महामन्त्रीसँग गभर्नर साटफेर
काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा पार्टीको तेह्रौ महाधिवेशन गर्ने निर्णय गरेपछि ६ महिना अगाडिबाटै नेपाली कांग्रेसका नेताहरूलाई महाधिवेशनले छोएको छ । सरकार बाहिर रहेकाहरू सरकारका कमजोरी अगाडि सारेर महाधिवेशनमा आफ्नो स्थान सुरक्षित राख्ने दाउमा छन् भने सरकारमा रहेकाहरू सरकारी नियुक्तिमा चलखेल गरेर आफ्नो स्थान बलियो पार्ने खेलमा छन् ।
आगामी महाधिवेशनमा संस्थापन समूहबाट महामन्त्रीमा उठ्ने तयारीमा रहेका अर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नरसँग महामन्त्री पद साटफेर गरेका छन् । त्यही भएर आफूले नचाहँदा नचाहँदै डा. चिरञ्जीवी नेपाललाई गभर्नर बनाउन उनी बाध्य भएका छन् । खासमा महत पूर्वअर्थसचिव रामेश्वर खनाललाई गभर्नर बनाउन चाहन्थे । कसलाई गभर्नर बनाउने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषद् बैठक वा प्रधानमन्त्रीले गर्ने भए पनि मुख्य भूमिका अर्थमन्त्रीकै हुन्थ्यो । एक त त्यो प्रस्ताव मन्त्रिपरिषद्मा अर्थमन्त्रीले नै लैजानुपर्दथ्यो भने सिफरिस समितिको संयोजक पनि अर्थमन्त्री नै थिए । तर, उनले खनालको नाम तीन जनाभित्र पनि गरेनन् ।
स्रोतका अनुसार कसलाई गभर्नर बनाउने भन्ने कुरामा प्रधानमन्त्री सुशील कोइरालालाई खासै चासो थिएन । तर, बाचुन्जेल गिरिजाप्रसाद कोइरालाको आशीर्वाद रहेको भन्दै सुजाता कोइराला र सशांक कोइरालाको सद्भाव बटुलेका नेपाललाई गर्भनर बनाउनमा सुजाता र सशांककै जोडबलले काम गरेको स्रोतको दाबी छ । स्वर्गीय गिरिजाप्रसादको निकट रहेकै कारण विगतमा सुजाता परराष्ट्रमन्त्री हुँदा पनि उनकै विशेष जोडमा नेपाललाई सल्लाहकार बनाइएको थियो ।नेपाललाई गभर्नर बनाउन कोइराला परिवारबाटै थेग्न नसक्ने दबाब आएपछि पहिल्यैदेखि नै प्रधानमन्त्री कोइरालाले ‘गभर्नर कसलाई बनाउने भन्ने कुराको निर्णय म आफैं गर्छु’ भन्दै आएका थिए । तर, महतले नटेरेपछि उधारो महामन्त्री पदसँग गभर्नर साट्न महत बाध्य हुनुपरेको स्रोतको दाबी छ ।
संस्थापन कमजोर बन्दै
महतलाई महामन्त्रीका रूपमा अगाडि सारेपछि आगामी महाधिवेशनमा अहिलेको संस्थापन समूह कमजोर हुने आँकलन कांग्रेसवृत्तमा हुन थालेको छ । संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवालाई भोट दिए पनि बाहिर संस्थापन समूहकै भनेर चिनिने अर्जुननरसिंह केसीले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । महत र केसी एउटै जिल्ला नुवाकोटका भएकाले यी दुई नेताको टक्करले कांग्रेसको आन्तरिक राजनीतिमा प्रभाव पार्ने बताइन्छ ।
महतलाई संस्थापन समूहले महामन्त्रीको आश्वासन दिइसकेकाले केसीले सो समूहबाट महामन्त्रीको टिकट नपाउने भेउ पाइसेका छन् । यो अवस्थामा उनी अब देउवा समूहबाट
महामन्त्रीमा उठ्ने चर्चा छ । यसो हुँदा गगन थापा, अमरेशकुमार सिंहहरूले पनि देउवा समूहलाई नै सघाउने स्रोतको दाबी छ ।
संसदीय दलको निर्वाचनमै आफ्नो हैसियत ४० बाट बढाएर ४६ प्रतिशत पुर्याएका देउवालाई आगामी महाधिवेशनमा सभापतिमा पराजित गर्न संस्थापन समूहलाई फलामका च्यूरा चपाएसरह कठिन हुने बताइन्छ । देउवाको बलियो बन्दै गएको हैसियतदेखि डराएर संस्थापन समूहले अहिल्यैबाट सदस्यता वितरणमै मनोमानी गरेको छ । जिल्ला सभापतिमार्फत हुनुपर्ने सदस्यताको फर्म वितरण सोझै आफू निकट व्यक्तिमार्फत तल पठाएर संस्थापनले धाँधलीको बीउ रोपिसकेको छ भने देउवा समूहले पनि आफूले सकेको ठाउँमा आफूअनुकूल गर्न बाँकी राखेको छैन । हालै मात्र कैलालीमा उनले संस्थापन समूहका उपसभापतिलाई गलहत्ती लगाइदिएका थिए ।
त्यसो त, संस्थापन समूहमा हरेक पदका आकांक्षी धेरै हुनुले पनि देउवा समूहलाई सजिलो बनाइदिएको छ । सभापतिमै सो समूहबाट रामचन्द्र पौडेल, सशांक कोइराला, सुजाता कोइरालालगायतले इच्छा राखेका छन् । तर, ती कुनै पनि अनुहार देउवासँगको प्रतिस्पर्धामा कमजोर हुने बताइन्छ । अन्य पदमा पनि संस्थापन समूहलाई नेताहरूको व्यवस्थापन गर्न कठिन छ भने देउवा समूहमा त्यो कठिनाइ छैन ।
यसबाहेक पार्टीमा सानोतिनो भए पनि छुट्टै हैसियत बनाएका कुलबहादुर गुरुङ, खुमबहादुर खड्काहरूको साथ पनि अहिलेसम्म देउवालाई नै छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply