सौहाद्र्र बन्ला यसपटकको सार्क ?
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आठौं शिखर सम्मेलन यस्तो समयमा काठमाडौंमा हुन लागिरहेको छ, क्षेत्रीय शक्तिहरूबीच कुनै मनमुटाव, द्वेष र खिचातानीको संकेतबिना नै सौहार्द सम्बन्ध फस्टाउन लागिरहेको आभासबीच हुने तर्खरमा छ । विगतमा यस्तो परिदृश्य कमै देखिन्थ्यो । अर्थात्, अहिले जेजस्तो दृश्य/परिदृश्यबीच सार्क शिखर सम्मेलन हुन लागिरहेको छ, एउटा शान्त माहोल र सौहार्दताबीच हुन लागिरहेको संकेत दिएको छ । र, यसले क्षेत्रीय शक्तिहरूबीच अझ प्रगाढ सम्बन्ध निम्त्याउने, क्षेत्रीय सहयोगमा महत्त्वपूर्ण भूमिका खेल्ने र क्षेत्रीय रुचिहरूलाई माथिल्लो उचाइ प्रदान गर्ने सम्भावनालाई पनि उत्तिकै दर्साइरहेको छ ।
विगतका प्रायजसो सार्क शिखर सम्मेलन कटुतापूर्ण सम्बन्धबीच उभिएका दुई परस्पर मुलुक भारत र पाकिस्तानबीचको तनाव र दूरीको तिखो प्रभावमा रुमल्लिन्थ्यो । यो किन पनि स्वाभाविक थियो भने, भारत र पाकिस्तानबीच लामो समयदेखि मूलभूत रूपमा सीमा विवाददेखि अरू थुप्रै समस्याहरू रहेको हुँदा त्यसको प्रतिविम्बन सार्क शिखर सम्मेलनमा पर्नु एउटा स्वाभाविक र सामान्य क्रियाजस्तै लाग्दथ्यो । र, सार्क शिखर सम्मेलनका अरू एजेन्डाहरू स्वत: ओझेलमा पर्थे र भारत र पाकिस्तानबीचको बिग्रँदो कूटनीतिक सम्बन्धले चर्चा/परिचर्चाको घेरा नाघ्थ्यो । क्षेत्रीय मुद्दाहरू पहिचान गरेर त्यसमा विचार/विमर्श हुनुभन्दा पनि ती दुई देशबीच पन्पिएको कटुताले नै प्रायजसो सार्क शिखर सम्मेलनमा अहम् स्थान पाउँथ्यो ।
यद्यपि, यस पटकको सार्क शिखर सम्मेलनमा भने त्यस्तो परिदृश्य उत्पन्न हुने सम्भावना कम देखिएको छ । भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसितको वर्षौं पुरानो कटुतापूर्ण सम्बन्ध बिग्रन नदिन प्रयत्नहरू जारी राखेको हुँदा र पाकिस्तानले पनि भारतसितको शत्रुतापूर्ण सम्बन्धलाई अग्रगति दिँदा त्यसले नाफा नपुर्याउने यथार्थ बुझेको हुँदा ती दुई देशका सीमा क्षेत्रमा छिटफुट रूपमा भिडन्त भए पनि अहिलेसम्म यी दुई देशबीच सम्बन्ध नै बिग्रिने गरी कुनै विवाद उत्पन्न भएको छैन । यो सुखद् पक्ष कति लामो समयसम्म टिक्ला ? त्यो त भविष्यले नै बताउने कुरा हो । तर, अहिलेसम्म भारत र पाकिस्तानबीच जसरी सहज सम्बन्ध कायम भइरहेको छ, त्यसले क्षेत्रीय शान्तिलाई डगमगाउन दिइरहेको छैन । यो राम्रो र सकारात्मक पाटो हो ।
दक्षिण एसिया अरू थुप्रै समस्याहरूसित जुधिरहे पनि भारतजस्ता देशले अझै पनि आतंकवादलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा अथ्र्याउँदै आइरहेको छ । र, सदैव भारतले आफ्ना छिमेकी पाकिस्तानलाई नै आतंकवादको जड ठान्दै आइरहेको छ । जम्मु–कास्मिरको मुद्दामा वर्षौंदेखि मनमुटाव कायम राख्दै, युद्धको पीडासमेत झेलिसकेका यी दुई देशबीच जहिल्यै पनि आतंकवाद नियन्त्रणमा एकले अर्कोलाई नसघाएको विषयले नै प्राथमिकता पाउँदै आइरहेको छ । अझ, भारतले त भारतमा हुने हरेक आतंकवादी हमला, क्रियाकलापलाई ‘पाकिस्तानद्वारा प्रायोजित आतंकवाद’को संज्ञा दिँदै आइरहेको छ । तथापि, आतंकवादले भारत जति ग्रस्त छ, पाकिस्तान, अफगानिस्तानजस्ता दक्षिण एसियाली मुलुकहरू पनि कदापि अछुतो रहन सकेको छैन । अझ, अफगानिस्तानको हालत त निकै नै बिग्रँदो छ । तालिवानीहरू सत्ताच्युत भएपछि अफगानिस्तान आतंकको प्रमुख निशानामा पर्दै आएको छ र त्यही कारण सुरक्षा र स्थिरताको चुनौती ती देशले भोग्नु परिरहेको छ ।
प्रधानमन्त्री भएलगत्तै मोदीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको वार्तामा भनेका थिए– ‘हाम्रो भविष्य हाम्रा छिमेकीसित जोडिएको छ । यही कारण मेरो सरकारले पहिला दिनदेखि नै छिमेकी देशहरूसित मित्रता र सहयोग बढाउनका लागि पूरै प्राथमिकता दिएको छ । र, पाकिस्तानप्रति पनि मेरो यही नीति हो । म पाकिस्तानसित मित्रता र सहयोग बढाउनका लागि गम्भीरतापूर्वक शान्तिपूर्ण वातावरणमा, बिना आतंकको छायामुनि द्विपक्षीय वार्ता गर्न चाहन्छु । र, पाकिस्तानको पनि यही दायित्व छ कि, उपयुक्त वातावरण बनाएर गम्भीरतापूर्वक द्विपक्षीय वार्ताका लागि सामुन्ने आओस् ।’ भारतीय प्रधानमन्त्रीले पाकिस्तानप्रति लिएको नरम नीति र द्विपक्षीय सम्बन्ध सुधार्न गरेका प्रयत्नले नै अहिलेसम्म ती दुई देशबीच भित्रभित्रै तुषहरू यथावत् रहे पनि बाह्य रूपमा भने सम्बन्ध खल्बलिन पुगिसकेको छैन । यस पटकको सार्क शिखर सम्मेलनमा पनि ती दुई देशका राष्ट्रप्रमुखहरूबीच सौहार्द रूपमा छलफल हुने, क्षेत्रीय मुद्दाहरू सल्टाउन प्रयत्न थाल्ने र एकले अर्कालाई कटाक्ष गर्ने वातावरण नबन्ने हो भने सार्क शिखर सम्मेलनको इतिहासमै यस पटकजतिको सफल, स्मरणयोग्य र सौहार्द सम्मेलन अरू हुन सक्दैन ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply