ओली देशका ठेकदार होइनन्, तपार्इं नि ?
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित तीन दलको बैठकमा कुरा नमिलेर बाहिरिएपछि एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निकै आक्रोशित हुनुभएको छ । आइतबार संविधानसभा परिसरमा संवाददाताहरूसँग बोल्दै उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई ‘देशका महाराजा वा ठेकेदार के हुन् ?’ भनेर प्रश्न पनि गर्नुभएको छ । उत्तर स्पष्ट छ– ओली ती दुवै हुनुहुन्न र कहिल्यै हुँ भनेर दाबी पनि गर्नुभएको छैन । अथवा उहाँले दाबी गर्दैमा कसैले पत्याउने पनि होइन । तर, सहमतिमा पनि नआउने, पहिला आफैंले गरेको सहमति भत्काउने र विगतका अनुभवबाट पाठ सिकेर नयाँ प्रक्रियामा पनि मुलुकलाई जान नदिने पुष्पकमल दाहाल चाहिँ के हुनुहुन्छ नि ? यो देशमा सहमति बन्छ वा बन्दैन भन्ने कुरा के उहाँले ठेक्का लिनुभएको छ र ? प्रश्न स्वाभाविक रूपमा उब्जिन्छ ।
समकालीन नेताहरूमध्ये अहिले पनि पुष्पकमल दाहाल एक जना प्रभावशाली नेता हुनुहुन्छ । एमाओवादी तेस्रो स्थानमा खुम्चिँदा पनि व्यक्तिगत रूपमा सञ्चारमाध्यमदेखि आम नागरिकसम्ममा अझै उहाँप्रति आकर्षण छ । तर, बेलाबेलामा उहाँले सार्वजनिक गर्ने अभिव्यक्ति हेर्ने हो भने उहाँले आफ्नो वजन क्रमश: आफैं घटाइरहेको प्रतीत हुन्छ । अर्को एउटा कुरा, दाहालले ज–जसलाई हेपेर र होच्याएर बोल्नुभयो, तिनीहरूले उहाँलाई ठेगान लगाइदिएका उदाहरणहरू विगतमा पाइन्छन् ।
घटना नम्बर १ : ‘को हो त्यो कटवाल ?’
पुष्पकमल दाहाल अहिलेभन्दा धेरै शक्तिशाली हुनुहुन्थ्यो । खुलामञ्चमा सर्वदलीय कार्यक्रम थियो । त्यतिबेला नेपाली सेनाका सेनापति रुकमांगद कटवालले माओवादी लडाकु समायोजनका बारेमा अलि कडा अडान लिइरहेका थिए । उनको व्यक्तिगत पृष्ठभूमि, आफूसँग लडेकालाई दुश्मन ठान्ने सैनिक मनोविज्ञान र कांग्रेस–एमालेको ब्याकिङलाई ख्यालै नगरी दाहालले खुलामञ्चबाट ‘को हत्यो कटवाल ?’ भन्ने प्रश्न गर्दै ‘नेपाली सेना त्यसको बाउको हो र ?’ भन्नुभयो । परिणाम के भयो ? सबैलाई थाहै छ । पछि उहाँ प्रधानमन्त्री बन्दा उनै कटवालसँग झगडा भयो र सरकार छोड्नुपर्यो । अहिले कुराकानी हुँदा उहाँ भन्नुहुन्छ– ‘कटवाललाई तीन महिना रहन दिएको भए केही हुने थिएन । गल्ती भयो ।’
घटना नम्बर २ : ‘मालिकसँग वार्ता गरिन्छ’
सेनापति कटवालसँग विवाद हुँदा राजीनामा दिन बाध्य भएपछि दाहालले त्यसको दोष भारतलाई लगाउनुभयो । पर्दाभित्र भारतको के कस्तो भूमिका रहन्छ, त्यो उहाँहरू जस्ता नेतालाई सबभन्दा बढी थाहा छ । तर, सतहमा हामीले हेर्दा सेनाप्रमुखसँगको लडाइँमा हारेपछि प्रधानमन्त्रीले कुर्सी छोड्नु बिल्कुल नैतिक र राजनीतिक कुरा थियो । यस्तो सामान्य नियमलाई उहाँले स्वीकार गर्न सक्नुभएन र आफ्ना निकटका नेतालाई भारतीय राजदूत राकेश सूदमाथि जुत्ता प्रहार गर्न लगाउनुभयो । आफूलाई चाहिँ छ पटकसम्म भारतीय दूताबास छिरेको कुरा आफैं सार्वजनिक गर्नुभएका नेताले प्रदर्शन गरेको त्यस्तो व्यवहारले प्रकारान्तरमा उहाँलाई नै सबभन्दा बढी घाटा भयो होला भन्ने अनुमान गर्न सकिन्छ । बाहिर चर्को गाली गर्ने अनि भित्र–भित्र उनीहरूकै जासुसी अधिकारीहरूसँग भेट्न सिंगापुर, बैंकक, दिल्ली र बेलायत धाउने कुरालाई अरूले पनि ‘वाच’ गरिरहेका छन् भन्ने कुरा उहाँले बुझ्नै सक्नुभएन ।
घटना नम्बर ३ : ‘माधव नेपाल विषवृक्ष हुन्’
आफूले राजीनामा दिएपछि पुष्पकमल दाहालले सोच्नुभएको रहेछ, अर्को सरकार नै बन्न सक्दैन । २ सय ४० वर्ष पुरानो राजतन्त्र जाँदा त नहल्लिएको देश, उहाँले छोड्दा किन रोकिन्थ्यो र ? एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्यो । सुरुमा त उहाँहरूले संसद् अवरुद्ध गरेर सरकारै बन्न दिनुभएन । सरकार बनेपछि त्यसलाई कठपुतली आदि इत्यादि उपमाद्वारा भत्र्सना गर्नुभयो । यतिसम्मकि, आफूलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तिनै माधवकुमार नेपाललाई उहाँले ‘विषवृक्ष’ भन्न पछि पर्नुभएन । जबकि, माधव नेपाललाई संविधानसभामा ल्याउन आग्रह गर्दै केन्द्रीय कमिटीबाट निर्णय गराएर दाहालले नै एमालेलाई पत्र लेख्नुभएको थियो । दाहालको अहम्का कारण एक वर्ष लडाइँ–झगडामै बितेपछि बल्ल आफू प्रधानमन्त्री हुन्न भन्ने कुरा बुझ्न सक्नुभयो ।
माथिका तीन घटनाले पनि देखाउँछ– यति ठूलो नेता भएर पनि पुष्पकमल दाहाल अभिव्यक्तिमा सन्तुलन कायम गर्न सक्नुहुन्न । उहाँका अभिव्यक्तिले अरूलाई भन्दा बढी उहाँलाई नै घाटा पुर्याइरहेका छन् र उहाँको व्यक्तित्वमा क्षति पुर्याइरहेका छन् ।
अहिले एमाले अध्यक्ष केपी ओलीका सन्दर्भमा उहाँले अभिव्यक्त गरेका कुराहरूले ओलीलाई होइन, उहाँलाई नै घाटा भएको छ । ओलीले अहिले बहुसंख्यक जनताको भाषा बोलिरहनुभएको छ । अर्थात् कांग्रेस र एमालेलाई समर्थन गर्ने यस मुलुकमा करिब दुई तिहाइ जनता छन्, जसको भावनालाई ओलीले आत्मसात् गरेर वाणी दिनुभएको छ । किनभने, निर्वाचनमा सबै पार्टी आ–आफ्ना घोषणापत्र लिएर गएका हुन् । कांग्रेस–एमालेले प्रस्ट रूपमा जातीय संघीयताको विरोध गरेर चुनावमा भाग लिएका थिए, जुन कुरामा अहिले पनि उनीहरूले अडान लिएका छन् । निर्वाचनका आधारमा हेर्दा ती दुई दलका एजेन्डालाई दुई तिहाइ प्राप्त छ । यदि ठेकेदारीकै कुरा गर्ने हो भने दुई तिहाइ जनताको भावना बोक्ने मानिसलाई ठेकेदार भन्दा पनि फरक पर्दैन । एक तिहाइभन्दा कम जनमत भएको नेताले भन्दा दुई तिहाइ जनमत बोक्ने नेताको वजन बढी हुन्छ र उसले भनेको कुराले अर्थ राख्दछ ।
केपी ओलीले जातीय संघीयता हुँदैन, तराईलाई मात्रै अलग गरेर राज्य बनाउन दिइँदैन भनेर जुन अभिव्यक्ति दिनुभएको छ, त्यसबाट पुष्पकमल दाहाल उत्तेजित हुनुपर्ने कुनै कारण छैन । किनभने, यो त कांग्रेस–एमालेको जनअनुमोदित घोषणा हो । त्यसबाट तल–माथि गर्न मिल्दै मिल्दैन । दाहालले जतिसुकै चर्को र तुच्छ कुरा गरे पनि उहाँलाई पनि थाहा छ– राजनीति निर्मम हुन्छ । आफ्नो हातमा निर्णायक मत हुँदा गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई उधारोमा बाँडेको राष्ट्रपति पद दुलाबाट खोजेर रामराजाप्रसाद सिंहलाई दिएको स्मरण दाहाललाई ताजै हुनुपर्ने हो । हिजो हामी बढी संख्यामा हुँदा प्रक्रियामा जान नमान्ने अनि अहिले प्रक्रियाको कुरा गर्ने ? भनेर रुञ्चे तर्क गर्नुको कुनै तुक छैन । सकेको भए हिजो उहाँहरूले गराउँदा हुन्थ्यो । सक्नुभएन, संविधानसभा विघटन भयो । आज कांग्रेस–एमालेसँग दुई तिहाइ छ । सके भने यिनीहरूले पनि गर्छन् । यति सामान्य कुरालाई पनि बुझ पचाएर ओलीलाई गाली–गलौज गर्नुको के कारण होला र ?
पक्कै पनि सहमतिमा संविधान बनाउनु उत्तम हुन्छ । त्यसका लागि हामीले ठूलो मूल्य चुकाइसकेका छौं । त्यसैका नाममा पहिलो संविधानसभा ध्वस्त भएको धेरै भएको छैन । एमाओवादी स्वयम्ले आफ्नो घोषणापत्रमा यही कुरा उल्लेख गर्दै छ महिनामा सहमतिबाट सम्भव भएन भने प्रक्रियाबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अहिले पनि धेरैको सहमतिमा संविधान बनाउनु सबभन्दा उत्तम हुन्छ । त्यसका लागि कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलहरूका बीचमा सहमति कायम गर्नुपर्छ । तर, अघिल्लो संविधानसभामा जस्तो कुनै पनि हालतमा सहमति भएन भने के गर्ने ? फेरि पनि संविधानसभालाई मर्न दिने कि अन्तरिम संविधानमा भएको प्रक्रिया अनुसार नयाँ संविधान जारी गर्ने ? त्यसका लागि दुई तिहाइभन्दा अरू बाटो नै के छ र ? केपी ओलीले यही भन्दा कसरी ठेकेदारी वा महाराजाको कुरा आयो ? उहाँ त होइन नै, अनि तपाईं नि कमरेड ?
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply