बिमा कम्पनीलाई अनुमति दिँदा करोडौं असुले प्रकाशले
काठमाडौं । १० वटा नयाँ बिमा कम्पनीलाई स्वीकृति दिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र प्रकाश दाहालले करोडौं रूपैयाँ असुलेको रहस्य खुलेको छ । एउटा बिमा कम्पनीलाई स्वीकृति दिँदा करिब १० करोडजति उठाएर प्रचण्ड–पुत्र दाहालले चुनावको मुखमा राम्रै आर्थिक उपार्जन गरेको बताइन्छ ।
केही दिनअघि अर्थ मन्त्रालयले स्वीकृति दिएको १० वटा जीवन बिमा कम्पनीहरू सानिमा, सिटिजन्स, रिलायबल, स्टार, सन नेपाल, रिलायन्स, आईएमई, महालक्ष्मी, ज्योति र युनियन लाइफले डा. रामशरण महत अर्थमन्त्री भएकै बेलामा स्वीकृतिका लागि निवेदन दिएका थिए । त्यतिबेला नयाँ बिमा कम्पनीहरूलाई स्वीकृत दिन उपयुक्त हुन्छ कि हुँदैन भनेर मन्त्री महतले बिमा समितिका तत्कालीन अध्यक्ष डा. फत्तबहादुर केसीलाई अध्ययन गर्न जिम्मा दिएका थिए । केसीले नयाँ बिमा कम्पनीहरूलाई सञ्चालन अनुमति दिँदा पुरानाहरू धराशायी हुने र नयाँ चल्न पनि गाह्रो हुने बताएपछि त्यतिबेला दिएका निवेदनमाथि कुनै कारबाही अघि बढ्न सकेको थिएन । पुराना बिमा कम्पनीहरूलाई नै बिजनेस नपुगिरहेको बेला नयाँलाई दिँदा बिमा कम्पनीहरू नै धराशायी हुने तर्क दिँदै डा. केसीले त्यतिबेला रोकेका थिए ।
एसियन, सूर्या लाइफ, प्राइम र गुराँसजस्ता जीवनबिमा कम्पनीहरू केही वर्षअघि नै धराशायी भइसकेका छन् । डा. केसीले नेपालको जनसंख्याको अनुपातलाई हेर्दा सीमित जीवनबिमा कम्पनी भए पुग्ने निष्कर्ष निकाल्दै नयाँ बिमा कम्पनीलाई अनुमति नदिने निर्णय नै गरेको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री भएकै दिनदेखि बिमा कम्पनी सञ्चालन गर्न चाहनेहरूले अनुमति लिन दौडधुप सुरु गरेको बताइन्छ । उनीहरूले प्रधानमन्त्री–पुत्र दाहाललाई हातमा लिएर अहिले सञ्चालन अनुमति लिन पुगेका हुन् ।
ती नयाँ १० वटा बिमा कम्पनीलाई अनुमति दिने सर्तमा नै सरकारले चिरञ्जीवी चापागाईंलाई बिमा समितिको अध्यक्षमा नियुक्त गरेको थियो । चापागाईं नियुक्त हुनेबित्तिकै १० वटा नयाँ बिमा कम्पनीहरूले अनुमति पाएका थिए । तर, नयाँ बिमा कम्पनीहरूलाई अनुमति दिने निर्णय गरेर चापागार्इं भने अमेरिकातिर उडिसकेका छन् । उनी समितिको कार्यकारी निर्देशकमा श्रीमान् कार्कीलाई नियुक्त गरेलगत्तै अमेरिका लागेका हुन् ।
अर्थमन्त्रीबाट बहिर्गमन हुने बेला कृष्णबहादुर महराले पनि प्रचण्ड–पुत्रको दबाबमा ती बिमा कम्पनीहरूलाई अनुमति दिएका हुन् । प्रचण्ड–पुत्र दाहालले अर्थमन्त्री महरा, अर्थ सचिव डा. शान्तराज सुवेदीलगायतलाई दबाब दिएर मोटो रकमका लागि बिमा कम्पनीहरूलाई अनुमति दिन बाध्य पारिएको बताइन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूका संख्या बढी भएका कारण ती संख्या घटाउने हेतुले चार गुणा पुँजी वृद्धिको नीति ल्याएर बैंकहरूको संख्या घटिरहेका बेला अर्थमन्त्री महराले भने नेपालको बिमा कम्पनीहरूका अवस्था नै नबुझी १० वटा नयाँ बिमा कम्पनीलाई अनुमति दिएको कुराको अहिले सर्वत्र आलोचना भइरहेको छ । अर्थ मन्त्रीबाट बिदा हुने बेला उनले नयाँ बिमा कम्पनीहरूलाई अनुमति दिने विवादास्पद निर्णय मात्र गरेका छैनन् । केही नियुक्ति गर्नसमेत भ्याएका छन् । उनले जाँदाजाँदै नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा लक्ष्मण न्यौपानेलाई नियुक्त गरेका छन् । यसअघि न्यौपाने राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply