विदेश घुमेरै बिताए वर्ष दिन
काठमाडौं । अहिले असार मसान्तको चटारोले सबैलाई छोएको छ । आर्थिक वर्ष सकिन लागेको हुँदा भुक्तानी गर्नुपर्नेदेखि आगामी वर्षको कार्यक्रम बनाएर पारित गर्नुपर्नेजस्ता कामहरूले सबै मन्त्रालय र त्यसअन्तर्गतका विभागहरूलाई भ्याइ नभ्याइ छ । तर, कृषि विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरू भने असार मसान्तको चटारोलाई बिर्सेर अहिले विदेश सयरमा मस्त छन् ।
हिजो मात्रै केन्याको राजधानी नैरोबीमा हुने इन्टरनेसनल फरेन पोलिसी इन्स्टिच्युटको एउटा कार्यक्रममा भाग लिन मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, कृषि विभागका महानिर्देशक युवकध्वज जीसी, मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव काशीराज दाहाल, उपसचिव विनोद भट्टराई र प्रधानमन्त्री कार्यालयका एक उपसचिव उडेका छन् । करिब एक हप्ता नैरोबीमा बिताएपछि उनीहरू नेपाल फर्किने बताइन्छ । तर, उक्त इन्स्टिच्युटको कमिटी सदस्यमा पशु सेवा विभाग र खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशकहरू रहेका हुँदा नैरोबीमा हुने उक्त कार्यक्रममा ती दुई विभागका महानिर्देशकहरू जानुपर्नेमा सम्बन्धित निकायका मानिस नगएर अरूलाई नै मौका दिइएको बताइन्छ ।
त्यसो त कृषि विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरूको विदेश भ्रमण यो पहिलोपटक भने होइन । उनीहरूले अनगिन्तीपटक विदेश भ्रमण गरिसकेका छन् । बितेको एक महिनाको अवधिमा मात्रै कृषि विभागका महानिर्देशक जीसीले चारवटा मुलुक घुम्ने अवसर पाएका छन् । विभागका कामहरूलाई लथालिंग छाडेर जीसीले थाइल्याण्ड, फिलिपिन्स, कोरिया र अहिले केन्याको भ्रमण गरेका छन् । मन्त्रालयमा वर्षभरिको रेकर्ड हेर्ने हो भने जीसीले मात्रै यो आर्थिक वर्षमा १० भन्दा बढी मुलुकका भ्रमण गरिसकेका छन् ।
विदेश भ्रमणमा बाजी मार्नेमा मन्त्रालयका सहसचिव काशीराज दाहाल पनि हुन् । दाहालले प्रशासनिक कार्यलाई बेवास्ता गर्दै विगत दुई महिनाको अवधिमा दुई पटक त फिलिपिन्सको भ्रमण नै गरेका छन् भने त्यसपछि कोरिया र अहिले केन्याको भ्रमणमा निस्किएका छन् । केही महिनाअघि फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय धान अनुसन्धान इन्स्टिच्युटको निमन्त्रणामा सचिव भट्टराई, कृषिका महानिर्देशक जीसी र नार्कका कार्यकारी निर्देशक यमनाथ पाण्डे सम्मिलित टोलीमा दाहाल नपरे पनि यसपटक केन्या घुम्न जानेमा भने उनी परेका हुन् । यो आर्थिक वर्षमा विदेश घुम्नेमा दाहाल दोस्रो नम्बरमा पर्ने जनाइन्छ । उनले कम्तीमा पनि ६ देश घुम्ने सौभाग्य पाएको बताइन्छ ।
यसैगरी, कृषि सचिव भट्टराई पनि विदेश घुम्नमा माहिर मानिन्छन् । अहिले केन्याको भ्रमणमा निस्किएका भट्टराईले यसअघि भने फिलिपिन्स र अमेरिकाको भ्रमण भ्याइसकेका छन् । केही महिनापूर्व विदेशतिर उड्नै लागेका बेला सचिव भट्टराईको भ्रमणलाई कृषि मन्त्री हरिबोल गजुरेलले रातारात रद्द गर्न लगाएका थिए । बजेट आउनुभन्दा ठीक अगाडि विदेश उड्न लागेका भट्टराईलाई मन्त्री गजुरेलले रोकेका थिए । मन्त्रालयका सचिव, सहसचिवलगायत कर्मचारीहरूको बारम्बार विदेश भ्रमणले मन्त्रालयको काम कत्तिको प्रभावित भइरहेको छ भन्नेबारे मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीसँग प्रतिक्रिया माग्न टेलिफोन गर्दा सम्पर्क हुन सकेन । प्रवक्ता कार्कीको मोबाइल स्विच अफ भएको हुँदा सम्पर्क हुन नसकेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply