आफ्नैबाट एक्लिँदै देउवा
निधि, महत, खाँड, साउदसमेत असन्तुष्ट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समयमा आफ्नैहरूबाट धोका र बदनामी कमाउनुपरेको भन्दै चिन्तित बनेका छन् । देउवानिकट स्रोतका अनुसार आफूले बढी विश्वास गरेर मन्त्रिमण्डलमा पठाएका विमलेन्द्र निधि र डा. प्रकाशशरण महतको व्यवहारका कारण आफू बदनाम हुँदै गएको गुनासो निकटस्थहरूसँग गर्न थालेका छन् ।
आफ्नैहरूको व्यवहारका कारण पार्टीभित्र आफ्नो ‘क्रेज’ घट्दै गएको निष्कर्षमा उनी पुगेको बताइन्छ । खासगरि प्रहरी महानिरीक्षक नियुक्ति र राजदूत सिफारिस प्रकरणमा आफ्नैको साथ सहयोग नपाएको र उल्टै बदनामी कमाउनुपरेको गुनासो देउवाले गर्ने गरेको विश्वस्त स्रोतले बतायो । स्रोतका अनुसार राजदूत सिफारिस प्रकरणमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आरजुलाई हातमा लिएर आफूलाई फसाएको निष्कर्षमा देउवा पुगेको बताइन्छ । म्यानपावर व्यवसायी आशा लामा, रमेश कोइरालासँग मन्त्री महतले पैसा बुझेर त्यो पैसा आरजूलाई जिम्मा लगाएको र आरजूको सल्लाहमा देउवाले ती नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको बताइन्छ । कांग्रेसबाट प्रस्तावित ती नामबारे जनस्तरबाटै तीव्र आलोचना भएपछि लामाको नाम मन्त्रिपरिषद् बैठकले फिर्ता लिए पनि कोइरालाको नाम भने फिर्ता लिएन ।
महतसँग भन्दा देउवा उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिसँग झन् रुष्ट रहेको बताइन्छ । स्रोतका अनुसार आईजी नियुक्ति प्रकरणअघिसम्म निधि पार्टीको उपसभापतिका लागि चाकडी गर्न भने पनि दिनहुँजसो देउवा निवास बूढानीलकण्ठ पुग्थे । तर, पछिल्लो समय औपचारिक कार्यक्रममा हुने भेटघाट र बोलचालबाहेक यी दुईबीच न भेटघाट हुन्छ न त बोलचाल नै । राजदूत सिफारिस प्रकरणमा पनि निधिले खुलेर देउवाको विरोध गरेपछि उनले बरु शेखर कोइरालालाई उपसभापति बनाउने तर निधिलाई नबनाउने जानकारी निधिको कानसम्म पु¥याइसकेका छन् । देउवाको यो सन्देश पाएपछि पद जोगाउनका लागि पनि निधिले अहिले भारत भ्रमण गरेको अनुमान कांग्रेस वृत्तमा लगाइएको छ । म पार्टीबाट नेतृत्व गरेर जाने, मैले नै पार्टीका तर्फबाट प्रस्तावित राजदूतको नाम प्रधानमन्त्रीबाट थाहा पाउनुपर्ने ? संसदीय मान्यता बोक्ने, प्रजातान्त्रिक पार्टी भन्ने पार्टीका सभापतिको यस्तो चाला ठीक भएन भन्दै राजदूत सिफारिस प्रकरणमा निधिले देउवाको विरोध गरेका थिए । शेखरलाई उपसभापति बनाउँदा सोही पदका अर्का दाबेदार खुमबहादुर खड्काले पनि चित्त बुझाउने बताइन्छ ।
त्यति मात्र होइन, अहिले देउवासँग महत र निधिबाहेक बालकृष्ण खाँड, एनपी साउदलगायतका नेता पनि असन्तुष्ट छन् । उनीहरूचाहिँ देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउने तयारी गरेपछि असन्तुष्ट भएका हुन् । आफैं चुनाव लडेर जित्न नसक्ने भएपछि समानुपातिकबाट सांसद हुने, पार्टीको केन्द्रीय सदस्यमा पनि खुलातर्फको २५ मध्येमा २०औं स्थानमा जित्ने कार्कीलाई महामन्त्री बनाउन नहुने भन्दै उनीहरूले विरोध गरेको बताइन्छ । विगतमा तत्कालीन सभापति सुशील कोइरालाले कृष्णप्रसाद सिटौलालाई महामन्त्री मनोनीत गर्दा देउवाले पन्ध्रौं स्थानमा जित्ने सिटौलालाई किन ? भन्दै विरोध गरेका थिए । अहिले खाँड, साउदलगायतका नेताले यही प्रश्न देउवासँग गरेको बताइन्छ । उनीहरूको प्रश्न , ‘विगतमा पन्ध्रौं नम्बरको कृष्ण सिटौलालाई मनोनीत महामन्त्री बनाउन पाइँदैन भनेर हिजो हामीले नै भन्ने, आज २०औं नम्बरका कार्कीलाई तपाईं आफैं सिफारिस गर्ने ?’ नेविसंघबाट राजनीति गरेर अहिले राम्रो स्थानसहित केन्द्रीय कमिटीमा आएका खाँड, साउदलगायत आफ्नैले विरोध गरेपछि म थेग्न सक्तिनँ भनेर देउवाले केन्द्रीय कमिटीको बैठक नबोलाएको स्रोतको दाबी छ ।
महाधिवेशनमा देउवालाई नै साथ दिएका खुमबहादुर खड्का त झन् महाधिवेशनपछि लगत्तै देउवासँग चिढिएका छन् । खड्कालाई उपसभापति बनाउने सर्तमा खड्काले देउवालाई समर्थन गरेका थिए । तर, सभापति जितिसकेपछि निधिलाई उपसभापति बनाउने भन्दै च्यापेपछि खड्का रुष्ट भएका हुन् । अहिले आफूसँग कुनै सल्लाह नगरी पदाधिकारी सिफारिस भए रामचन्द्र पौडेलसँग मिलेर असफल बनाउने, उनले सिफारिस गरेका पदाधिकारीसम्बन्धी निर्णय पारित गर्न नदिने योजनामा खुमबहादुर समूह तत्लीन रहेको बताइन्छ । खड्काको यो योजनामो पौडेल समूह पनि साथ दिने स्रोतको दाबी छ ।
निधिलाई ‘चेक दिन’ बानियाँ
देउवा र निधिबीचको सम्बन्ध कति तिक्ततापूर्ण भइसकेको छ भने पछिल्लो समयमा भएको मन्त्रीहरूको हेरफेरमा देउवाले निधिलाई ‘चेक’ दिनकै लागि इन्द्रबहादुर बानियाँलाई गृह राज्यमन्त्री बनाएको स्रोतको दाबी छ ।
बानियाँ यसअघि पर्यटन राज्यमन्त्री थिए । उक्त मन्त्रालय राप्रपालाई दिएपछि बानियाँलाई निधिले सम्हाल्दै आएको गृह मन्त्रालयको राज्यमन्त्री बनाइएको हो । ठेकेदार पृष्ठभूमिका बानियाँ देउवाका विश्वासपात्र हुन् । निधिले के–के गर्छ ? क–कसलाई भेट्छ ? सबै सूचनाका लागि देउवाले बानियाँलाई गृह राज्यमन्त्री बनाएको चर्चा कांग्रेस वृत्तमा छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply