पोखरा राष्ट्रिय भेलाबाट बहुमतको संकल्प
काठमाडौं । आगामी तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो शक्तिका रूपमा स्थापित गर्ने संंकल्पसहित २० बुँदे पोखरा घोषणापत्र पारित गर्दै एमालेका जनवर्गीय संगठनहरूको पोखरा राष्ट्रिय भेला मंंगलबार सकिएको छ । तीनदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गत आइतबार गरेका थिए । भेलालाई वरिष्ठ नेता माधवकुमार नेपाल तथा मोर्चा फाँट प्रमुख गोकर्ण विष्टलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।
‘आगामी दिनमा हुने तीनवटै तहको निर्वाचनमा नेकपा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बनाउन हामी सबै जनसंगठनहरू आन्तरिक एकतालाई अझ सुदृढ बनाउँदै नयाँ स्तरमा कायम हुने यही एकताको बलमा आ–आफ्नो मातहतका सदस्यहरूलाई सम्पूर्ण रुपले परिचालित गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जाहेर गर्दर्छौं ।’ भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ । भेलाले अविलम्ब स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन मिति घोषणा गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गरेको छ ।
त्यस्तै, भेलाले आगामी २१ फागुनबाट सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियान सफल पार्न सक्रियताका साथ सहभागी हुने निर्णय गर्दै २० वटै जनसंगठनले प्रभावकारी समन्वय र परिचालनको जिल्लागत जिम्मेवारीसमेत लिएका छन् ।
पार्टीसँग आबद्ध २० जनवर्गीय संगठनका करिब ४ सय केन्द्रीय पदाधिकारी सहभागी भेलामा अध्यक्ष ओलीसहित नेताहरूले आठवटा छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिएका थिए । उद्घाटनको दिन वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय परिस्थिति र नेपालमा त्यसको प्रभाव तथा पार्टी केन्द्रीय लेखा आयोगका संयोजक डा. पुष्प कँडेलले लेखा व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै, १० गतेको सत्रमा वरिष्ठ नेता झलनाथ खनालले वर्तमान परिस्थिति र आगामी कार्याभार, सचिव तथा मोर्चा फाँट प्रमुख गोकर्ण विष्टले मोर्चा संगठनको निर्माण र परिचालनका विषयमा प्रशिक्षण दिएका थिए । सोही दिन केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले आर्थिक विकास र समृद्धिका आधार तथा महासचिव ईश्वर पोखरेलले पार्टी संगठनको निर्माण व्यवस्थापन तथा परिचालनबारे प्रशिक्षण दिएका थिए । मंंगलबार उपाध्यक्ष वामदेव गौतमले सामाजिक रूपान्तरणको समाजवादी दिशा तथा संसदीय दलका उपनेता सुवास नेम्वाडले संविधानको कार्यान्वयन र कार्यभारका विषयमा प्रशिक्षण दिनुभएको थियो । भेलामा सबै जनवर्गीय संगठनका अध्यक्षहरूले आ–आफ्ना जनसंगठनका सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए ।
भेलापछि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल तथा महासचिव पोखरेलले पार्टीभित्र रहेको गुटबन्दी अन्त्य गर्दै भावनात्मक एकताका साथ निर्वाचनको तयारीमा होमिन सामूहिक निर्देशनसमेत दिएका थिए ।
जनसंगठनले अतिथिलाई मञ्चमा नबोलाउने
पोखरा भेलाले जनवर्गीय संगठनका आगामी कार्यक्रमहरूमा प्रमुख अतिथि र वक्ताबाहेक कुनै पनि अतिथिलाई मञ्चमा नबोलाउने प्रस्तावसमेत पारित गरेको छ । कार्यक्रमहरू भड्किलो, बोझिलो र खर्चिलो भएको भन्दै कार्यशैली सुधार्ने प्रतिबद्धतासहित भेलाले सो प्रस्ताव पारित गरेको हो । ‘हामी औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधिक प्रयोगबाट हाम्रा कार्यक्रमहरू भद्दा एवं खर्चिला भइरहेका छन् । हामी यस्ता परम्परा र मञ्चमा ठूलो संख्यामा अतिथिको भीड थुपार्ने र आसनग्रहणमा मूल्यवान् समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हामीले अब प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्र मञ्चमा राख्ने, अरू सबै आमन्त्रित अतिथिहरूलाई दर्शकदीर्घामा नै राखी कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कारको विकास र अवलम्बन गर्दछौं,’ पारित प्रस्तावमा भनिएको छ ।
भेलामा भेज खाना
पोखराको न्यु एरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा आयोजित भेलामा सहभागीहरूलाई भेज खाना खुवाइएको छ । बिहान ब्रेक फास्टमा जेरी, पुरी, तरकारी, अन्डा, चना, बटर जाम, हाई टी, खुवाइएको छ भने दिउँसो भेज लन्च दालभात तरकारी तथा खाजामा पकौडा, स्यान्डविच खुवाइएको छ । सबै जनवर्गीय संगठनका पदाधिकारीहरूलाई जिल्लास्थित सम्बन्धित भ्रातृ संगठनका जिल्ला कमिटीहरूले छुट्टाछुट्टै स्थानमा आवासको व्यवस्था गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply