प्रधानमन्त्रीसँग पूर्वमन्त्रीको बिलौना
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सरुवाबढुवा, नियुक्ति, विकास परियोजना आदिसँग सम्बन्धित गुनासो लिएर सत्तारूढ दलका नेता–कार्यकताको भीड लाग्नु स्वाभाविक कुरा हो । यस्ता गुनासो लिएर आउने पार्टीका नेता–कार्यकर्ताको गुनासो सकेसम्म आफैंले सुनेर सम्झाइबुझाइ फर्काउने र प्रधानमन्त्रीसम्म पुर्याउनुपर्ने भए प्रधानमन्त्रीलाई भेट्टाउनमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारी अभ्यस्त भइसकेका छन् ।
तर केही दिनअघि सत्तारूढ दल राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी भिन्नै गुनासो लिएर प्रधानमन्त्री निवासमा छिरे । पञ्चायतकालदेखि नै पटकपटक मन्त्री हुँदै आएका त्यो तहका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको समय नै लिएर भेट्न आएपछि सचिवालयले नभेट्टाउने कुरै भएन । प्रधानमन्त्रीसमेत भइसकेका आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई त दुई घण्टा बाहिर कुराउने प्रधानमन्त्री ओलीले ती नेतालाई पनि लामो समय बाहिर कुराए । प्रधानमन्त्रीलाई कुर्दा पनि निकै छटपटिइरहेका लोहनीको खास समस्या के होला भन्ने कुराले सचिवालयका कर्मचारीलाई पनि कौतूहलता जगायो । उनीहरूलाई लागेको थियो, परराष्ट्र मन्त्रीसमेत भइसकेका नेता भएकाले पक्कै पनि प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे केही सुझाव दिन आएका होलान् । तर, जब लोहनीले प्रधानमन्त्री ओलीलाई भेटेपछि निजी गुनासो पोख्न थाले, नजिकै बसेका प्रधानमन्त्रीका स्वकीय सचिव नै आश्चर्यचकित भए । खासमा उनी प्रधानमन्त्रीकोमा धुम्बाराहीस्थित निवासमा डोजर चलाउन रोकिदिनुपर्यो भन्न गएका रहेछन् । सडकको मापदण्ड मिचेर
बनाएको घरको केही भाग भत्काउन महानगरपालिकाले लोहनीलाई निरन्तर पत्राचार गरेको थियो । ‘अहिले त घर भत्काउन डोजर नै पठाउने जानकारी गराएकाले यहाँ आएको’ भन्दै लोहनीले प्रधानमन्त्री ओलीसमक्ष डोजर रोकिदिन आग्रह गरेका थिए । यति भनेपछि प्रधानमन्त्रीले आफ्नो समस्या सल्टाउलान् भन्ने लोहनीलाई विश्वास थियो । तर आफ्नै सामुन्ने प्रधानमन्त्री ओलीले फर्काएको जवाफले लोहनी झन् मर्माहत हुन पुगेका थिए ।
लोहनीका कुरा सुनिसकेपछि प्रधानमन्त्रीले फर्काएको जवाफ सुनेर प्रमका सचिवालयका कर्मचारीसमेत पेट मिचीमिची हाँसेका थिए । लोहनीलाई प्रम ओलीको जवाफ थियो, ‘तपाईं त पटकपटक मन्त्री भइसकेको मान्छे, सडकको मापदण्ड मिचेर घर बनाउनुहुँदैन भन्ने त थाहा हुनुपर्ने । ल भइगयो, थाहा थिएन भने पनि घर बनाउने बेलामा सहरी विकास मन्त्रीलाई सोध्नुभएन ?’
प्रधानमन्त्री ओलीको कुरा सुनेर लोहनी मुर्मुरिँदै बालुवाटारबाट बाहिरिएका थिए । अहिले लोहनीको घरमा डोजर लागिसकेको छ । घरको केही भाग भत्काइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply