सुब्बाका भरमा दूतावास
काठमाडौं । छिमेकीको नाकाबन्दीका कारण बढीभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको बेला नेपालका एक तिहाइभन्दा बढी दूतावास भने बेवारिसे अवस्थामा छन् । तपाईंलाई अचम्म लाग्ला, संकटको यस घडीमा नेपालका कतिपय दूतावास त नायब सुब्बाका भरमा चलेका छन् । परराष्ट्रमन्त्री भइसकेका केपी ओली प्रधानमन्त्री भएको दुई महिना पुग्नै लाग्दा पनि अन्तर्राष्ट्रिय तहमा त्यसरी बेइज्जत हुने क्रम रोकिएको छैन । जापानमा चार वर्ष सफलतापूर्वक पूरा गरी उच्च सम्मानका साथ राजदूत डा. मदनकुमार भट्टराईले सोमबार टोकियो छोडेसँगै त्यहाँको दूतावासको जिम्मा नायब सुब्बा रेवन्तबहादुर केसीमा आइपुगेको छ । राजदूतको अनुपस्थितिमा कार्यबाहक राजदूत (चार्ज डे अफेयर्स)का रूपमा ठूला मुलुकमा सहसचिव र साना मुलुकमा उपसचिवले केही समय काम गर्ने चलन भए पनि परराष्ट्र मन्त्रालयको अदूरदर्शिताका कारण जापान जस्तो नेपालको हितैषी, विकास साझेदार र प्रतिकूल अवस्थामा संविधान आउँदा दुई पटक वक्तव्य निकालेर स्वागत गरेको मुलुकलाई बेवास्ता गरेको अनुभूति भएको छ । नियोग उपप्रमुख तापश अधिकारी एक साताअघि बिदा भएर फर्किएपछि दूतावासमा नायब सुब्बा केसी एक्लै छन् । उपसचिव अधिकारीले छोराछोरीको पढाइ बीचैमा रहेकाले ६ महिना थपिपाऊँ भनेर रोइकराइ गर्दा पनि बेवास्ता गरेका परराष्ट्र नेतृत्वले दूतावास रिक्तै हुँदासमेत नयाँ मान्छे पठाउन सकेको छैन । त्यहाँ पोस्टिङ गरिएका उपसचिव गेहेन्द्र राजभण्डारी मंसिरको १८ गते सहसचिवको जाँच छ भनेर पढ्नमै व्यस्त छन् भने नयाँ दरबन्दीमा खटाइएका शाखा अधिकृत टोपनारायण गिरी पनि पुगेका छैनन् ।
जापान त एउटा उदाहरण मात्रै हो । त्यस्ता मुलुकको संख्या धेरै छ । सुशीलचन्द्र अमात्य फर्किएपछि खाली रहेको श्रीलंकास्थिति दूतावास पनि नायब सुब्बाकै भरमा छ । जापानमा जस्तै त्यहाँ पनि नायब सुब्बा धनकुमारी जोशीले एक्लै दूतावास कुरिरहेकी छन् । सबभन्दा लामो समयदेखि दूतावास खाली रहेको जर्मनीमा उपसचिव प्रकाशमणि पौडेल, बेलायतमा उपसचिव तेजबहादुर क्षेत्री, बहराइनमा शाखा अधिकृत खगराज पाण्डे, साउदी अरबमा उपसचिव आनन्द शर्मा, इजिप्टमा शाखा अधिकृत कौशलकिशोर रायको जिम्मामा दूतावास छ । सोमबारबाट खाली भएको बंगलादेशमा कार्यबाहक बन्ने मौका पाएका उपसचिव सुशीलकुमार लम्साल सहसचिवको जाँच दिन भन्दै काठमाडौंमा छन् ।
परराष्ट्रका एक अधिकारीले भने, ‘यदि सुब्बासम्मको तहमा दूताबास छोड्न मिल्ने हो र तिनीहरूबाटै काम चल्ने हो भने त्यसभन्दा माथिको तहका कर्मचारीलाई किन पठाउनुपर्यो र ?’ उनका अनुसार, परराष्ट्र मन्त्रालयको कर्मचारी नेतृत्वको गैरजिम्मेवारीका कारण यस्तो देखिएको हो । उनले थपे, ‘ठीक छ, हामीले चाहेर मात्रै राजदूत नियुक्त गर्न सक्दैनौं । तर, हाम्रा कर्मचारीको पोस्टिङ नियमित रूपमा गर्न नसकेको दोष पनि अरूलाई दिन मिल्छ ?’
परराष्ट्र नेतृत्वको ध्यान राजदूतमै
परराष्ट्र मन्त्रालयका माथिल्ला अधिकारीहरूको ध्यान भने दूतावास कसरी सुधार गर्नेभन्दा पनि राजदूत कसरी पाइन्छ वा आफ्ना लागि आकर्षक ठाउँ कहाँ हुन्छ भन्नेमै केन्द्रित देखिन्छ । परराष्ट्र सचिव जस्तो सबै राजदूतहरूलाई निर्देशन दिने, उनीहरूको रिपोर्ट लिने, नीति विश्लेषण गर्ने र मुलुकको परराष्ट्र नीति परिचालन गर्ने जिम्मा बोकेकाहरू समेत आधा कार्यकाल बाँकी छँदै राजदूत तम्सिनुले नै उनीहरूको मानसिकता स्पष्ट हुने परराष्ट्रकै एक पूर्वअधिकारी बताउँछन् । ज्ञानचन्द्र आचार्य त्यसका एक उदाहरण हुन्, जो कार्यकाल बाँकी छँदै राजदूत भएर न्युयोर्क मात्र गएनन्, नेपाल सरकारको सचिव हुँदाहुँदै यता अनुमति नलिएरै संयुक्त राष्ट्रसंघमा जागिर खान गए । उनलाई पनि उछिन्दै पछि दुर्गाप्रसाद भट्टराईले सचिव हुनासाथ संयुक्त राष्ट्रसंघतिर आँखा लगाए पनि पछि नियुक्ति सुनिश्चित गर्नैका लागि सबभन्दा छोटो समय सचिव बनेका अर्जुनबहादुर थापा सार्कको महासचिव छन् ।
दुबसु दौडमै व्यस्त
अहिले ११ दूतावास रिक्त भएपछि सहसचिवहरूको भित्रभित्रै दौड तीव्र छ । परराष्ट्र मन्त्रालयको कोटाबाट राजदूत भइसकेककाले यसअघि रिक्त रहेका नौ देशमा परराष्ट्र सेवाबाहिरबाट राजदूत नियुक्त गर्ने निश्चित रहे पनि थप दुई मुलुक रिक्त भएपछि परराष्ट्रमा सल्बलाहट सुरु भएको छ । त्यसमा सबभन्दा अघि देखिएका छन्, झापाली दुबसु क्षेत्री । महेन्द्रबहादुर पाण्डेका पालामा सचिव शंकरदास बैरागीलाई जतिपटक भन्दा पनि उनले प्रशासन महाशाखाबाट हटाउन नसकेका क्षेत्री अहिले थप बलिया बनेका छन् । कांग्रेस सत्तामा हुँदासम्म खाँटी कांग्रेसका रूपमा कृष्णप्रसाद सिटौलालाई प्रयोग गर्ने क्षेत्रीले अहिले झापाकै प्रधानमन्त्री भएको बेला उनको सचिवालयलाई दुरूपयोग गर्ने भरमग्दुर कोसिस गरिरहेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीका मामाका छोरा यादव खनाल (अवकाश प्राप्त उपसचिव र भनसुनका भरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यरत)लाई प्रयोग गरिरहेका छन् । परराष्ट्रभित्र उनीहरू एउटै ड्याङको मुलाका रूपमा परिचित छन् ।
त्यति मात्र नभई उनले परराष्ट्रमन्त्री कमल थापालाई प्रभावित पार्नका लागि दूबोको मालाको व्यवस्था गर्नेदेखि एक्लै भेटेर फलानो यस्तो छ, अर्को यस्तो छ भन्दै रिपोर्ट पनि गरिभ्याएका छन् । तर, उनको एउटा हर्कतबाट चाहिँ मन्त्री थापा स्वयम् आश्चर्यचकित भएको उनी निकट स्रोतले बताएको छ । राजदूत हुनका लागि कस्सिएका उनले आफ्नो बायोडाटा मन्त्री थापासमक्ष पेस गरेका रहेछन् । त्यसको सबभन्दा माथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामकुमार दाहालको एउटा सिफारिसपत्र रहेछ, जुन देखेर थापा स्वयम् आश्चर्यचकित परेका रहेछन् । थापाले आफ्ना निकटसँग बताए अनुसार, त्यस सिफारिसपत्रमा प्राध्यापक दाहालले क्षेत्रीको प्रशंसा गर्दै अहिलेसम्म संसारमा कसैले पीएचडी नगरेको विषयमा उनले पीएचडी गरेको उल्लेख गरेका छन् । स्रोतले भन्यो, ‘जबकि पीएचडी गर्ने भनेकै कसैले नगरेको विषयमा हो । त्यत्रो प्राध्यापकले के लेखेको होला ?’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply