विप्लवको विनाशकारी बाटो
माउ पार्टी एनेकपा (माओवादी)बाट विभाजन भएर गठन भएको दुई वर्ष नपुग्दै नेकपा–माओवादी विभाजन भएको छ । नाम, शब्द र भाषणमा चर्को क्रान्तिकारी कुरा गरे पनि व्यवहारमा एमाओवादीभन्दा कुनै पनि मानेमा फरक हुन नसकेको र वक्तव्य निकालेर विरोध जनाउनमा सीमित बनेको माओवादीका युवा नेता तथा सचिव नेत्रविक्रम चन्द (विप्लव)ले उक्त पार्टी अन्योलग्रस्त र दिशाहीन भएको भन्दै एकीकृत क्रान्ति गर्नका लागि नयाँ पार्टी नेकपा माओवादी गठन गरेको घोषणा गरेका छन् । पार्टीभित्र रहेर अलग्गै भेला आयोजना गरेका विप्लवले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर औपचारिक रूपमा मुख खोलेका छन् । फुटको औचित्य सावित गर्नका लागि उनले पूर्ववर्ती नेतृत्वको चर्को आलोचना गर्ने नै भए, क्रान्तिका बाँकी रहेका कार्यभार आफूले पूरा गर्ने घोषणा पनि गरेका छन् । जतिसुकै चर्का कुरा गरे पनि विप्लवका सामु जम्माजम्मी दुईटा बाटा छन् । पहिलो, ०६३ मा शान्ति प्रक्रियामा आउनुअघि नै अवस्थामा फर्केर जनयुद्धको घोषणा गर्दै जंगलतिर लाग्ने र दोस्रो, शान्तिपूर्ण राजनीतिमा क्रियाशील रहने । यी दुवै बाटा उनका जोखिमपूर्ण छन् । शान्तिपूर्ण राजनीतिमा रहने हो भने मोहन वैद्यहरूलाई पुष्पकमल दाहालभन्दा भिन्न देखिनमा जुन समस्या परेको छ, उनलाई पनि मोहन वैद्यभन्दा फरक देखिन त्यस्तै समस्या पर्ने निश्चित छ र उनको फुटको कुनै पनि हालतमा औचित्य सावित हुनेछैन । होइन, हतियार उठाउने हो भने उनका लागि त्यो आत्मघाती र विनाशकारी बाटो हुनेछ । पुष्पकमल दाहालका अनेक पक्षहरूको आलोचना गर्न सकिएला तर एउटा कुरा सबैले स्वीकार गर्नुपर्छ– नेपालमा उनको नेतृत्वमा जुन मात्रामा हिंसात्मक युद्ध भयो, यति ठूलो युद्ध फेरि अर्को कुनै व्यक्तिको नेतृत्वमा आयोजना हुन असम्भव छ । विप्लवले इतिहास बनिसकेको त्यही चक्कालाई उल्टो दिशामा गुडाउन खोजे भने सबभन्दा पहिला त्यसले उनी स्वयम्लाई किच्ने निश्चित छ ।
विप्लव युवा छन् । सत्ताको सुखभोगबाट टाढा छन् । पद प्राप्तिमा उनले लालसा राखेको देखिएको छैन । विगतमा एकीकृत माओवादीमा रहँदा पनि उनले खास कुनै लाभको पद लिएको देखिएन । यस अर्थमा उनीसँग एक प्रकारको आदर्श छ र त्यही आदर्शले उनीभन्दा कम उमेरका युवाहरूलाई आकर्षित पनि गरेको छ । हिजो एमाओवादीले युद्धकालमा देखाएका असम्भव सपनाहरू पूरा नहुँदा निराश भएर बसेको एउटा पंक्तिलाई विप्लवले देखेका छन् । कम उमेर भएका कारण अयोग्य भनेर निकालिएका लडाकुहरू अहिले जवान भइसकेका छन् । सहिद परिवार, घाइते र बेपत्ताका परिवारको रोदन विप्लवले सुनेका छन् । त्यसबाट लाभ लिन सकिन्छ र त्यही जगमा पुन: बन्दुक उठाउन सकिन्छ भन्ने आशा उनलाई पक्का पनि छ । तर, एउटा क्रान्ति आयोजना गर्नका लागि यस्ता सामान्य कुरा मुख्य बन्दैनन् । मुख्य कुरा हतियारबाट सत्ताकब्जा गर्न सकिन्छ भन्ने सोच नै त्रुटिपूर्ण छ । सन् १९७५ मा कम्बोडियामा पोलपोटको नेतृत्वमा खमेरुजले सशस्त्र संघर्षमार्फत सत्ताकब्जा गरेयताको ४० वर्षमा अर्को कुनै सशस्त्र क्रान्ति सफल भएको छैन । बरु, विगतमा सशस्त्र क्रान्तिमार्फत स्थापना गरिएका राज्यसत्ताहरू पनि धमाधम ढलेका छन् । इतिहासको यस कठोर शिक्षाबाट पाठ नसिक्ने हो भने कुनै पनि देशका कम्युनिस्टहरूले थाइल्यान्ड, बर्मा वा कम्बोडियाको जस्तो दु:खद नियति भोग्न नपर्ला भन्न सकिन्न । आफैं युद्ध लडेर अनेकौं असफलता हात लागेका नेपाली माओवादीहरूमा अझै युद्धको प्यास देखिनु विडम्बनापूर्ण छ ।
समाजलाई अराजकता र अस्तव्यस्ततातिर लैजानका लागि ठूलो कारण चाहिँदैन । हुन सक्छ, नेत्रविक्रम चन्दको यही समूह पनि त्यसका लागि सफल होला । तर, त्यस्तो समूहले कुनै पनि हालतमा परिवर्तन ल्याउन सक्दैन । आजको युगमा हिजोका धेरै कुराहरू बदलिएका छन् । हिजो असम्भव जस्तै ठानिएका कुराहरू पनि प्रविधिका कारण आज सम्भव भएका छन् । दुनियाँ परिवर्तन हुने, जनता परिवर्तन हुने अनि क्रान्तिको तरिका चाहिँ परिवर्तन नहुने हुन्छ ? हो, आज पनि अधिनायकवादी शासन व्यवस्था भयो, जनताको मौलिक अधिकारमाथि बन्देज लगाइयो र स्वतन्त्रतापूर्ण राजनीतिक क्रियाकलाप गर्न दिइएन भने हतियार उठाउनु जनताको बाध्यता हुन सक्छ । तर, के नेपालमा अहिले त्यस्तो अवस्था छ ? के कुनै विचारका आधारमा राजनीति गर्नमा नेपालमा केही समस्या छ ? राजतन्त्र फर्काउनुपर्छ भन्ने कमल थापादेखि एकदलीय व्यवस्था कायम गर्नुपर्छ भन्ने मोहन वैद्यहरूसमेत निर्बाध रूपमा क्रियाशाील छन् । यस्तो अवस्थामा पुस्तकमा पढेका आधारमा क्रान्तिको सूत्रलाई व्यवहारमा लागू गर्न खोज्नु आत्मघाती बाटो मात्र हुन्छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply