शोभाकरको अशोभनीय काम
काठमाडौं । कर्मचारी युनियनका एक नेताले आफूले चाहेको ठाउँमा सरुवा नहुँदा आफ्नै सहकर्मीमाथि ‘ज्यान लिने’सम्मको धम्की दिएका छन् । त्यसरी धम्की दिने व्यक्ति हुन्, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका नेता शोभाकर रेग्मी ।
कुनै समय कर्मचारी युनियनको अध्यक्षका रूपमा हालीमुहाली गरेका रेग्मीले पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतका रूपमा टिप्पणी उठिसकेका इन्द्रप्रसाद बस्याललाई ‘पोखराका लागि रमाना लिए गोली ठोक्छु’ भन्दै धम्क्याएपछि उनी हच्किएका छन् । स्याङ्जा घर भएका रेग्मी कर्मचारी युनियनको अध्यक्ष हुँदा मालदार ठाउँमा सरुवा र बढुवा गर्न परिचित थिए । काम कम र राजनीति बढी गर्ने उनी बढुवाको लागि दुई नम्बर कम भएपछि मुस्ताङको स्थानीय विकास अधिकारी बन्न पुगे । दुर्गम जिल्लामा काम गरेको भन्दै नम्बर थपिएपछि भर्खरै उपसचिवमा बढुवा भएपछि उनको आँखा पोखरामा परेको हो ।
उपसचिव स्तरका कर्मचारीले राजनीति गर्न नहुने भए पनि कांग्रेसको कर्मचारी संगठनमा अहिले पनि उनी सर्वेसर्वाजस्तै छन् । पोखराका कार्यकारी अधिकृत झलकराम अधिकारी सहसचिवमा बढुवा भएपछि उक्त पद खाली छ । पोखरामा दिनहुँजसो आउने मन्त्री र उच्च पदस्थ कर्मचारीसँग नजिक हुँदै आफ्नो दुनो सोझ्याउने दाउमा रहेका रेग्मी पोखराको कार्यकारी अधिकृत बन्न चाहन्थे । त्यसका लागि स्याङ्जा नै घर भएका स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलाई प्रलोभनमा पार्न सफल उनले त्यसका लागि स्याङ्जाका स्थानीय विकास अधिकारी रहेका आफ्नो भाइ पर्ने दीपक रेग्मीमार्फत आवश्यक प्रबन्ध मिलाएको मन्त्रालय स्रोतले बतायो । यसका लागि मन्त्रालयका सहसचिव रामुराज कडरियाले सहयोग पुर्याइरहेको पनि स्रोतले बतायो । स्रोतका अनुसार सचिव र सहसचिव मिलेपछि यो कुराको सुइँको बाठा भनिएका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले पाउन सकेनन् । परराष्ट्र मन्त्रालयमा रूपमा बढी व्यस्त भएकाले कर्मचारी सरुवामा उपप्रधानमन्त्री थापाले खास ध्यान दिन नपाएको बताइन्छ ।
त्यति गर्दा पनि शोभाकरको सपना भने पूरा भएन । स्थानीय विकास मन्त्रालयले राप्रपा नेपाल कास्कीका नेताहरूको जोडबलमा उपसचिव इन्द्रप्रसाद बस्याललाई पोखरा पठाउने निर्णय गरेपछि उनीचाहिँ व्यक्तिगत दुश्मनीमा उत्रिएका छन् । बस्याल रमाना बुझ्न तयार पनि भए । तर, आफूअनुकूलको निर्णय नभएको झोकमा शोभाकरले ‘तालाई पोखरा बस्न दिन्ना, तेरो परिवारलाई नै उडाइदिन्छु, अख्तियार लगाएर भ्रष्टाचारमा पारिदिन्छु, पोखरा गइस् भने तेरो आन्तरिक मूल्यांकन फाइलमा नै कम नम्बर हाल्न लगाउँछु’ भन्दै धम्क्याएको उनीनिकट स्रोतले बतायो । धम्कीपछि बस्याल रमाना लिन जान त सकेनन् नै, मन्त्रालयमा निवदेन दिएर विविध कारणले आफू पोखरा जान नसक्ने जानकारी गराएका छन् । उता, आर्थिक वर्षको अन्त्यमा पोखराजस्तो ठाउँमा कार्यकारी प्रमुख नहुँदा विकास निर्माण प्रभावित बनेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply