भौतिक र श्रममा भानुको राज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका सुदूरपश्चिमेली रमेश लेखकलाई अति नै आकर्षक मन्त्रालय मानिने भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिए । राम्रै छवि बनाएका लेखकलाई देउवाले राम्रै मन्त्रालय दिन कन्जुस्याइँ गरेनन् । तर, अहिले सो मन्त्रालयमा मन्त्री लेखकभन्दा पनि देउवाका भतिजा एवं स्वकीय सविच भानु देउवा हावी हुन थालेपछि समस्या उत्पन्न हुन थालेको छ ।
सो मन्त्रालयमा देउवाको भतिजा भानु हावी हुन थालेपछि आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पु¥याउन सडक, पुल, बाटोहरूको समष्टिगत विकास, विस्तार, प्रवद्र्धन र संवद्र्धन गरी राष्ट्रिय यातायात प्रणालीको विकास गर्ने सो मन्त्रालयका कामहरू प्रभावित हुँदै गएको बताइन्छ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकार विघटन भएपछि कांग्रेसको रोजाइमा परेको उक्त मन्त्रालयमा अहिले मन्त्री र सडक विभागका महानिर्देशकसँगै कांग्रेस सभापति देउवाका भतिजा भानुसम्मको चलखेलले निकै ठूलो समस्यामा देखा पर्न थालेकाले कर्मचारी वृत्तबाटै गुनासो आउन थालेका छन् ।
त्यस्तै, लेखकले भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाएपछि सचिवको लहरमा रहेका देवेन्द्र कार्की मुखमै आएको सचिव पद छाडेर सडक विभागको महानिर्देशक बनेपछि त्यहाँ झन् बढी आर्थिक चलखेल सुरु भएको स्रोतको दाबी छ । यसअघि पनि दुई वर्ष त्यही जिम्मेवारीमा रहेर सडक विभागमा काम गरेका कार्की मन्त्रालयमा तानिएका थिए । कार्कीलाई मन्त्रालयमा तानेपछि उनको ठाउँमा माधव कार्कीलाई पठाइएको थियो । माधवको पनि समयावधि सकिएपछि फेरि मन्त्रालयमै तानिएका थिए ।
लेखक मन्त्री बनेसँगै फेरि सडककै डीजी बन्ने अवसर पाएका कार्कीले अहिले सडकमा मनपरी गर्न थालेको कुरा बाहिर आउन थालेको छ । सो मन्त्रालयका पूर्वसचिव अर्जुन कार्कीका सहोदर नाता पर्ने देवेन्द्रले पहिला पनि डीजी हुँदा राम्रो कुम्ल्याउने मौका पाएको स्रोतको दाबी छ । ‘सडकको डीजी हुँदा पहिला पनि राम्रो कुम्ल्याउन सफल कार्की वरिष्ठ सहसचिव हुन् । अहिले बढुवा हुँदा उनी सचिव बन्ने सम्भावना थियो । तर, मुखमा आएको सचिव पद छाडेर डीजी खान जानुको पछाडि कुम्ल्याउने ध्याउन्न नै रहेको देखिन्छ ।’ मन्त्रालयकै एक कर्मचारीले भने ।
तीन कार्कीको भौतिकमा सेटिङ
अर्जुन कार्की, देवेन्द्र कार्की र माधव कार्की दोलखाका निवासी हुन् । उनीहरू एउटै जिल्लाका निवासी मात्र होइनन्, उनीहरूबीच पारिवारिक नाता पनि रहेको छ । अहिले तीनैजना कार्की सबैतिर सेटिङ मिलाएर मन्त्रालयबाट राम्रै आम्दानी गर्न सफल भएका छन् ।
त्यसो त २२ अर्बको लगानीमा अहिले हेटौँडा–धरान–चतरा मार्ग निर्माणको तयारीमा छ । सो सडकका लागि टेन्डर प्रक्रियासमेत अघि बढेका बेला कांग्रेस सभापति देउवाका भतिजा भानुसँगै देवेन्द्र कार्कीले निकै चलखेल गरेको बुझिएको छ । त्यस चलखेलमा मन्त्री लेखक पनि मुछिएको स्रोतको दाबी छ । तर, देउवाको स्वकीय सचिवसमेत रहेका भानु अहिले देउवाका पीएभन्दा पनि कांग्रेसले सम्हालेका मन्त्रालयमा सेटिङ मिलाउनमा बढी केन्द्रित भएको बुझिएको छ ।
सातजनालाई मात्र टेन्डर
देउवा र कार्कीकै मिलेमतोमा हेटौंडा–धरान–चतरा मार्ग निर्माणका लागि सातजनालाई मात्र टेन्डरको अनुमति दिएको र त्यसमा पनि सबै देउवा र कार्कीकै आसेपासे रहेको बुझिएको छ । टेन्डर हाल्नेमध्येका एकजनाले टेण्डर आफूले नै पाउनुपर्ने भन्दै सर्वोच्चलाई गुहारेपछि उनलाई समेत कार्की र देउवाले पैसाको बिटा थमाएर थामथुम पारेको बुझिएको छ ।
श्रममा पनि हालीमुहाली
सडकको ठेक्कामा कसकसलाई टेन्डर हाल्न दिने, कसकसलाई पार्ने र कति रकम असुल्नेसम्मका सबै कामको जिम्मेवारी अहिले भानुको थाप्लोमा आएको छ । त्यति मात्र होइन कांग्रेसकै वृद्ध नेता सूर्यमान गुरुङको अह्रनखटनमा समेत देउवा नै हावी भएको स्रोतको दाबी छ ।
भौतिक मात्र होइन श्रम तथा रोजगार मन्त्रालयमा समेत भानुकै हालीमुहाली भएपछि अहिले कर्मचारी मन्त्रालयका सचिव लक्ष्मण मैनालीसँग भन्दा पनि देउवाका भतिज भानु र वयोवृद्ध मन्त्री गुरुङका पीए डिल्ली गुरुङसँग थर्कमान हुने गरेका छन् । पहिला म्यानपावर व्यवसायी टेकबहादुर गुरुङ मन्त्री भएपछि म्यानपावरबाट विभिन्न बहानामा पैसा उठाउन सहज होस् भन्नका लागि देउवाकै भतिजा भानुको प्रयासमा श्रम मन्त्रालय छिरेका मैनालीलाई अहिले मन्त्रालयभन्दा पनि विदेश प्यारो भएपछि उनले पैसा उठाउने अख्तियारी भानुलाई नै दिएको बुझिएको छ । स्रोतका अनुसार मैनालीकी पत्नी पीआरवाला हुन् । पहिला मैनाली पनि पीआरवाला नै भए पनि लालबाबु पण्डितले मन्त्री भएका बेला सरकारी जागिरेलाई दुईमध्ये एक रोज्न लगाएपछि हतार–हतार उनले पीआर त्यागेको हल्ला अहिले पनि मन्त्रालयका कर्मचारीबीच गाइँगुइँ चल्ने गरेको छ ।
दसैँ मान्न क्यानडा गएका मैनाली अहिलेसम्म नफर्किएपछि अहिले मन्त्रालयमा देउवा र मन्त्रीका पीए गुरुङको हालीमुहाली भएको बुझिएको छ । मन्त्री गुरुङका विश्वासपात्र डिल्ली पहिला कांग्रेस नभए पनि पछि असली कांग्रेस बनेका हुन् । कांग्रेसीहरूकै नजरमा त्यति योग्य नठहरिएका गुरुङको चर्तिकलाले अहिले मन्त्रालय नै गन्हाउन थालेको बुझिएको छ ।
त्यसो त, गुरुङ मन्त्रीको पीए बनेर मन्त्रालय छिरेपछि अहिले त्यहाँ पनि समस्या उत्पन्न भएको छ । पीए गुरुङले अहिले मन्त्रालयकै एक कर्मचारीसँग निकै राम्रो हिमचिम बढाएपछि मन्त्रालयमा सबैले उनको कुरो काट्न थालेका छन् । स्रोतका अनुसार पीए गुरुङको हर्कतबाट दिक्क भएका एक ड्राइभरले त गाडी चलाउन नसक्ने भन्दै राजीनामा नै बुझाएको चर्चा पनि अहिले मन्त्रालयभित्र चलेको छ ।
श्रम मन्त्रालयको महŒवपूर्ण अंगका रूपमा रहेको वैदेशिक रोजगार विभागमा पनि अहिले देउवाका पीए भानुदेखि मन्त्रीका पीए डिल्लीसम्मको निकै राम्रो चलखेल हुने गरेको बुझिएको छ । विभागका डीजी शत्रुधनप्रसाद पुडासैनीको भन्दा पनि भानु र डिल्लीको बढी हालीमुहाली हुने गरेको स्रोतको दाबी छ । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका अधिकृत रमेश लामिछानेलाई रंगेहात पक्राउ गरेको थियो ।
उनलाई दर्ता प्रमाणपत्र दिने क्रममा वैदेशिक रोजगार व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो । उनले १० हजार घूस लिँदै गर्दा पक्राउ गरेको भनिए पनि उनी १० लाखभन्दा बढी रकम असुल गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । पछिल्लो समय कारबाहीमा परेका १८ म्यानपावरलाई ‘क्लिन चिट’ दिने खेलोमेलोमा पनि डीजी पुडासैनी र पीएहरू देउवा र गुरुङको मिलेमतो रहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply