एमालेको प्रदेश संयोजक छान्न तीन विकल्प
काठमाडौं । एमालेमा प्रदेश संगठन कमिटीको संयोजक मनोनीत गर्न तीन विकल्प प्रस्तुत भएको छ । तीन सातादेखि प्रदेश संयोजक चुन्न नसक्दा गत १८ गतेका लागि डाकिएको सातवटै प्रदेशको भेला अनिश्चितकालसम्मका लागि स्थगित भइसकेको छ । संयोजकविना कमिटीले पूर्णता पाएको नठहरिने र कमिटी पूर्ण नभईकन आयोजित भेला विवादस्पद हुने भएपछि दुई दिनअघि केन्द्रीय सचिवालयले भेला स्थगितको सर्कुलर गरेको थियो ।
त्यसयता संयोजक चुन्न तीनवटा विकल्पमा केन्द्रित रहेर छलफल भइरहेको नेताहरूको भनाइ छ । महासचिव ईश्वर पोखरेलले नेताहरूसँग यसबारे अनौपचारिक परामर्श गरिरहेका छन् । पहिलो, पदाधिकारीमध्येबाटै संयोजक चुन्ने । प्रदेश कमिटी बनेपछि जिम्मेवारीविहीन हुने भन्दै चार उपाध्यक्षले नै संंयोजकमा दाबी नछाडेकाले उनीहरूलाई प्रतिनिधित्व गर्ने प्रदेशका आधारमा बनाउने र बाँकी दुई उपमहासचिव र एक स्थायी समिति सदस्यलाई संयोजक बनाउने यो विकल्प छलफलमा रहेको स्रोतको भनाइ छ । यो विकल्पमा उपाध्यक्षबाहेक बाँकी स्थायी समिति सदस्यमध्येबाट बनाउने विकल्प पनि प्रस्तुत भएको छ ।
दोस्रो, पदाधिकारीबाहेक सबै स्थायी समिति सदस्यलाई संयोजक बनाएर उपाध्यक्ष र उपमहासचिवलाई अनुगमन र संयोजनको जिम्मेवारी दिने । यो विकल्पलाई उपाध्यक्षहरूले ठाडै अस्वीकार गरिसकेका छन् । यद्यपि, यो विकल्प नै सबैभन्दा बढी उपयुक्त रहेको भन्दै सचिव पृथ्वीसुब्बा गुरुङले यसअघिको स्थायी समिति बैठकमा प्रस्तुत गरेका थिए ।
तेस्रो तथा अन्तिम विकल्पका रूपमा स्थायी समिति सदस्यभन्दा तल पोलिटब्युरो सदस्यमध्येबाट संयोजक चुन्ने । एउटा प्रदेशबाट कम्तीमा दुईदेखि तीनजना पोलिटब्युरो सदस्यले प्रतिनिधित्व गर्ने भएकाले तीमध्ये मर्यादाक्रममा जो वरिष्ठतामा अगाडि छ, उसैलाई संयोजक बनाएर जान सकिने सम्भावनाबारे पनि सोच्न सकिने गरी छलफल चलिरहेको एक पदाधिकारीले बताए । तर, औपचारिक छलफलका लागि महासचिव पोखरेलले सचिवालय बैठक भने बोलाएका छैनन् । उपाध्यक्षलाई संयोजक नबनाउने हो भने मर्यादाक्रमका आधारमा वरिष्ठ पोलिटब्युरो सदस्यलाई संयोजक बनाउन सकिने ती पदाधिकारीको दाबी छ ।
प्रदेश कमिटी गठनसँगै स्थायी कमिटीको निर्णयले एमालेमा विकास क्षेत्र र अञ्चलको संरचना विस्थापित गरिसकेको छ । त्यसलगत्तै विकास क्षेत्रको संयोजक रहेका उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावल चारैजनाले प्रदेश संयोजक दाबी गर्दै आएका छन् । तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ ।
एमालेको विधानमा पााच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारीको व्यवस्था थियो तर, नयाँ संविधानअनुसारको संरचना बनेपछि भने उनीहरूको भूमिका के हुने भन्ने अन्योल देखिएको थियो । एमालेले स्थायी समितिबाट करिब ५ सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको पनि संयोजक र सचिव पदको भने टुंगो लागिसकेको छैन । कुरा नमिलेकै कारण गत ४ गतेयता तीनपटक स्थायी समिति बैठक स्थगित भइसकेको छ । अबको बैठक प्रदेश संगठन कमिटीको संयोजक चुन्ने गरी आयोजना हुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
सचिव पनि अन्योलमै
गत ४ वैशाखमा सम्पन्न एमाले केन्द्रीय कमिटीले प्रदेश संयोजक र सदस्यहरू स्थायी समितिबाट र सचिव भने प्रदेश कमिटीलाई मनोनीत गर्ने जिम्मा दिएको थियो । तर, स्थायी समितिबाटै सचिव पनि मनोनीत गर्ने विकल्प अघि सारिएको छ । ‘सबै स्थायी समितिले चुनेपछि सचिव मात्रै किन कमिटीलाई नै चुन्न दिने भन्ने प्रश्न उठेकाले सचिव पनि माथिबाटै टुंग्याउने विकल्प पनि छलफलमा छ,’ एक पदाधिकारीले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply