सुमार्गीको खुल्ने भो मार्ग
काठमाडौं । विदेशी विनिमय ऐनविपरीत अर्थमन्त्री कृष्णबहादुर महराले विवादास्पद व्यापारी अजेयराज सुमार्गीको रोकिएको अर्बौं रुपैयाँ फुकुवा गर्ने तयारी थालेका छन् । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले करिब दुई महिनाअघि नै व्यापारी सुमार्गीको नाममा विदेशबाट आएको स्रोत नखुलेको रकम फुकुवा गर्नेबारे निर्णय गरेर अर्थ मन्त्रालयमा पठाइसकेको छ ।
दुई महिनाअघि नै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ र तत्कालीन सञ्चालकहरू डा. रामहरि अर्याल र श्रीराम पौडेल उपस्थित रहेको राष्ट्र बैंकको बोर्डले व्यापारी सुमार्गीको नाममा आएर केही बैंकहरूमा थुप्रिएर रहेको अर्बौं रकम मन्त्रिपरिषद्बाट फुकुवा गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको बोर्डले उक्त निर्णय गर्दा बोर्ड सदस्य बिकेमान सिंह भने उपस्थित थिएन । सिंहको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले उनलाई बोर्ड बैठकमा सहभागी हुन रोक लगाएको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिले व्यापारी सुमार्गीको नाममा भर्जिन आइल्यान्डबाट आएर नेपालको बैंकमा थन्किएको करिब ६ अर्ब ५० करोड रुपैयाँ फुकुवा गर्न अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको बुझिएको छ । अहिले राष्ट्र बैंकले निर्णय गरेर पठाएको सो प्रस्ताव अर्थ मन्त्रालयमा रहेको छ र अर्थमन्त्री महराले स्थानीय तहको निर्वाचनअघि नै सो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको बताइन्छ । मन्त्रिपरिषद्ले सो प्रस्ताव पारित गरे नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रहेको र सुमार्गीको नाममा आएको स्रोत नखुलेको अर्बौं रकम फुकुवा हुने देखिन्छ ।
त्यसो त राष्ट्र बैंकका गभर्नर डा. नेपाललगायत सिंगो सञ्चालक समितिलाई नै व्यापारी सुमार्गीले प्रभावमा पारेर उक्त निर्णय गर्न लगाइएको बुझिएको छ । सञ्चालक समितिमा रहेका अर्याल र पौडेल भने अवधि सकेर बाहिरिइसकेका छन् । उनीहरूका ठाउँमा नयाँ सञ्चालकहरू नियुक्त हुन सकेका छैनन् ।
भर्जिन आइल्यान्डबाट आएको अर्बौं रकम ती बैंकहरूमा विगत केही वर्षदेखि त्यत्तिकै अड्किएर बसेको हो । आफ्नो नाममा स्रोत नखुलेको अर्बौं रकम आएपछि त्यसलाई फुकुवा गर्न व्यापारी सुमार्गीले विभिन्न शक्तिकेन्द्रहरूमा व्यापक रूपमा दौडधुप गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बर्खास्तगीमा परेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पनि सो रकम फुकुवा गर्न गुहारेका थिए । तर, राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडाले भने सो रकम फुकुवा गर्दा विदेशी विनिमय ऐनविपरीत हुने भन्दै अस्वीकार गर्दै आएका थिए । तर, अहिले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निकट रहेका व्यापारी सुमार्गी मन्त्रिपरिषद्बाट सो रकम फुकुवा गर्ने निर्णय गराउन सक्रिय रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply