विकास बैंकको सञ्चालक समितिमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाका काका लीलाप्रकाश सिटौलालाई नियुक्त गरेका छन् भने राष्ट्रिय बिमा संस्थानको प्रशासकमा अश्विनीकुमार ठाकुर र राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा.रेवतबहादुर कार्कीलाई नियुक्त गरेका छन् । तर, राष्ट्र बैंकमा भने आफ्ना व्यक्तिलाई आफूले चाहेको विभागमा नलगेपछि भाउन्न भएर अर्थमन्त्री महतले कर्मचारीको सहारामा राष्ट्र बैंकमा उधुम मच्चाउन लागिपरेको बुझिएको छ ।
अहिले राष्ट्र बैंकमा कांग्रेससम्बद्ध कर्मचारीहरूले हड्ताल गर्नुको पछाडि कांग्रेसभित्रको गुटबन्दीले पनि काम गरेको बताइन्छ । संघभित्र सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको बेग्लाबेग्लै गुट रहेको हुँदा त्यसको प्रतिविम्ब अहिलेको हड्तालमा पनि देखिएको छ । संघका अध्यक्ष पद्मराज रेग्मी कोइराला गुटका हुन् भने वरिष्ठ उपाध्यक्ष आरके पुडासैनी भने देउवानिकट हुन् । ती दुई गुटबीच तीव्र द्वन्द्व रहेको र अहिलेको हड्ताल पनि आफूबीचको गुटबन्दीलाई मत्थर तुल्याउनमा केन्द्रित रहेको बुझिएको छ । हड्तालमा उत्रिएका संघका अध्यक्ष रेग्मीले भने राष्ट्र बैंकको नेतृत्व तहले वार्तामा बोलाएर समाधान खोजेन भने अझ कडा आन्दोलनमा उत्रिने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply