यस्ता पनि राजदूत भए !
काठमाडौं । सरकारले सोमबार विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । चुनावको मिति घोषणा गर्नुअघि हतार–हतार बसेको मन्त्रिपरिषद् बैठकले खाली रहेका १३ देश र प्रस्तावित स्पेनसहित १४ देशका लागि सत्तारूढ दलहरूको भागबन्डामा राजदूत सिफारिस गरेको हो ।
सरकारले सिफारिस गरेका राजदूतलाई लिएर राजनीतिक वृत्तमा मात्र होइन, बौद्धिक जगत्मा व्यापक आलोचना सुरु भएको छ । खासगरी राजदूत नियुक्तिमा तीन खालको मापदण्डलाई आधार बनाइएको बताइन्छ । पहिलो– पहिल्यै पैसा बुझाएका प्रिपेडवाला, दोस्रो– पछिसम्म पनि आर्थिक रूपले काम लाग्ने र तेस्रो– नातागोताका । कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर म्यानपावर व्यवसायीलाई भर्ना गर्न थालिएको भन्दै सामाजिक सञ्जालमा पनि स्वतःस्फूर्त सरकारको आलोचना बढ्न थालेको छ । १४ जनामध्ये तीनजना प्रस्तावित राजदूत म्यानपावर व्यवसायसँग संलग्न रहेको बुझिएको छ । मधेसी जनअधिकार फोरमको कोटाबाट ओमानका लागि सिफारिस शर्मिला पराजुली र नेपाली कांग्रेस कोटाबाट कतारका लागि सिफारिस रमेशप्रसाद कोइराला र यूएईका लागि सिफारिस आशा लामा म्यानपावर व्यवसायसँग संलग्न रहेको स्रोतले बतायो । स्रोतका अनुसार पराजुलीकोे सिंगै परिवार म्यानपावर व्यवसायमा सक्रिय छ । बानेश्वरको थापागाउँमा उनका पति विमल ढकालका नाममा फ्लोरिड नामको म्यानपावर कम्पनी छ । बीएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्युटमेन्टजस्ता युवायुवती विदेश सप्लाई गर्ने कम्पनीहरूमा शर्मिला र उनका परिवारजनको संलग्नता रहेको बताइन्छ । उनी यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा पनि फोरमकै कोटाबाट ओमानका लागि सिफारिस भएकी थिइन् । पछिल्लो समय उनी ओमानकै लागि कामदार पठाउने कार्यमा संलग्न रहेको बताइन्छ ।
कांग्रेस कोटाबाट कतारका लागि सिफारिस कोइरालाको पनि म्यानपावर व्यवसायमा संलग्नता रहेको बुझिएको छ । सुशील कोइराला नेतृत्वको सरकारका पालामा उनी तत्कालीन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको सल्लाहकार थिए । उनी कमर्स क्याम्पस मीनभवनमा प्राध्यापन पेसामा पनि संलग्न थिए । यूएईका लागि सिफारिस लामा पनि म्यानपावर व्यवसायसँग संलग्न रहेको स्रोतले बतायो । बूढानीलकण्ठमा रहेको डेफोडिल स्कुलका सञ्चालिकासमेत रहेकी लामाले आशा फाउन्डेसन नामक संस्था चलाउदै आएको छ । यो संस्थाले असहाय महिलाका पक्षमा काम गर्ने बताए पनि भित्रभित्र भने महिला ओसारपसारको काम गर्ने गरेको स्रोतको दाबी छ । कांग्रेस कोटाबाटै दक्षिण कोरियाका लागि सिफारिस अर्जुनजंगबहादुर सिंह पूर्वसांसद हुन् । म्यानमारका लागि सिफारिस भीम उदास गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वउपाध्यक्ष हुन् भने बंगलादेशका लागि सिफारिस चोपलाल भुसाल कांग्रेस नेतृ पुष्पा भुसालका पति हुन् । श्रीलंकाका लागि सिफारिस विश्वम्भर प्याकुरेल नाम चलेका अर्थशास्त्री हुन् । उनलाई श्रीलंकाजस्तो देशका सिफारिस गरेर कांग्रेसले उनको योग्यताको कदर नगरेको गाइँगुइँ कांग्रेस वृत्तमै चल्न थालेको छ । उनी कांग्रेस नेता डा. रामशरण महतका ‘क्लासमेट’ पनि हुन् ।
सत्ता साझेदार अर्को दल राप्रपाबाट जापानका लागि सिफारिस ०६४ को संविधानसभामा कांग्रेस कोटाबाटै सभासद् भएकी थिइन् । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासू पनि हुन् । स्पेनका लागि सिफारिस भरत रायमाझी सेनाका अवकाशप्राप्त सहायक रथी हुन् । दरबार हत्याकाण्डका बेला उनी दरबाभित्रै रहको शाही रक्षक बाहिनीमा बाहिनीपति थिए । इजरायलका लागि सिफारिस निरञ्जन थापा पञ्चायतकालमा गृह राज्यमन्त्री थिए ।
दुईको बैना डुब्यो
राजदूतका लागि पार्टीलाई बैना रकम बुझाइसकेका दुईजनाको भने बैना रकम डुबेको चर्चा कूटनीतिक वृत्तमा व्याप्त छ । स्रोतका अनुसार दिव्यमणि राजभण्डारी र खगेन्द्र बस्नेतले राजदूत बन्नका लागि पहिल्यै राप्रपा नेपाललाई पैसा बुझाइसकेका थिए । उनीहरूसँग पैसा लिएर अघिल्लो सरकारका पालामा राप्रपा नेपालको कोटाबाट भण्डारी इजरायलका लागि.र बस्नेत जापानका लागि सिफारिस भएका थिए । भण्डारीसँग त सभासद् बनाउन भनेरै मोटो रकम लिएको स्रोतले बतायो । तर, सभासद् बनाउन नसकेकपछि राजदूत बनाउने भनेर थुम्थुम्याएको थियो । तर, उनी अहिले राजदूतमा पनि परेनन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply