गुप्तचरमा दुई भाइको मस्ती
काठमाडौं । वार्षिक १० करोडभन्दा बढी रकम विभिन्न शीर्षकमा दोहन गर्ने तर उपलब्धिमूलक कुनै कार्य र त्यसको ठोस परिणाम नदिने राज्यको केन्द्रीय गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा केही व्यक्तिको मात्र मनपरी चल्ने गरेको बताइन्छ ।
कांग्रेसनिकट भए पनि केपी ओली नेतृत्वको सरकारको पालामा केही प्रभावशाली मन्त्री तथा नेताहरूको फेर समातेर आईजीपीमा बढुवा भएका दिलिप रेग्मीले त्यसयता मनपरी ढंगले विभाग चलाउन थालेको बताइन्छ । अहिले विभागमा आईजीपी रेग्मीका अतिरिक्त एआईजी गणेश अधिकारीको मात्र हैकम चल्ने गरेको स्रोतको दाबी छ ।
प्रशासन र लेखामा आफ्ना विश्वासी मान्छे खटाउने र त्यहीमार्फत विभिन्न शीर्षकको रकम कामै नगरी झ्वाम पार्ने गरेको भन्दै उच्च तहका अधिकृतहरूबीच नै असन्तुष्टि छाएको स्रोतले बतायो ।
अहिले विभागमा अर्का एआईजी देवराज भट्ट रहेका छन्, तर उनलाई कुनै भूमिका दिइएको छैन र पंगु बनाइएको बताइन्छ । त्यस्तै अर्का डीआईजी राजेन्द्र खत्री छन्, तर उनलाई पनि कुनै जिम्मेवारी नदिएपछि उनी पनि घाम तापेर दिन बिताउने गर्छन् ।
उक्त विभागका प्रमुखलगायत उच्च अधिकारीको प्रमुख काम नै विभिन्न दलका प्रमुख नेता, प्रधानमन्त्री र गृहमन्त्री एवं गृह सचिवका नातागोता र आफन्तलाई रिझाएर विभागका विभिन्न तहमा भर्ना गरिदिनु र आफन्तलाई सुतीसुती तलब खुवाउनु नै रहेको बताइन्छ ।
विभाग अहिले लथालिंग छ । विभागका केही कर्मचारी अहिले विदेशमा गएर पनि हाकिम रिझाएर नक्कली कागजातका आधारमा यहीँको तलब बुझिरहेका छन् । विभागका यसअघिका आईजीपी जितबहादुर केसी, मोती गुरुङ, अशोकदेव भट्ट, धनसिंह कार्की र देवीराम शर्माले पनि साधन स्रोत दुरुपयोग गरेर आफन्त भर्ती गर्ने र नेताहरू खुसी पार्नेबाहेकका केही काम गर्न नसकेको बताइन्छ ।
कुल ४२ सय कर्मचारी रहेको विभागमा अधिकांश नेता र उच्च ओहदाका व्यक्तिहरूले आफ्ना साला, साली, भान्जा, भान्जीलगायतलाई घरमै तलब पु¥याउने व्यवस्था गरेर मस्ती मारिरहेका छन् ।
केही कर्मचारी त्यहाँबाट अवकाश भएपछि फेरि करारमा त्यसकै लागि गुप्तचरी गरेर आजीवन खाइरहेका भेटिन्छन् भने केही अन्यत्र काम गरेर थोरै पारिश्रमिक लिएरै पनि सूचना बेचेर खाइरहेको बताइन्छ ।
काठमाडौं जिल्लाका सीडीओ हुँदा सहसचिव रत्नराज पाण्डेले आफ्नै छोरी भर्ती गरेका मात्र होइन, देवीराम शर्मा प्रमुख हुँदा प्युठानका सयौं आफन्तहरूलाई नियुक्ति दिलाएका थिए । त्यस्तै, लीलामणि पौडेल मुख्य सचिव हुँदा उक्त संस्था पंगु भएको भन्दै सुधारको पहल गर्ने भनेर भाषण ठोके पनि पछि गुल्मीतिरका उनका दर्जनौं आफन्त भर्ती गरेपछि उनी चुप बसेका थिए । त्यस्तै एमालेका एक प्रभावशाली नेताले वामदेव गौतम गृहमन्त्री भएका बेला आफ्नो घर बनाउने ठेकेदारको छोरालाई समेत सूचकका रूपमा स्थायीमा भर्ना गरिदिएका थिए । जुन व्यक्ति अहिले धादिङमा कार्यरत रहेका छन् । त्यस्तै, देवीराम शर्माको जेठानका छोरा इन्सपेक्टरका रूपमा कार्यरत छन् भने वामदेव गौतमका भान्जा पर्ने विश्वेश्वर आचार्य पनि कार्यरत रहेका छन् ।
त्यहाँ हुने खर्च गृह मन्त्रीको तजबिजमा हुने र महालेखा परीक्षकको कार्यालयले अडिट पनि नगर्ने हुनाले उक्त संस्थालाई दोहन गर्ने निकाय बनाइएको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply