ओलीलाई उत्तरको ताकेता
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो देश भ्रमणका लागि उत्तरी छिमेकी चीनले निमन्त्रणा दिएको छ । केही समय पहिला नै निमन्त्रणा दिइसकेको चीनले भ्रमण कहिले हुन्छ भनेर सोधखोज गर्दै ताकेता पनि गरिरहेको थाहा भएको छ ।
लामो समयदेखि मित्रवत् र भाइचारा सम्बन्ध रहेका चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा (एमाले)का बीचमा बेलाबेलामा उच्चस्तरीय भ्रमणहरू हुने गरेका छन् । यसै साता एमालेको निमन्त्रणमा नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलको भेटको सेरोफेरोमा पनि ओलीको भ्रमणका बारेमा कुराकानी भएको स्रोत बतायो ।
स्रोतका अनुसार, अध्यक्ष ओली चीन भ्रमण गर्न इच्छुक हुनुहुन्छ । केही समयअघि बेइजिङ पुगेका एमालेका नेताहरूसँग पनि चिनियाँ पक्षले उहाँको भ्रमणका बारेमा चासो राखेको थियो । हालै चीन भ्रमणबाट फर्किनुभएका एमालेका नेता गोकुल बाँस्कोटाले भन्नुभयो– ‘हामीले बेइजिङमा अध्यक्ष कमरेडको भ्रमणको प्रतीक्षा भइरहेको पाएका छौं ।’ स्रोतका अनुुसार, समकक्षीका रूपमा अध्यक्ष ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिङपिङसँग भेटघाटका लागि समय मिलाउने प्रयास भइरहेको छ । राष्ट्रपति रहेका कारण उहाँको समय व्यस्त रहने भएकाले मात्रै भ्रमणमा ढिलाइ भएको हुन सक्ने अनुमान छ ।
राजदूतसँग अन्तरंग सम्बन्ध
प्राय: चिनियाँ कूटनीतिज्ञहरू औचपारिक हुन्छन् भन्ने मान्यता चिर्दै नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईको एमाले अध्यक्ष ओलीसँग अन्तरंग सम्बन्ध छ । प्राय: औपचारिक कार्यक्रममा मात्र सहभागी हुने, त्यसमा पनि सोचविचार गरेर मात्रै जाने चिनियाँ परम्परा नै छ । तर, यतिसम्मकि अध्यक्ष ओलीको जन्म दिन पारेर उहाँकै निवासमा आयोजना गरिएको नितान्त व्यक्तिगत कार्यक्रममा पनि राजदूत चुन्ताई उपहार बोकेर पुग्नुले उहाँहरूबीच हार्दिक सम्बन्ध प्रस्ट पार्दछ । त्यस दिन राजदूत चुन्ताईले ओलीलाई शुभकामना मात्र दिनुभएन, त्यहाँ आयोजित कार्यक्रममा लामो समय बिताउनुभयो ।
त्यस्तै, नेपाली नयाँ वर्षको मौका पारेर अध्यक्ष ओलीले झापा आन्दोलनका सहयात्रीहरूका लागि भनेर आयोजना गरेको कार्यक्रममा पनि राजदूत चुन्ताई पुग्नुभएको थियो । त्यहाँ पनि उहाँले ओलीलाई कोठामा भेटेर शुभकामना दिएर फर्किनुभएन, औपचारिक कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।
अध्यक्ष ओली निकट स्रोतका अनुसार, यसबीचमा उहाँहरूबीच अरू पनि अनौपचारिक छलफलहरू भएका छन् । अध्यक्ष ओलीले संघीयताका पक्षमा लिएको राष्ट्रवादी अडानलाई प्रोत्साहन गर्न चीनले चाहेको रूपमा यसलाई बुझिएको छ । आफैं मुख खोलेर केही नभने पनि चिनियाँ कूटनीति अनुसार यसरी महत्त्व दिनुको पक्कै पनि विशेष अर्थ रहेको कूटनीतिक वृत्तमा चर्चा छ ।
अध्यक्ष ओलीले गत महिना राजदूत चुन्ताईसहित चिनियाँ दूतबासका स्टाफहरूका लागि गोकर्ण रिसोर्टमा रात्रिभोज आयोजना गर्नुभएको थियो । त्यसमा सहभागिताकालागि एमालेका केही सीमित नेतालाई पत्नीसहित निम्ता पनि गरिएको थियो । तर, अघिल्लो दिन शनिबार पोखरा पुगेका राजदूत चुन्ताई अन्तिम घडीमा खराब मौसमका कारण राजधानी फर्किन नसेकपछि दिउँसो १२ बजे फोन गरेर असमर्थता जनाएका कारण अन्तिम घडीमा रद्द भएको थियो । स्रोतका अनुसार, त्यस्तै प्रकारको रात्रिभोज छिट्टै आयोजना गरिँदैछ ।
भारत भ्रमणको पनि चर्चा
विगतमा उपचारका लागि पटक–पटक भारत गइरहनुहुने ओली एमालेको अध्यक्ष निर्वाचित भएपछि भने भारत जानुभएको छैन । स्रोतका अनुसार, अध्यक्ष ओलीले भारत सरकारबाट भ्रमणका लागि औपचारिक निम्तो पाउने अपेक्षा राख्नु अस्वाभाविक थिएन । तर, नेपालका नेताहरू कि दास कि लास बन्ने नियतिबाट सचेत ओलीले पछिल्ला दिनमा राखेका अडानका कारणले निम्ता नआएको विश्लेषण भइरहेको छ । स्रोतका अनुसार, भनेर भन्दा नभनेरै धेरै कुुरा गरिने कूटनीतिक वृत्तमा स्वास्थ्य परीक्षणका लागि आउँदो साता अध्यक्ष ओली दिल्लीको साटो बैंकक जानुलाई पनि यससँगै जोडिएको छ ।
यसअघि एमाले उपाध्यक्ष विद्या भण्डारी दिल्ली जाँदा र भाजपा उपाध्यक्ष भगतसिंह कोसियारी नेपाल आउँदासमेत भ्रमणका बारेमा विस्तृत कुरा भए पनि केही परिणाम निस्केको छैन । यतिसम्मकि, दुई साताअघि नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा भारतका गृहमन्त्री राजनाथ सिंहका सम्धी (पूर्वमन्त्री) नारायणसिंह राणालाई अध्यक्ष ओलीले घरमै स्वागत गर्दा र उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमले गोकर्ण रिसोर्टमा रात्रिभोज दिएपछि त भ्रमणका बारेमा केही हुन्छ भन्ने अनुमान गरिएको थियो । राणाले भारत फर्केर त्यहाँका गृहमन्त्री र यहाँका गृहमन्त्रीबीच टेलिफोनमा कुरा गराए पनि बाँकी काम चाहिँ अघि बढेन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply