विकासको पच्चीसी वर्षे योजना बनाउँदै एमाले
काठमाडौं । नेकपा एमालेले चुनावी तयारीसँगै ‘पच्चीस वर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका शीर्ष नेताहरूको उपस्थितिमा सोमबार बृहत् विद्वत् सभा आयोजना गरी एमालेले त्यससम्बन्धी गृहकार्य अघि बढेको जानकारी गराएको हो ।
सन् २०९९ सम्म विकासशील हुँदै विकसित मुलुकको दर्जामा पु¥याउने गरी नीतिगत, संरचनागत र कानुनी आधार तयार पार्ने उद्देश्यले गृहकार्य सुरु गरिएको सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए । ‘पच्चीस वर्षमा नेपाललाई समृद्धिको उचाइमा पु¥याउन गर्नुपर्ने तात्कालिक काम र दीर्घकालीन कामका सन्दर्भमा नीतिगत, संरचनागत र कानुनी आधारका लागि विद्वत् वर्गको सुझाव लिएका हौं, सचिवालय सचिव ज्ञवालीले भने, ‘हामी समग्र बहसलाई विकास र समृद्धितर्फ केन्द्रित गर्दै अब राष्ट्रको प्रमुख एजेन्डा बनाउन चाहन्छौं ।’
विद्वत् सुझाव कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले विकास र समृद्धिसम्बन्धी दीर्घकालीन योजनाबारे अवधारणापत्र प्रस्तुत गरेका थिए । एमालेले पार्टीको नवौं महाधिवेशनबाट समृद्ध नेपाल ः सुखी नेपालीको नारासहित पच्चीस वर्षपछिको समृद्ध नेपाल बनाउने ‘मोडेल’ अघि सार्ने नीति पारित गरेको थियो ।
विभिन्न क्षेत्रका करिब डेढ सय विज्ञ सहभागी कार्यक्रममासयजनाले अबको विकसित र समृद्ध नेपालको खाकाका सन्दर्भमा गर्नुपर्ने संवैधानिक, कानुनी, संरचनागत लगायतका सुझावहरू राखेका थिए । संविधानविद् काशीराज दाहाल, कूटनीतिज्ञहरू हीरण्यलाल श्रेष्ठ, राजेश्वर आचार्य, डा. महेश मास्के, शम्भुराम सिम्खडा, अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, डा. डिल्लीराज खनाल, डा. खिमलाल देवकोटा, डा. विद्यानाथ कोइराला, डा. गणेशमान गुरुङ, डा. गोविन्दबहादुर गुरुङ, सिचुआन युनिभर्सिटीका प्रा.डा. कृष्णप्रसाद ओली, डा. पीताम्बर शर्मा, इन्जिनियर सरोजकुमार उपाध्याय, पयर्टनविद् सुमन पाण्डे, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, उद्योगपति हरिभक्त शर्मा, वरिष्ठ पत्रकाहरू कनकमणि दीक्षित, तीर्थ कोइरालालगायतले सुझाव राखेका थिए ।
दीर्घकालीन योजनाका लागि विद्वत् सभा आयोजना गरिएको भनिए पनि एमालेले उनीहरूको सुझावलाई समेत मध्यनजर गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको छ । पार्टीसँग निकट विज्ञहरूलाई सहभागी गरेर एमालेले घोषणापत्र तयारी गरिरहेको छ । ‘चुनावी घोषणापत्रमा विद्वत् सभामा आएका सुझावहरू पनि प्रतिविम्बित हुन सक्छन्,’ ज्ञवालीले भने, ‘तर, मूलतः दीर्घकालीन योजनाकै लागि सुझाव लिने उद्देश्यले नै विद्वत् वर्गलाई बोलाइएको हो ।’ एमालेले ६ महिनाभित्र विकास र समृद्धिको दीर्घकालीन योजना सार्वजनिक गरिने जनाएको छ ।
आर्थिक विकासका लागि त हाम्रा लागि १० वर्ष नै काफी रहेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बताए । उनले भने, ‘तर, यो विद्वत् भेला निर्वाचन घोषणापत्रमा सुझाव लिनका लागि होइन, सन् २०९९ सम्म देशलाई अचम्मित हुने गरी समृद्ध र विकसित बनाउने गरी योजना बनाउन आयोजना गरिएको हो । त्यसका लागि हामी तपाईंहरूका सुझाव सुन्न चाहन्छौं । यो शताब्दीको अन्त्यसम्म हामी विकसित बनाउन सक्छौं ।’
केही पहिले विश्वको ह्यापिनेस (सबैभन्दा खुसी) को पहिलो सूचीको देशमा नर्वे परेको सार्वजनिक भएकोप्रति आश्चर्य प्रकट गर्दै उनले भने, ‘त्यो सूचीमा त नेपाल हुनुपथ्र्यो । यस्तो उर्वर भूमि । ज्ञान–विज्ञानको तपोभूमि, पूर्वीय दर्शनको खानी, ऋषिमुनिहरूको सन्तान नेपाली, दुनियाँसँग लडाइँ लडेर वीरता देखाएको, काममा सबैले पत्याएको, ऊर्जावान् युवाहरूको देश, विश्व शान्तिको सन्देश फैलाउने गौतम बुद्धको देश, म होइन हामी– सामूहिकताको भावना । तर, अलिकति देश राजनीतिक सेन्टिमेन्टलतिर मात्रै बहकिएकाले केही प्रस्ट पार्दै, व्यवस्थापन गर्दै अघि बढ्न जरुरी छ ।’
एमाले राष्ट्रिय हित–सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा दलीय स्वार्थको साँघुरो घेरामा कैद नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले देश विकासका लागि के–के योजना चाहिन्छ ? त्यसका लागि कुन क्षेत्रमा कति दक्ष जनशक्ति उत्पादन गर्दै जानुपर्छ, शिक्षाको योजना के हुनुपर्छ ? कृषिको आधुनिकीकरण, देशलाई आत्मनिर्भरताको बाटोमा लैजाने कुरामा निजी क्षेत्रसँगको साझेदारीदेखि सुशासनलगायत सबैमा स्पष्ट नीति र योजनासाथ एमाले अघि बढ्न चाहेको बताए । उनले भने, ‘अब नेपाल भूपरिवेष्टित या कुनै देशवेष्टित होइन, पारस्परिक सम्मान, सहकार्यसहित अघि बढ्न खोजिरहेको छ । चीनको वान बेल्ट वान रोडको अवधारणा हाम्रा लागि धेरै उपयोगी छ । आन्तरिक कनेक्टिभिटीसँगै संसारसँगको कनेक्टिभिटीमा रहेर बढ्न चाहन्छौं ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply