आईजीले ‘हुन्छ, हुन्छ’ भन्दा प्रहरीमा भद्रगोल
काठमाडौं । नेपाल प्रहरीमा अबको डेढ महिनापछि घर जान लागेका आईजीपी उपेन्द्रकान्त अर्यालका कारण भद्रगोल देखिएको छ । राजनीतिक हस्तक्षेप गर्न नदिने र व्यावसायिक छवि कायम राख्ने गरी संगठन चलाउने प्रण गर्ने उनी पछिल्लो समय गृहमन्त्री विमलेन्द्र निधिको नभई उनको पीएको दबाबमा काम गरिरहेका छन् ।
मन्त्रीको पीएले उनीसँग समन्वय गरेर ल्याएका हरेक बढुवा तथा पदस्थापन प्रस्तावमा आईजीपी अर्यालले आँखा चिम्लेर समर्थन गर्ने गरेको भन्दै प्रहरीमा व्यापक असन्तुष्टि छाएको छ । उनले मन्त्रीको पीएले ल्याएको प्रस्तावलाई ‘हुन्छ हजुर’ भन्ने गरेका कारण तल्ला तहका प्रहरीहरूले समेत आईजी अर्याललाई ‘हुन्छ बहादुर’ नाम राखिदिएका छन् ।
यसअघि गरिएको डीएसपी र एसपीको बढुवामा पनि गृहमन्त्री हावी भएको र आईजी अर्यालले आफूले चाहेको मान्छे एकजना पनि पार्न नसकेको प्रहरीमा चर्चा छ । सुरुमा मन्त्री निधिले पर्साका एसपी राजबाबु श्रेष्ठ र सिरहाका श्याम ज्ञवालीलाई फिर्ता बोलाउँदा आइजी अर्यालले विदेशबाटै उक्त निर्णय लागू नगराई पूर्ववत् कार्यक्षेत्र सम्हाल्न आदेश दिएका थिए । तर उनले पछिल्ला दिनमा त्यस्तो अडान लिन नसकेको बताइन्छ ।
अबको केही दिनमा नै ६२ जना इन्स्पेक्टरको बढुवा हुँदै छ । त्यसका लागि मन्त्री निधिका स्वकीय सचिवले सिंहदरबारमा बसेर सूची तयार गर्दै छन् । अहिलेसम्म मन्त्रीसँग जे–जति वादविवाद भए पनि अब अवकाश हुन केही दिन मात्र बाँकी रहेकाले ‘किन चिढ्याउनु ?’ भन्ने मनस्थितिमा उनी पुगेको बताइन्छ । बढुवाको प्रस्ताव लिएर आउने मान्छेहरूसँग पनि उनले ‘यसपटक धेरै आशा नगर्नू’ भनेर फर्काउने गरेको बताइन्छ । ‘उहाँ राजनीतिक मान्छे पर्नुभयो, धेरैका दबाब र मिलाउनुपर्ने होला, उहाँलाई नै छोडिदिएको छु, त्यसैले अझ बढी आशा नगर्नुहोला,’ आईजीपीले बताएको भन्दै भेटघाटका एक सहभागीले बताए ।
खिलराज रेग्मी सरकारको पालामा नेपाल प्रहरीको नेतृत्व लिएका आईजीपी अर्यालले अहिले अन्तिम बेला भन्दै गृहमन्त्रीसँग द्वन्द्व गर्न नचाहेको बताइन्छ । त्यसो त उनले दोस्रो संविधानसभाको चुनावपश्चात् गृहमन्त्री वामदेव गौतमसँग भने बढी नै जोरी खोजेर व्यावसायिकताको वकालत गरेका थिए । गौतमसँग जोरी खोज्दा प्रहरीको अधिकार बाँड्नुपरेको भन्दै उनको संगठनभित्रबाटै आलोचना हुने गरेको छ ।
आईजीपी अर्याल र तत्कालीन गृहमन्त्री गौतमको व्यक्तिगत हठका कारण प्रहरीको अधिकार खोसिएको जिकिर अन्य प्रहरी अधिकृतको छ । नेपाली प्रहरीसँग मात्र रहेको पक्राउ पुर्जी जारी गर्ने अधिकार गृहमन्त्री गौतमले सशस्त्र प्रहरी बललाई समेत दिएका थिए, जसका कारण दुई प्रहरी संगठनका अधिकृतबीच मनमुटाव बढेको थियो ।
गृहमन्त्री गौतमको बहिर्गमन र नयाँ गृहमन्त्री शक्ति बस्नेतको आगमनसँगै झनै आईजीपी अर्यालसँग गृह मन्त्रालयको चिसो बढ्यो । आईजी अर्यालले विश्वास गरेका तथा उनीनिकट भनिएका एआईजीले नै आईजीपी बन्न दौडधुप सुरु गरे, जसका कारण आईजीपी आफ्नैबाट चिढिए र बैठकमा ३ फागुनसम्म आफू नै रहने भएका कारण आईजीपीको सपना नदेख्न ब्याची एआईजीलाई थर्काउन बाध्य भए ।
केपी ओली सरकारको राजीनामासँगै कांग्रेसका तर्फबाट गृहमन्त्री बनेका निधिका निकट मानिने आईजीपी अर्याल अहिले झनै तनावमा छन् । निधि गृहमन्त्री भएसँगै अर्यालले चैनको सास फेर्ने आँकलन धेरैले गरेका थिए । तर, निधिले मन्त्रालय सम्हालेकै दिनबाट आईजीपी अर्याललाई पेल्न थालेपछि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको छ । पछिल्लो समय निधि र अर्यालको मनमुटाव बढेकै बेला एसएसपीहरूको सरुवा भएको छ । एक महिनाअगाडिदेखि नै सरुवाको चलखेल भए पनि आईजीपी अर्यालले आफूनिकटलाई पठाउन नसकेपछि सरुवा रोकेका थिए ।
प्रहरी नियमावलीले एसपीसम्मको सरुवा अधिकार आईजीपीलाई दिएको छ । आफ्नो अधिकारप्रति राजनीतिक हस्तक्षेप भयो, यसले राम्रो सन्देश गएन भन्दै आईजीपी अर्यालले दुवै एसपीलाई तत्कालै कार्यक्षेत्रमा फिर्ता गरेका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply