प्रहरी महानिरीक्षका लागि अन्तिम कसरत
काठमाडौं । आगामी फागुन ३ गतेबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दुवै संगठनमा नयाँ आईजीपीले पदभार सम्हाल्नेछन् । त्यसका लागि एक हप्ता पनि समय बाँकी नरहँदा दुवै संगठनमा प्रतिस्पर्धीहरूको दौडधुप बढेको छ । सम्भवतः भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले दुबै संगठनको संगठन प्रमुख चयन गर्ने सम्भावना छ ।
तर अहिलेसम्म पनि यसै गर्ने भनेर केही निश्चित नभइसकेको बताइएको छ । नेपाल प्रहरीमा आईजीपी उपेन्द्रकान्त अर्यालसँगै अन्य एआईजीहरू पनि सेवाहदका कारण एकैचोटि घर जाने भएपछि अहिलेका डीआईजीहरूमध्येबाट आईजीपी चयन गरिनेछ । अहिलेका डीआईजीमध्ये वरीयतामा क्रमशः नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी रहेका छन् भने सशस्त्र प्रहरीमा एआईजीहरू क्रमश सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझामध्ये एकजना आईजीपी हुनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकको विषय गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रवेश पाए पनि टुंगो लाग्न सकेको थिएन ।
मन्त्रिपरिषद् बैठक पहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नेपाल प्रहरीको आईजीपी नेपाली कांग्रेस र सशस्त्रको आईजीपीमा माओवादी केन्द्रको सिफारिसमा छनोट गर्ने सहमति भइसकेको बताइन्छ । तर, व्यावसायिक संगठनको नेतृत्व यसरी भागबन्डाका आधारमा छनोट गर्न नहुने आवाज पनि त्यत्तिकै उठेको छ ।
स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो भागमा परेको नेपाल प्रहरीमा डीआईजी जयबहादुर चन्दको नाम लैजान गृहमन्त्री विमलेन्द्र निधिलाई निर्देशन दिइसकेका थिए । तर, वरीयताक्रम यसको असर आगामी पछि संगठनमा देखिने भन्दै हच्किएपछि बिहीबार नै दुवै आईजीपीको प्रक्रिया टुंगोमा पुग्न सकेन । तर, नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले विमेलेन्द्र निधिलाई आफ्नो निवासमै बोलाएर जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने विषयमा आफ्नो निर्देशन मान्ने वा मन्त्रीबाट राजीनामा दिएर फिर्ता आउने एउटा विकल्प रोज्नुस् भनेपछि अहिले आईजीपी नियुक्तिको प्रक्रिया निकै पेचिलो बन्दै गएको बताइन्छ ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठक बस्नुभन्दा केही मिनेटअघि मात्रै फोन गरेका डीआईजी जयबहादुर चन्दलाई समेत शेरबहादुर देउवाले तपार्इंको नाममा निर्णय भइसक्यो भन्ने जानकारी दिएको स्रोतको दाबी छ । तर, प्रतिस्पर्धीहरूबीचको रस्साकस्सी र राजनीतिक दबाबका साथै नेपाली कांग्रेसभित्रको तीव्र दबाबका कारण बिहीबारकै बैठकले यो विषयमा टुंगो लागिसकेको भए पनि यसमा फेरबदल नहोला भन्ने अवस्था छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरीयताक्रमअनुसार तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने बचन दिइसकेका छन् । उनको वचन पाएर हौसिएका चन्दले हरेक दिन बेलायतमा रहेकी देउवा पत्नी आरजु देउवालाई समेत फोनमार्फत घण्टौं कुरा गरेर दबाब सिर्जना गरिरहेको स्रोतले बताएको छ । यति मात्रै होइन केही दिनदेखि सुदूरपश्चिमका, १४ जना कांग्रेस नेता जिल्ला सभापति र सांसदहरू चन्दलाई नै आईजीपी बनाउनुपर्ने मागसहित देउवा निवास बुढानिलकण्ठमा धर्ना दिएरै बसेको देउवानिकट पारिवारिक स्रोत बताउँछ ।
त्यसो त गृहमन्त्री निधि र प्रधानमन्त्री प्रचण्ड डीआईजी नवराज सिलवाललाई आईजीपी बनाउने मानसिक रूपमा तयार भएको बुझिएको छ । तसर्थ, देउवाको मात्र यसमा केही नचल्ने बताइन्छ । मिडियाको हिलो छ्यापाछ्यापमा रौसिएका डीआईजी चन्द र सिलवालकै कारण भावी आईजीपी पड्काउने दाउमा रहेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका भतिजा प्रकाश अर्यालसमेत भित्रैभित्रै तस्कर र व्यापारीहरूलाई व्रिफकेश बोकाएर मन्त्री निवास धाउन थालेको आरोप लगाउनेहरू समेत प्रशस्त छन ।
आईजीपीको दौडमै रहेका डीआईजीहरूबाटै नेता तथा मन्त्रीलाई १० करोडसम्मको अफर लैजान तयार भएको नेपाल प्रहरीकै एक उच्च अधिकारीको दाबी छ । पहिलो वरीयतामा रहेका सिलवाल नेपाल प्रहरीमा अरूभन्दा बढी मिजास, बिद्धान एवं मिडिया एंव आम पब्लिकमा समेत घुलमिल हुन चाहने व्यक्तित्वका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो सम्बन्ध बनाएका डीआईजीका रूपमा चिनिन्छन ।
दौडमा दोस्रो स्थान र वरीयतामा तेस्रो स्थानमा रहेका चन्द पनि नेपाल प्रहरीका चतुर डीआईजीका रूपमा चिनिन्छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको प्रमुखको जिम्मेवारी सम्हालिरहेका चन्दले समेत लागू औषध तस्करीमा संम्लग्न संघाई गु्रपको ठुलै नेटवर्क प्रक्राउ गरेपछि बढी चर्चामा छन् । यसबाहेक सुरक्षा मामिलामा राम्रो जानकार चन्द कार्यदक्षताका हिसाबले कमजोर अवश्य होइनन् । आईजीपी उपेन्द्रकान्त अर्यालका भतिजा प्रकाश अर्यालका लागी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भरपुर कसरत गरिरहेका भए पनि ३५ किलो सुनको कमिसन काण्डमा मुछिएका कारण उनी आफैं खुलेर आईजीपीको दौडमा होमिन सकेका छैनन् ।
यता, सशस्त्र प्रहरी वलमा क्रमशः पाइपलाइनमा रहेका सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझामध्ये तिनैजना व्यावसायिक हिसाबले अब्बल मानिन्छ । डीएसपी भएदेखि नै अन्य प्रतिस्पर्धीभन्दा वरीयताक्रममा माथि रहेका ओझा कोषराज अन्तको कार्यकालमा आएर डीआईजीबाट एआईजी बढुवा हुँदा भने तेस्रो नम्बरमा पारिएका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply