मारमा परेपछि मदन मुक्त
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलले अप्रत्यासित तवरले निगमको महाप्रबन्धक पदबाट राजीनामा दिनुभएको छ । झन्डै दुई वर्ष पदावधि बाँकी छँदै खरेलले राजीनामा दिएपछि त्यसको कारण खोजी हुन थालेको छ ।सोमबार बिहान ११ बजेतिर कार्यालय आएका खरेलले त्यसयता मोबाइल स्विच अफ गरेकाले किन राजीनामा दिनुभयो भन्नेबारे खुलेको छैन । उहाँ आफैंले कुनै प्रतिक्रिया दिनुभएको छैन । तर, पत्रमा भने एक महिना स्वास्थ्यका कारण बिरामी बिदा स्वीकृत गरी बिदामा बस्ने र लगत्तै हाल रहेकामध्ये वरिष्ठ उपमहाप्रबन्धक रमेश शाहलाई निमित्त दिइएको छ ।पछिल्लो समय निगमका आफूले विश्वास गरेका कर्मचारीहरूकै असहयोग रहेपछि उहाँ निगममा समस्या देखा परेको थियो । विशेषगरी चीनबाट आएका जहाज र फ्रान्सबाट ल्याइएको एयरबस दुवै, पटक–पटक ग्राउन्डेड भएपछि उहाँ तनावमा पर्नुभएको थियो । निगमलाई व्यापक सुधार गर्छु भन्ने संकल्प लिएर नेतृत्व सम्हालेका खरेलले सबैतिरबाट असहयोग भएपछि हार खाएर छोडेको टिप्पणी निगम वृत्तमा छ । पद सम्हालेयता विभिन्न देशबाट विमान भित्र्याई कमिसन राम्रो लिइसकेको, स्थायी र करार गरी १ सयभन्दा बढी कर्मचारी भर्ना गर्न सफल भएको र आफू निकटकाहरूलाई बढुवा पनि गरिसकेकाले राजीनामा दिन उपयुक्त समय खोजेर यही बेलामा दिएको हुनसक्ने उनको विरोधमा रहेका कर्मचारीहरुको भनाइ छ । संस्थान निर्देश बोर्डअन्तर्गत छनोट भएर सरकारसँग करार सम्झौता गरी निगमको नेतृत्व सम्हाल्न आइपुगेका उहाँले पद छोड्नु एक महिनाअघि नै पूर्वजानकारी दिनुपर्ने सम्झौतापत्रमा उल्लेख थियो । सोही अनुसार पूर्व जानकारी दिनका लागि कारण नखुलाई बिरामीको बहाना गरेको निगम स्रोतले बतायो । खरेलले महाप्रबन्धक पदबाट राजीनामा दिनुको बाहिरीभन्दा पनि आन्तरिक कारण नै रहेको निगम स्रोतको दाबी छ ।
निगममा बदनाम भनेर चिनिएका पूर्व नायब महाप्रबन्धक गणेश ठाकुरको माफिया ग्याङभित्र छिरेकाले पछिल्लो समय खरेल संकटमा पर्दै गएको बताइन्छ । माथिल्ला तहमा जो हाकिम आए पनि चाकडी–चाप्लुसी गरेर उनीहरूको निकट बन्ने र आफ्नो स्वार्थसिद्धी गरेरै छाड्ने कर्मचारीको घेरामा महाप्रबन्धक खरेल हुनुहुन्थ्यो । ठाकुरकै कार्यकालमा विश्वासी बनेर निगम डुबाउन मुख्य भूमिका खेलेका रमेशबहादुर शाह, अर्थ विभागका पूर्वनिर्देशक केशवराज आचार्य, ग्राउन्ड सपोर्ट विभागका कामु प्रबन्धक राजकुमार श्रेष्ठ, संस्थागत विभाग प्रमुख रामहरि शर्मा, अर्थ विभागका कामु उपनिर्देशक युवराज अधिकारी, मलेसिया शाखाका प्रमुख निमानन्द खनालको चंगुलमा उहाँ परेको बताइन्छ ।
खरेलको चाकडी गरेर सधैं नजिक रहनुको ती कर्मचारीहरूको उद्देश्य निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङको काम फुत्काउने, एयरबस ल्याएपछि नयाँ खोलिने स्टेसनमा जनरल सेल्स एजेन्ट (जीएसए) आफूअनुकूलको नियुक्ति गर्ने र कमिसन कुम्ल्याउने थियो । निगमलाई जसरी पनि धराशायी पार्न ठाकुरका पालादेखि नै काम गरिरहेका ती कर्मचारीको घेराभन्दा माथि उठ्न नसकेपछि खरेललाई महाप्रबन्धक पद फलामको च्युरा बन्दै आएको थियो । त्यसमाथि प्राविधिक पृष्ठभूमिबाट नआएकाले उहाँमा प्राविधिक ज्ञान कम भएको र निगमका वरिष्ठ प्राविधिकहरूसँग समन्वय गर्न नसकेकाले पनि समस्या खडा भएको थियो । पछिल्लो समय चीनले पठाएको जहाज उडान गर्न नसकेको, एयरबसको पहिलो उडान भारतसँग स्वीकृति लिन नसकेपछि अन्तिम चरणमा आएर स्थगित गर्नुपरेको र केही दिनअघि मात्र पनि मलेसियाका लागि उड्नुपर्ने विमान पाइलटको असहयोगको कारण उड्न सकेको थिएन । राति ११ बजे मलेसिया उडान गर्नुपर्ने जहाज पाइलट एसके धेवाजुको अनुपस्थितिका कारण यात्रुलाई त्यसै घर फर्काइएको थियो। ड्युटीमा आउनुपर्ने चालक मोबाइल स्विच अफ गरेर बसेका र मध्यरातमा गाडी लिएर घरमै लिन जाँदा पनि परिवारले घरमा हुनुहुन्न भनेर निगमका कर्मचारीलाई उसै फर्काएको थियो । एयर बस चलाउने तालिम लिन पाइलटहरूलाई फ्रान्स पठाउँदा उपयुक्त मान्छे चयन नगरेको र तालिम असफल भई फिर्ता आउनुपरेको थियो । त्यतिबेला डीएन राणा, एनबी विश्वकर्मालगायत फिर्ता आएका थिए । पाइलटहरूमा व्यापक गुटबन्दी चलाएर महाप्रबन्धकलाई असहयोग गर्ने कामको अगुवाइ ओमबहादुर गुरुङले गर्नुभएको थियो । उहाँलाई केही अघि मात्र केबी पौडेल क्षत्रीलाई विस्थापन गरी अप्रेसन विभागमा ल्याइएको थियो । पद चाहिने बेलामा ‘कमरेड’भन्दै कर्मचारी युनियनका नेताको दैलो चहार्ने उहाँ पर्यटनमन्त्री दीपकचन्द्र अमात्यको ठाडो आदेशमा सो विभागमा आउनुभएको थियो । तालिमबाट फिर्ता आएका क्याप्टेनहरूलाई असफलको संज्ञा दिँदै कुनै काम नदिई पेन्डिङमा राखेपछि वरिष्ठ पाइलटहरूले उहाँप्रति असहयोग गर्ने स्थान खोजिरहेका थिए । कुनै नयाँ प्रविधिको तालिममा अनफिट हँुदैमा कुनै गम्भीर गल्ती गरेजस्तो गरी कामै नदिएर जगेडा राख्न नियमले नमिल्ने थियो । तर, उहाँले ओमबहादुर गुरुङको सल्लाहमा केही वरिष्ठहरूलाई पेल्ने काम गर्नुभएको थियो । एयरबसको तालिममा पठाउँदा ट्विनअटर उडाइरहेका कनिष्ठ र पछिसम्म काम गर्ने अवधि बाँकी रहेका पाइलटहरूलाई छनोट गर्नुपर्नेमा अप्रेसन विभागको सिन्डिकेटका कारण पाइलटहरूमा आपसी मनमुटाव बढेको थियो । प्राविधिक ज्ञान शून्य भएकाले महाप्रबन्धक खरेलले कसलाई निर्देशक बनाउने वा कसलाई तालिममा पठाउने भनेर ठीक निर्णय लिन नसकेको बताइन्छ । इन्जिनियरिङ विभाग सशक्त पारेर आफ्नै वर्कसप चलाउन नसकेको तथा एक वर्षसम्म पनि यती एयरलाइन्सकै इन्जिन भाडामा लिएर सञ्चालन गरिँदै आएको थियो ।
खरेलले नयाँ ल्याएका जहाज उडान गर्न नसकेर पटक–पटक लामो समयसम्म ग्राउन्डेड गर्दा सरकार र सञ्चालक समितिसँग सम्बन्ध राम्रो बनाउन सक्नुभएको थिएन । त्यसमाथि सहयोग स्वरूप अनुदानमा प्राप्त जहाजहरू सञ्चालन हुन नसकेको हँुदा फिर्ता गर्नु उपयुक्त हुने मनसायले नेपाल सरकारलाई पत्र लेखेको कुरा सार्वजनिक भएपछि उहाँकै कारण नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धमा पनि खलल पुगेको आकलन गरिएको थियो । ग्राउन्ड सपोर्ट विभाग र यात्रु सेवा विभागमा बाह्य विमान सेवाहरूको ह्यान्डलिङका लागि आवश्यक मात्रामा जनशक्ति लगाउन नसकेको र अहिले पनि माओवादी पार्टी र संगठनप्रति वफादार भई मन्त्रीलाई चिढाउने काम गर्दै आएको बताइन्छ । त्यति मात्र होइन, माओवादीले नै सञ्चालक समिति सदस्यका रूपमा मनोनयन गरेका अशोकचन्द्र पोखरेल, अमरनारायण माली र टेकचन्द्र आचार्य पनि खरेलको क्रियाकलापबाट रुष्ट भई सञ्चालक समितिमा अध्यक्ष शिवशरण न्यौपानेको क्याम्पमा गएपछि उहाँ एक्लो हुनुभएको थियो। ग्राउन्ड सपोर्ट उपकरण खरिद नगरी ग्राउन्ड ह्यान्डलिङलाई लथालिंग पारेको र एमाले निकटका कर्मचारीहरूलाई मन्त्रीले भन्दा पनि छानी–छानी नियोजित रूपमा बढुवा नगरेको आरोप लागेको छ। अध्यक्ष न्यौपानेले महिनाको तीसै दिन जतिबेला पनि निगमको हरेक युनिटमा चौबीसै घन्टा अनुगमन गर्ने र त्यसबापत दिनको २ हजार भत्ता पाउने गरी गठन गरेको १ सदस्यीय कमिटी पनि कानुन विपरीत भएको भन्दै सतर्कता केन्द्रमा उजुरी दिन लगाएर खारेज गराएको भन्दै न्यौपाने खरेलदेखि निकै मुर्मुरिएका थिए । यसले पनि अन्तत: खरेल सबैको तारो र असहयोगपछि पद नै छाडेर भाग्ने मनस्थितिमा पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply