खगराजलाई अरूकै प्रिय
काठमाडौं । केही दिनअघि स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफूमातहतको दुई निकायमा गरेका नियुक्तिले उनलाई विवादको घेरामा तानेको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री भएका अधिकारीले एक जना कट्टर एमाओवादी र अर्का कांग्रेस निकटका व्यक्तिलाई दुई महत्त्वपूर्ण निकायमा नियुक्त गरेर एमाले समर्थकलाई लोप्पा खुवाइदिएका छन् ।
आफ्नै पार्टीमा आस्था राख्ने सक्षम व्यक्तिहरू हुँदाहुँदै मन्त्री अधिकारीले किन एमाओवादी र कांग्रेसका सक्रिय व्यक्तिहरूलाई रुचाएका होलान् ? अहिले एमालेवृत्तमा यो प्रश्न व्यापक रूपमा उठेको छ । केही दिनअघि मात्रै मन्त्री अधिकारीले राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी–निर्देशकमा डा.बुलन्द थापालाई नियुक्त गरेका थिए । विगतमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)को कार्यकारी–निर्देशकमा रहँदा निकै विवादमा आएका डा.थापालाई रहस्यमय रूपमा मन्त्री अधिकारीले नियुक्त गरेको बताइन्छ । विगतमा एमाओवादीका स्वास्थ्यमन्त्री रहेका बेला एमाओवादीको पार्टी सदस्यता लिएर डा. थापा न्याम्सअन्तर्गतको वीर अस्पतालका कार्यकारी–निर्देशक भएका थिए । न्याम्समा रहँदा उनले अरू राजनीतिक पार्टीप्रति आस्था राख्ने चिकित्सकहरूलाई निकै हैरान तुल्याएका थिए । उनको दबदबा खप्न नसकेर अरू पार्टीका चिकित्सकहरूले उनीविरुद्ध आन्दोलन नै छेडेका थिए ।
न्याम्सको कार्यकारी–निर्देशक रहेकै बेला उनीमाथि अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत गरेको थियो । आयोगले छानबिन गर्दा उनले अनियमितता गरेको पाइएको थियो । आयोगका साथै उनीमाथि राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरेको थियो । दुवैको छानबिनमा उनी दोषी ठहर भएका थिए । विगतमाएमाओवादीको बिल्ला भिरेर अरूलाई सताउने र अख्तियारले समेत डामेका व्यक्तिलाई मन्त्री अधिकारीले किन ट्रमा सेन्टरको कार्यकारी–निर्देशक बनाए ? अहिले यो प्रश्न गम्भीर रूपमा उठ्न पुगेको छ ।
यसैगरी, गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी–निर्देशकमा नियुक्त गर्दा पनि मन्त्री अधिकारीले अरू नै कारणलाई प्राथमिकता दिएका छन् । मन्त्री अधिकारीले केही दिनअघि मात्रै उक्त केन्द्रको कार्यकारी–निर्देशकमा कालो कांग्रेस भनेर चिनिने डा.ज्योतेन्द्र शर्मालाई नियुक्त गरेका थिए । इलामतिर घर भएका डा.शर्मालाई नियुक्त गर्नुमा स्वास्थ्य मन्त्रीलाई खुसी पार्नु मुख्य कारण रहेको बताइन्छ ।
डा.शर्मालाई नियुक्त गर्ने क्रममा बिचौलियाको भूमिका भने अहिले मन्त्री अधिकारीको अत्यन्तै निकट रहेका स्वास्थ्य मन्त्रालयका उपसचिव लीलामणि पौडेलले निभाएको बताइन्छ । मन्त्री अधिकारीसँग डा.शर्माको सम्बन्ध बढाउने काम पनि उनै पौडेलले गरेका थिए । उक्त केन्द्रको कार्यकारी–निर्देशक पदमा एमालेनिकट स्वास्थ्यकर्मीहरूले डा.श्याम रेग्मीलाई पठाउने निर्णय गरेका थिए । डा.रेग्मीलाई एमालेआबद्ध शाखा कमिटी, इलाका कमिटी, पेसागत जिल्ला कमिटी र केन्द्रीय स्वास्थ्य विभागले उक्त केन्द्रमा पठाइनुपर्ने भन्दै नाम सिफारिस गरेको थियो । तर, मन्त्री अधिकारीले डा.रेग्मीको नामप्रति बेवास्ता गर्दै कांग्रेसनिकट डा.शर्मालाई नियुक्त गरेका हुन् । अख्तियारको लफडा नभएको भए कांग्रेसनिकट अर्का चिकित्सक रमेश कोइरालालाई नियुक्त गर्ने मन्त्री अधिकारीको योजना थियो ।
यसैबीच, डा.शर्मा उक्त केन्द्रको कार्यकारी–निर्देशक भएलगत्तै उपसचिव पौडेलले भने उनीसँग फाइदा उठाइसकेका छन् । अहिले गंगालाल हृदय केन्द्रभित्र करिब ६ करोडको लगानीमा पेइङ भवन निर्माण हुन लागिरहेको छ । उक्त भवनको परामर्शदाता भनेर पौडेललाई नियुक्त गरिएको छ । आफूलाई निर्देशक बनाएको गुन तिर्नकै लागि डा.शर्माले पौडेललाई परामर्शदातामा नियुक्त गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply