एमालेमा चियाको कपमा तुफान
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्ति प्रकरणलाई लिएर एमालेभित्र उत्पन्न विवाद मत्थर भएको छ । अघिल्लो दिनसम्म खेलकुद मन्त्रीलाई कारबाही गरेरै छाड्छु भन्दै वरिष्ठ नेता माधव नेपालाई फोनमा हाकाहाकी हाँक दिने अध्यक्ष अध्यक्ष केपी ओलीले सोमबार त्यो विषय केही पनि होइन भनेर हल्का बनाइदिएपछि विवाद मत्थर भएको ठानिएको छ ।
राखेपको सदस्य–सचिवमा पार्टी निकट खेलकुद महासंघका कार्यबाहक अध्यक्ष केशवकुमार विष्टलाई नियुक्त गरेपछि असन्तुष्ट अध्यक्ष ओलीले खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई निर्णय सच्चाउने वा नसच्याए मन्त्रीबाट हटाउने अल्टिमेटम दिएपछि ओलीको कार्यशैली स्वेच्छाचारी भएको भन्दै पार्टीभित्र हस्ताक्षर अभियानसमेत सुरु भएको थियो । आइतबार नै मन्त्री पौडेललाई बर्खास्त गर्ने तयारीमा रहेका अध्यक्ष ओली हस्ताक्षरका कारण त्यसबाट ‘ब्याक’ भएको बताइन्छ । त्यसो त यही प्रकरणलाई लिएर शनिबार राति अध्यक्ष ओली र नेता नेपालबीच फोनमा चर्काचर्की परेको थियो । नेपालले फोन गरेर ओलीलाई ‘पार्टीको विधि विधानभन्दा बाहिर गएर आफूखुसी मन्त्री हटाए राम्रो नहुने’ चेतावनी दिएका थिए । जवाफमा ओलीले पनि ‘अध्यक्षलाई नटेर्ने मन्त्री राख्दिनँ’ भनेका थिए ।
नेताहरूबीचका यी घटनाक्रम हेर्दा एमालेमा ठूलै विवाद हुन्छ कि भन्ने चिन्ता छाएको थियो । तर, सोमबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले त्यस विषयलाई केही पनि होइन जस्तो रूपमा प्रस्तुत गरेका थिए । अघिल्लो दिन त्यही विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग भनाभनमा उत्रिएका ओलीले भोलिपल्ट उक्त कार्यक्रममा ‘पार्टीमा कुनै समस्या नभएको’ भनेका थिए । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भने– ‘म अध्यक्ष हुँ, पार्टीभित्र केही भएको भए मलाई थाहा हुनुपर्ने हो तर केही मान्छे भेला गर्दै हिँडेका छन्, हस्ताक्षर गरेर ताउर–माउर गरिरहेका छन्, यो सब किन गरिरहेका छन् म बुझ्दिनँ ।’ कार्यक्रमा उनले पार्टीमा कुनै विषयमा छलफल गर्नुपर्ने भए आफू स्थायी, पोलिटब्युरो वा केन्द्रीय कमिटीको बैठक बोलउन तयार रहेको पनि बताएका थिए । पार्टीमा बैठक नबसाई, छलफल नगरी आफूखुसी ओलीले मन्त्री नियुक्ति, बर्खास्ती गर्ने गरेको आरोप पार्टीभित्र बाटै लाग्ने गरेको थियो । एक पोलिटब्युरो सदस्यले भने– ‘यदि अध्यक्ष ओलीको यो स्वेच्छाचारिताविरुद्ध हस्ताक्षर अभियान नचलाइएको भए उनी यसरी गल्ने नै थिएनन्, पार्टीलाई खल्तीबाट चलाउन झन् प्रोत्साहित हुने थिए ।’
विगतका एकल निर्णयका घटनालाई बिर्सेर पछिल्लो समयमा अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएर मुलुकको पुनर्निर्माण गर्ने अभियानमा लाग्ने कुरामा एमाले पंक्ति एक ढिक्का देखिएको छ । यस्तो बेला उक्त वातावरण नै बिगार्ने गरी सदस्य–सचिव नियुक्ति जस्तो सानो–तिनो विषयमा अल्झन अध्यक्ष ओलीलाई कसले उकासिरहेको छ भन्ने प्रश्न एमाले वृत्तमा जबर्जस्त रूपमा उठेको छ । वरिष्ठ नेता नेपाल स्वयम् ओलीलाई प्रधानमन्त्री बनाउने अभियानमा लागिरहेका बेला दुई नेताबीच दूरी बढाउने गरी विवाद निकालिनु र त्यसका लागि अध्यक्ष ओली स्वयम् अग्रसर हुनुलाई आश्चर्यका रूपमा हेरिएको छ । ओली पक्षीय एक नेताले भने– ‘नहुनुपर्ने काम भएको छ । अध्यक्षबाट गलत समयमा कदम चाल्न खोजिएको छ । यसका लागि पार्टीमा मेलमिलाप हुन दिन नचाहने पक्ष उत्साहित भएको छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply