एमालेको अभियान र मोर्चाको असहिष्णुता
निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यको आवाज उठाउँदै न्याय, स्वतन्त्रता र जनताको पक्षमा उभिएका झापाका पाँचजना योद्धाले सुखानीको जंगलमा जीवन आहुति दिएकै दिन अर्थात् फागुन २१ बाट नेकपा (एमाले) ले पूर्वको काँकडभिट्टाबाट मेची–महाकाली राष्ट्रिय अभियान प्रारम्भ गरेको छ । संविधान जारी भएपछि सुस्ताएको तराई–मधेसलाई ब्युँझाउने संकल्पबोध बोकेर एमालेले पन्ध्रदिने अभियान थालेको हो । तराई–मधेसका २२ वटै जिल्लामा अभियान लैजाने र जनतालाई जागृत तुल्याउने एमालेको प्रयत्नको अहिले सर्वत्र प्रशंसा भइरहेको छ र एमालेको अभियानले तराई–मधेसका फाँट, देहात र सहर–बजारमा उल्लासको माहोलसमेत सिर्जना भइरहेको छ । मधेसलाई जागृत तुल्याउने एमालेको अभियानप्रति अरू राजनीतिक दलले पनि सराहना गरिरहेका छन् र तराई–मधेसका जनताको अपार सहभागिताले एमालेको अभियानले सार्थकता ग्रहण गरिरहेको छ अहिले ।
सिंगो तराई–मधेसलाई जागृत गर्ने हेतुले प्रारम्भ भएको एमालेको अभियानप्रति सर्वत्र सकारात्मक र प्रशंसायोग्य प्रतिक्रियाहरू प्राप्त भइरहेका बेला तराई–मधेसलाई आफ्नो पुस्तैनी बिर्ता ठान्ने केही मधेसी दलहरूले भने अराजनीति, असहिष्णु र निषेधको राजनीतिलाई प्रश्रय दिएका छन् । खासगरी, तराई–मधेसकेन्द्रित राजनीति गर्दै आइरहेका मधेसी मोर्चाले एमालेको अभियानलाई निषेध गर्ने उद्देश्यले ठाउँ–ठाउँमा अवरोध सिर्जना गर्ने, एमालेको कार्यक्रमलाई लक्षित गरेर बन्द आह्वान गर्ने र जनतालाई एमालेको कार्यक्रममा जानबाट रोक्न हरसम्भव प्रयत्न गर्ने जुन काम गरिरहेका छन्, त्यसले मधेसी मोर्चामा मौलाएको असहिष्णुताको पर्दाफास गरेको छ ।
एमालेको अभियानलाई असफल पार्न मधेसी मोर्चाले जे–जस्तो अग्रता लिइरहेको छ, त्यो कुनै पनि राजनीतिक शक्तिमा हुने गुण होइन । राजनीति गर्नेहरूमा जनताको मन र मत लिने सक्षमता हुनुपर्छ । राजनीति गर्नेहरूले जनताका बीचमा भ्रम बाँडेर होइन, सही राजनीतिक विचार पस्केर आफूलाई जनपंक्तिमा स्थापित तुल्याउने ल्याकत राख्नुपर्छ । तर, २०६३ ताका मधेस आन्दोलन उब्जाएर राजनीतिमा जम्न पुगेको मधेसी मोर्चाले भने तराई–मधेसका जनतामा सही र वास्तविक विचार राखेर होइन, उनीहरूबीच भ्रम छर्दै र अरू राजनीतिक दलहरूलाई निधेष गर्दै आफ्नो राजनीतिक खिचडी पकाउँदै आएका छन् । अहिले तराई–मधेसमा जागरण फैलाउन उद्यत एमालेको अभियानलाई भाँड्न मधेसी मोर्चाले जे–जस्तो क्रियाकलाप प्रदर्शन गरिरहेको छ, यो हठात् र असन्तुलित मनस्थितिको उपज त हो नै, राजनीतिक असहिष्णुताको पराकाष्ठा पनि हो ।
एमाले देशको शक्तिशाली र प्रभावशाली राजनीतिक शक्ति हो । देशको कुनै पनि भू–भागमा पुगेर जनताका बीच आफ्ना विचार राख्ने स्वतन्त्रता एमालेलाई छ । निरंकुश पञ्चायतीकाल र राजा ज्ञानेन्द्रको शासन कालमा समेत जनताबीच जान रोक्न नसकेको एमालेलाई अहिले कसैले जनताबाट पृथक् तुल्याउँछु भनेर कल्पना गर्छन् भनेर त्यो दिवास्वप्नबाहेक अरू हुन सक्दैन । एमाले जनमतकै आधारमा टिकेको शक्ति भएको हुँदा पनि जनताभन्दा अलग भएर राजनीति गर्ने सोच एमालेले राख्न सक्दा पनि सक्दैन । तर, एमालेलाई बढार्ने र आफू मात्रै स्थापित हुने सोचमा मधेसी मोर्चा निमग्न रहेको हुँदा उनीहरूको त्यस्तो सपना पूरा हुने कुनै छाँट देखिँदैन ।
एमालेले उपयुक्त समयमा तराई–मधेसका जनताबीच आफूलाई पु¥याएको छ । सबैलाई थाहा भएकै विषय हो, संविधान जारी भएपछि तराई–मधेसमा अरू राजनीतिक शक्तिलाई छिर्नबाट मधेसी मोर्चाले सदैव अवरोध पु¥याउँदै आयो । राजनीतिक दलहरूलाई अवरोध मात्र पु¥याएन, तराई–मधेसका जनतासँग संवादहीनताको स्थिति जन्माएर संविधानबारे अनेक भ्रमहरू छर्ने काम पनि मोर्चाका नेताहरूले गरे । ९० प्रतिशत जनप्रतिनिधिले पारित गरेको संविधानलाई मधेसविरोधी देखाउने हरेक प्रयत्न मोर्चाका नेताहरूबाट हुँदै आयो । र, मधेसी मोर्चाले संविधान जारी गर्न मुख्य भूमिका खेल्ने प्रमुख राजनीतिक शक्तिहरूलाई मधेसमा छिर्न नदिने प्रपञ्च त्यही बेलादेखि नै रच्यो र संविधानबारे सकारात्मक कुराको प्रचारप्रसार भए मधेसमा आफ्नो राजनीतिक धरातल खस्किने भयबीच नै मोर्चाका नेताहरू अल्झिरहे । तर, अहिले एमालेले मधेसी जनतामा व्याप्त भ्रमलाई चिर्न जुन अभियान प्रारम्भ गरेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ र मधेसी जनता कसैका बन्धक जनावार होइनन् भन्ने कुरालाई चिर्न आवश्यक छ ।
मधेसी मोर्चाले एमालेलाई मधेसविरोधी देखाउने अनेक प्रयत्न जारी राखेका छन् । उनीहरूको यस्तो प्रयत्न संविधान जारी भएपछि झनै तन्कियो । संविधान जारी गर्न एमालेले निर्वाह गरेको भूमिकाप्रति असन्तुष्ट रहेका मधेसी मोर्चाले एमालेलाई मधेसविरोधी देखाउन खोज्नु कुनै अनौठो विषय पनि होइन । किनकि, एमालेलाई मधेसविरोधी प्रमाणित गराए मात्र आफ्नो राजनीतिक उद्देश्य पूरा हुने कुरा मोर्चाका नेताहरूले बुझेका छन् । तर, तराई–मधेसको अभियानमा जुटेको एमालेले अब भने आफूलाई मधेसविरोधी भएको आरोपको दह्रो खण्डन गर्नु त पर्छ नै, मधेसको विकासमा गरेका प्रयत्नहरूबारे पनि मधेसी जनतालाई सुसूचित तुल्याउन र नेपालको संविधान मधेसी जनताको पक्षमा रहेको कुरालाई स्थापित तुल्याउन भूमिका खेल्नु अनिवार्य छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply