विमानस्थलमै ओली पड्किए– ‘राष्ट्रपति गरिमामा बस्नुपर्छ’
काठमाडौं । स्वास्थ्य उपचारका लागि पाँच दिनअघि थाइल्यान्डको राजधानी बैंकक गएका एमाले अध्यक्ष केपी ओलीले मंगलबार स्वदेश फर्किनासाथ १६ बुँदे सहमति भाँड्न भइरहेको कोसिसप्रति आपत्ति प्रकट गर्नुभएको छ । राष्ट्रपतिबाट उक्त सहमतिका विरुद्धमा गतिविधि भएको थाहा पाएका ओलीले उहाँलाई आफ्नो मर्यादामा बस्न सम्झाउनुभएको छ ।
‘राष्ट्रपति सेरेमोनियल हुनुहुन्छ, मलाई विश्वास छ उहाँले त्यो पदमा बसेर राजनीति गर्नु हँुदैन भन्ने बुझ्नुभएको होला’– ओलीले सम्वाददाताहरूसँग भन्नुभयो– ‘यसबाहेक अन्यथा गर्न मिल्दैन ।’ आठ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेयता अध्यक्ष ओलीले बेलाबेलामा दिल्ली, बैंकक र सिंगापुरमा उपचार गराउँदै आउनुभएको छ । यसपटक फलोअपका लागि उहाँ त्यसतर्फ जानुभएको थियो । बैंकक हुँदै सिंगापुरसम्म पुग्नुभएका ओलीको स्वास्थ्य राम्रो रहेको चिकित्सकहरूले बताएका छन् । अध्यक्ष ओलीले सहमतिका साथ संविधान जारी गर्नका लागि चार दलका बीचमा सहमति भएको र त्यही अनुसार आगामी दिनमा छिट्टै संविधान जारी हुने विश्वास पनि दिलाउनुभयो उहाँले सर्वोच्च अदालतको पछिल्लो आदेश राजनीतिक र अन्य उद्देश्यबाट प्रेरित भएर आएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘संविधानसभालाई कुनै आदेश र फैसलाले प्रभावित पार्न सक्दैन, संविधान चाँडै जारी हुन्छ ।’ उहाँले अन्तरिम संविधानका धारा र दफाले संविधानसभालाई आङ्खनो काम गर्न रोक्न नसक्ने समेत दाबी गर्दै प्रश्न गर्नुभयो– ‘अन्तरिम संविधान अनुसार मात्रै संविधान बनाउने हो भने त किन चाहियो संविधानसभा ?’
अध्यक्ष ओलीले सर्वोच्च अदालतको पछिल्लो आदेशले ०५२ को सर्वोच्चको विवादस्पद फैसलाको पुनरावृत्ति गराएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘०५२ भदौ १२ गतेको एउटा विवादास्पद फैसलाले मुलुकलाई २० वर्षपछि धकेल्यो, अहिलेको फैसला पनि न्यायिक नभएर राजनीतिक देखियो ।’
अध्यक्ष ओलीलाई स्वागत गर्न विमानस्थलमा कार्यबाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरू पुग्नुभएको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply