आफ्नैका हातबाट रामधुलाइ
काठमाडौं । गाउँको विकासको काम त परै जाओस् आफ्नै कार्यकर्तालाई पनि खुसी पार्न नसक्दा दोस्रो तहको निर्वाचनका क्रममा मनोनयन दर्ताको दिन नेपाली कांग्रेसका दुई जना नेताले कार्यकर्ताको हातबाट पिटाइ खानुपरेको छ । त्यो पनि पटकपटक मन्त्री भइसकेका माथिल्लो तहका नेता ।
कार्यकर्ताबाट पिटाइ खाने ती दुई नेता हुन्, सोलुखुम्बुका बलबहादुर केसी र दार्चुलाका दिलेन्द्रप्रसाद बडू । केन्द्रीय सदस्य केसी पटकपटक मन्त्री भइसकेका नेता हुन् भने कांग्रेसको प्रवक्तासमेत भइसकेका बडू पूर्वसञ्चारमन्त्री पनि हुन् । केसीलाई उनको गाउँमा उनकै जिल्लाका कांग्रेसका पूर्वजिल्ला सभापति आङ्गेलु शेर्पाको समूहले हातपात गरेको हो ।
केसीले केन्द्रको पहुँच देखाएर आङ्गेलुलाई माइनस गर्न खोज्ने र आङ्गेलुले बलबहादुरभन्दा सोलुवासीका लागि आफू ‘डन’ भएको ठान्ने प्रवृत्तिले सोलुबाटै कांग्रेस बढारिने स्थितिमा पुगेको कांग्रेसभित्रै चर्चा सुरु भएको छ । ‘कांग्रेस महासमिति सदस्यसमेत रहेका आङ्गेलु घरायसी काम पर्दा र निर्वाचनका बेला मात्र सोलु पुग्ने गरेका छन्,’ कांग्रेसकै एक नेताले भने, ‘तर उनी सोलुमा बलबहादुर केसीभन्दा शक्तिशाली रहेका दाबी गर्छन् । केसीलाई यो पचाउन मुस्किल छ ।’ बलबहादुर र आङ्गेलुको सबैभन्दा ठूलो लडाइँ यसैमा भएको कांग्रेसका जिल्ला तहका नेताहरूको भनाइ छ ।
‘बलबहादुरले अहिले माननीयको पद दुरूपयोग गरेर केन्द्रको पहुँचमा सोलुमा दादागिरी गरेका छन्,’ एमालेका एक नेताले भने, ‘उनको त्यो दादागिरी कांग्रेसकै साथीहरूलाई पचेको छैन । उनीहरूको जुँगाको लडाइँले सोलुमा यसपटक कांग्रेस हाफ हुने सम्भावना छ ।’
त्यसो त जिल्लामा यी दुवैले आफूलाई ‘डन’ ठानेर आ–आफ्ना कार्यकर्ता च्याप्दै हिँडेपछि त्यसको सबैभन्दा बढी असर कांग्रेसभित्रै पर्ने देखिएको छ । ‘अहिले सोलुमा कांग्रेसका कुनै पनि उम्मेदवार छैनन्,’ कांग्रेसकै एक जिम्मेवार नेताले भने, ‘जति पनि उम्मेदवार बनेका छन् कि बलबहादुरका कि आङ्गेलुका छन् । अनि कांग्रेसले सोलुमा कसरी जित्छ ?’
हारको अर्को कारण तिङ्लावासीको अपमान
हारको अर्को कारण तिङ्लावासीको अपमान रहेको पनि कांग्रेसकै नेताहरूले बताएका छन् । बलबहादुर केसीको ‘दादागिरी’ सोलुखुम्बु जिल्लामा नयाँ होइन । सत्ता र पैसाको चरम दुरूपयोग गरेर पटकपटक ‘कब्जा’कै नीतिमा चुनाव आफ्नो हातमा पार्न विभिन्न खाले हर्कत गर्ने केसी २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा तिङ्लावासीको अपमान गरेका कारण सबैभन्दा बढी बदनाम हुने भएका छन् ।
एमाले, राप्रपा, माओवादीलगायतका दलका लागि त उनी बदनाम पात्र थिए नै, यसपटक आफ्नै कार्यकर्तासामु पनि ‘बदनाम’ पात्रका रूपमा परिचित भएका छन् । सोलुखुम्बुका तिङ्लावासी आफ्नो गाउँलाई जिल्लाको एक मात्र सोलु–दूधकुण्ड नगरपालिकामा मिसाउनुपर्ने अडानसहित लामो समयदेखि आन्दोलनरत थिए । उनीहरूले तिङ्लालाई सोलु–दूधकुण्ड नगरपालिकामा नमिसाए आफूहरू स्थानीय निर्वाचनमै भाग नलिने भन्दै आन्दोलन गरिरहेका बेला आइतबार सही नै नगरेको कागज बोकेर सुटुक्क तिङ्ला पुगेका सांसद केसीले राजनीतिमा कुनै पनि चासो नभएका पहलमान कार्कीका छोरा टंक कार्कीलाई जबर्जस्ती उम्मेदवारी दर्ता गर्न लगाएपछि केसी थप बदनाम भएका हुन् । त्यही कारण शेर्पा समूहले मनोनयन दर्ताको दिन उनीमाथि हातपात गरेको थियो तर बदनामी ढाकछोप गर्न उनले त्यो दोष एमालेमाथि लगाएका छन् ।
कांग्रेस, माओवादीलगायतका दल पनि तिङ्लालाई सोलु–दूधकुण्ड नगरपालिकामै मिसाउनुपर्ने अडानमा छन् । तर केसीको दादागिरीकै कारण अहिले तिङ्ला नेचा–सल्यान गाउँपालिकाको वडा ६ बनेको छ । नेचा–सल्यान गाउँपालिकामा एमालेका तर्फबाट उम्मेदवार बनेका डुफकुमार बास्तोला पनि तिङ्लावासीकै मागका पक्षमा छन् । तर केसीले भने निरङ्कुश शैलीमा तिङ्लावासीलाई अपमान गर्दै एकपछि अर्को हर्कतमा लागेपछि अहिले उनी ‘बदनाम पात्र’का रूपमा परिचित बनेका हुन् ।
बडूलाई भने दार्चुलामा माओवादीसँग तालमेल गर्न खोजेको भन्दै आफ्नै कार्यकर्ताले हातपात गरेका हुन् । कार्यकर्ताले हातपात गरेपछि त्यहाँ उनको तालमेलको प्रयास असफल भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply