मन्त्रीलाई नटेरेपछि सचिव फेर्ने सुर
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले केही महानगरपालिका र जिल्ला समन्वय समितिहरूमा आफूअनुकूलका कर्मचारीहरू पठाउन लागेपछि असहमति जनाएका सचिव केदारबहादुर अधिकारीलाई फेर्न खोजेका छन् । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने भ्रमण सिध्याएर आज चीनबाट फर्केपछि अधिकारीलाई फेर्ने र उनलाई प्रधानमन्त्री कार्यालयमा लगिने सम्भावना रहेको बताइन्छ ।
साबिकका जिल्ला विकास समितिहरू संघीय ढाँचाअनुरूप समन्वय समितिमा बदलिए पनि आर्थिक वर्ष सकिन लागेको हुँदा जिल्लामा थुप्रिएर रहेका बजेट खर्च गर्नुपर्ने चटारो सुरु भएको छ । बजेट खर्च गर्नुपर्ने बेला भएको हुँदा आफूअनुकूलका कर्मचारीहरूलाई स्थानीय विकास अधिकारीको जिम्मेवारी दिएर पठाउने तयारीमा मन्त्री थापा लागे पनि सचिव अधिकारीले भने त्यसमा भाँजो हालेको बताइन्छ । स्थानीय तहको निर्वाचनको घोषणा भइसकेको हुँदा आचार–संहिताले कर्मचारीहरूको सरुवा, बढुवा गर्न रोके पनि आयोगको सहमति लिएर कर्मचारीहरूलाई सरुवा गर्ने काम भने हुँदै आएको छ ।
मन्त्री थापाले कर्मचारीहरूको सरुवाको च्यानल मिलाउने काम भने आफ्ना स्वकीय सचिव राजाराम बर्तौलालाई दिएका छन् । बर्तौलाले भने केही कर्मचारीहरूसँग पैसाको मोलमोलाइ गरेर आकर्षक ठाउँमा सरुवा गर्न चासो देखाइरहेको बताइन्छ । १८ वटा नयाँ नगरपालिकामा कार्यकारी प्रमुख बनाएर पठाउने क्रममा बर्तौलाले चलखेल गरेको थाहा भएको छ । ती नगरपालिकाहरूमा उपसचिव तहका कर्मचारीहरू पठाउनुपर्नेमा पैसाको मोलमोलाइ गरेर शाखा अधिकृतहरूलाई पठाइएको बताइन्छ ।
यसैगरी, सोही मन्त्रालयका सहसचिव चक्रबहादुर बुढालाई पनि अन्यत्रै पठाइने सम्भावना रहेको बताइन्छ । ७ सय ४४ स्थानीय तहमा कर्मचारीहरूको सरुवा र व्यवस्थापन गर्दा पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माको निर्देशनलाई सहसचिव बुढाले हुबहु लागू गरेका थिए । सहसचिव बुढाको कार्यशैलीलाई लिएर मन्त्रालयमा आलोचना मात्र हुने गरेको छैन, कर्मचारीहरूले पनि उनलाई फेर्नुपर्ने कुरा उठाइरहेका छन् । उनलाई अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नै मन्त्रालयमा ल्याउने तयारी गरिरहेको बताइन्छ ।
केही दिनअघि त सहसचिव बुढाप्रति रुष्ट कर्मचारीहरूले उनको कार्यकक्षमै मुड्की बजारेका थिए । गत शुक्रबार कर्मचारीहरूको सरुवाको विषयलाई लिएर सहसचिव बुढालाई भेट्न मन्त्रालय गएका कर्मचारीहरूले उनलाई आफ्नो कार्यकक्षमा नभेटेपछि सचिवकहाँ गएका थिए । तर, सचिवले पनि समय दिन मानेनन् । पछि, तिनै बुढा सचिवको बैठक हलमा बसेर कर्मचारीहरूको सरुवाको सूची बनाउँदै गर्दा फेला परे । उनलाई कर्मचारीहरूले ‘तपाईं आफ्नो कार्यकक्ष छाडेर किन हिँड्नुभएको ? आफ्नै कार्यकक्षमा हिँड्नुस्’ भनेर तानेर ल्याए । आफ्नै कार्यकक्षमा फर्किएपछि बुढा र कर्मचारीहरूबीच सरुवाको विषयलाई लिएर केही समय भनाभन भयो । पछि, कर्मचारीहरूले उनको टेबुलमै मुड्की बजारेका थिए ।
सहसचिव बुढाले माओवादीनिकट कर्मचारीहरूको योजनाअनुरूप अरू दलनिकट कर्मचारीहरूलाई दुर्गम ठाउँमा पठाउने काम गरेका थिए । उनले ७ सय ४४ स्थानीय तहमा एमालेनिकट कर्मचारी संगठनले सिफारिस गरेकामध्ये पाँचजनालाई मात्र सरुवा गरेका थिए भने द्वन्द्वग्रस्त २ नम्बर प्रदेशमा पाँचजना महिला कर्मचारीलाई पठाइएको थियो । तर, कर्मचारीहरूको दबाबपछि २ नम्बर प्रदेशमा पठाइएका महिला कर्मचारीहरूलाई भने फिर्ता बोलाउने तयारी थालेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply