गृहमा बसेर धनराजका अनेक धन्दा
काठमाडौं । गृह मन्त्रालयमा सूर्य सिलवाल सचिव छन् । गृह मन्त्रालयका क्याडर नभए पनि आर्थिक मामिलामा राम्रै सघाउने बचन पाएका कारण गृहमन्त्री वामदेव गौतमले उनलाई छानेर मन्त्रालय भित्र्याएका हुन् । तर, पदले तल्लो तहका भए पनि मन्त्रालयमा अहिले उनलाई पनि चलाउने अर्का एक कर्मचारीको हालीमुहाली छ ।
गृह स्रोतका अनुसार, विधिवत् र औपचारिक रूपमा मन्त्रालयमा सिलवाल सचिव भए पनि आर्थिक कुरा जोडिएका सबै कुरा डिल गर्नका लागि गृहमन्त्री गौतमले धनराज ज्ञवाली नामक सहसचिवलाई खटाएका छन् । कर्मचारीवृत्तमा ‘द्रव्यपिशाच’ का उपनामबाट बढी चिनिने ज्ञवाली न गृह मन्त्रालयका क्याडर हुन् न त उनी प्रशासनतर्फका सहसचिव नै हुन् । फाइल बढुवाबाट गत वर्ष सहसचिव भएका कानुनतर्फका यी सहसचिवको फूर्ति हेर्दा मन्त्रालयमा सचिव को हो भनेर छुट्याउन गाह्रो भएको एक सहसचिवले बताए ।
यसअघि गृह मन्त्रालयमा उपसचिव तहका कर्मचारीले कानुन शाखा हेर्ने गरेका थिए । गौतम गृहमन्त्री भएपछि धनराजकै लागि भनेर एकाएक त्यसलाई महाशाखा बनाइयो र सेटिङ अनुसार त्यहाँ उनलाई ल्याइयो । त्यसपछि धनराजको फूर्ति खपिनसक्नु हुने क्रम सुरु भइहाल्यो ।
गृहमन्त्री गौतमले नै आर्थिक सेटिङ गर्ने र त्यससम्बन्धी काम गर्ने सम्पूर्ण अधिकार उनै धनराजलाई दिएपछि चुरीफुरी पनि किन नबढोस् । जस्तो– बढीमा २० करोडमा हुन सक्ने भनेर अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा फ्याँकेर भिसा प्रोसेसिङको जिम्मेवारी विदेशी कम्पनीलाई दिनुपर्छ भनेर दह्रो एजेन्टको काम पनि तिनै धनराजले गरेका थिए । यतिसम्मकि, त्यस्तो प्रतिवेदन तयार गर्ने ढकाललाई काभ्रे लखेटेर अख्तियारको निगरानीमा रहेका केदार न्यौपानेलाई अध्यागमनको महानिर्देशक बनाउने खेलमा पनि तिनै धनराज लागेका थिए ।
यतिसम्मकि, देशका गोप्य सूचना विदेशी कम्पनीलाई दिने गरी भिसा प्रोसेसिङको काम दिनुहुन्न भनेर सार्वजनिक अभिव्यक्ति दिने नेतालाई पनि आफूले भेटेर ठीक पार्ने दाबी धनराजले गृह मन्त्रालयमा गर्ने गरेका छन् । ‘एक छिन कराउँछन्, पछि मान्छन् नि’ भन्दै हौसिने स्वभावका गृहमन्त्री गौतमलाई उकास्ने काम पनि यिनैले गर्ने गर्दछन् । जम्मा १० कक्षासम्मको अध्ययन भएका र नियम–कानुनको केही थाहा नभएका गृहमन्त्री गौतमको बाध्यताको फाइदा धनराजले लिइरहेको मन्त्रालयका एक अधिकारी बताउँछन् । उनी भन्छन्– ‘यतिसम्मकि कुन फाइलमा के लेख्ने भन्ने कुरा पनि पहिला धनराजले लेख्छन् अनि मन्त्रीज्यूले चिट चोरे जस्तो सार्नुहुन्छ । यति परनिर्भर भइसकेपछि मान्छे नमात्तिएर के गरोस् त ?’
गृहमन्त्री गौतमलाई सघाउन भनेरै अर्थ मन्त्रालयबाट सल्लाह अनुसार गृहमा ल्याइएका सहसचिव कृष्ण देवकोटा पनि धनराजको व्यवहारबाट आजित छन् । ‘यो मान्छे जति नसकिने भयो’ भन्दै मन्त्रालयमा उनी पनि दिक्दारी व्यक्त गर्ने गर्छन् । कार्यालयमा मात्र होइन, मन्त्री गौतम बस्ने सरकारी निवासमा पनि धनराजको उस्तै हप्कीदप्की देखिने त्यहाँ नियमित गइरहने एक अधिकारीले बताए । उनका अनुुसार, धनराज त्यहाँ पुग्दा तल रोकिँदैनन् । सीधै मन्त्री पत्नी तुलसा थापा कहाँ छन्, त्यहीँ पुग्छन् ।
विदेशी डीभी र पीआर लिने कर्मचारीका विरुद्धमा कडा कदम चाल्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि उनका अगाडि निरीह देखिएका छन् । भरत सुवेदी जस्तै उनको पनि विदेशी पीआर भए पनि केही गर्न सकेका छैनन् । चाकडी, चाप्लुसी र आर्थिक धन्दामा माहिर तिनै धनराज हुन्, जो आफूलाई एमाले दाबी गर्छन् तर, मधेसका राजकिशोर यादव सूचना तथा सञ्चारमन्त्री हुँदा नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य पड्काएका थिए । गृह मन्त्रालयमा आए पनि उनी अहिलेसम्म बोर्ड सदस्यका रुपमा कार्यरत छन् । दूरसञ्चारको फ्रिक्वेन्सी प्रकरणमा उनको चलखेल तीब्र हुन्छ । विभिन्न व्यापारिक कम्पनीले फ्रिक्वेन्सी माग गर्दा नेताको नाम भजाउँदै उनी निश्चित कम्पनीको लबिङमा सक्रिय रहेका हुन्छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply