यसरी भत्किए ‘कांग्रेसका गढ’
काठमाडौं । आफ्नो गढ दाबी गरिएकोे कैलालीको टीकापुर नगरपालिकामा हार बेहोर्दा नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक आश्चर्यचकित थियो नै, त्यहाँ जित हासिल गरेको एमालेका लागि नै यो परिणाम अप्रत्यासित थियो । सुरुवातदेखि नै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका माओवादी केन्द्रका ललितबहादुर थापालाई अन्तिममा एमालेका टपेन्द्र रावलले ५ हजार ९ सय ५९ मत ल्याएर पराजित गरे ।
२०७० सालको संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका जनक चौधरीले जितेको यो क्षेत्र पुरानो कांग्रेसको प्रभाव रहेको ठाउँ हो । तर यसपटक यो कुनै पार्टीको पनि गढ रहेन । फोरम लोकतान्त्रिक र कांग्रेस मात्र होइन माओवादीले समेत आफ्नो गढ भन्ने गरेको यो क्षेत्रमा एमालेका उम्मेदवारले जित हासिल गरे ।
टीकापुर मात्र होइन, यो निर्वाचनमा एमालेले धेरै पार्टीका ‘गढ’ भत्काएको छ । बढीजसो स्थानमा नेपाली कांग्रेसको दशकौंदेखिका ‘गढ’ भत्किएका छन् भने कांग्रेसका शीर्ष नेताको प्रतिष्ठा जोडिएका स्थानमा पनि नेकपा (एमाले) ले जित हासिल गरेर चकित तुल्याइदिएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घाससमेत समेटिएको रेसुंगा नगरपालिका कांग्रेसको गढका रूपमा चिनिन्थ्यो । २०४९ र २०५४ सालमा स्थानीय निर्वाचन जितेको मात्र होइन, अहिलेसम्म संसदीय निर्वाचनमा समेत रेसुंगा क्षेत्रबाट कांग्रेसले अत्यधिक मत पाउँदै आएको थियो । तर यसपटक सो नगरपालिकामा कांग्रेसलाई पराजित गरी एमालेले सानदार रूपमा जित हासिल गरेको छ । एमालेका डिल्लीराम भुसालले कांग्रेसका भुवनप्रसाद श्रेष्ठलाई १ सय ४७ मतान्तरले पराजित गरेका छन् । भुसालले ६ हजार ३ सय ८८ मत ल्याएका थिए । उपप्रमुखमा पनि एमालेकै सीता भण्डारीले कांग्रेसकी अमृता कुँवरलाई सात मतले पराजित गरेकी छन् ।
रमाइलो त के छ भने रेसुंगा नगरपालिकाको मेयर पदमा विजयी बनेका भुसाल र पराजित श्रेष्ठ २० वर्षअघि पनि प्रतिस्पर्धी थिए । तत्कालीन तम्घास गाविसको गाविस अध्यक्ष पदका लागि २०५४ सालमा श्रेष्ठले भुसाललाई हराएका थिए । रेसुंगामा जितेपछि एमालेले शनिबार विशाल विजय सभा आयोजना गरेको छ । उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैं गएका थिए । एमालेका जिल्ला नेताहरूले समेत यो नगरपालिकालाई आफूहरूले जित्ने कोटामा राखेका थिएनन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठामाथि पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले धावा बोलेको छ । प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको एउटा मात्र नगरपालिका अमरगढीमा एमालेले जित हासिल गरेपछि कांग्रेसभित्रै देउवाको व्यापक आलोचना भइरहेको छ ।
२०४८ सालको आमनिर्वाचनदेखि कांग्रेसको वर्चस्व रहेको जिल्लाको पकड भत्किन नदिन प्रधानमन्त्री देउवाले सक्दो प्रयत्न गरेका थिए । निर्वाचन आचारसंहिता उल्लंघन गरेरै भए पनि उनी डडेलधुरामा पाँच दिन बसेका थिए । तर देउवाको केही लागेन । यो नगरपालिकामा एमालेका विपीन ओझाले कांग्रेसका डिल्लीराज जोशीलाई १ सय २८ मतले पछि पार्दै जित हासिल गरे भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् ।
कांग्रेस र कांग्रेसका नेताको प्रतिष्ठासँग जोडिएर पनि कांग्रेसले हार बेहोर्नुपरेको अर्को स्थानीय तह हो, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका । कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीको घर भएको यो गाउँपालिका पनि दशकौंदेखिको कांग्रेसको गढका रूपमा चिनिन्थ्यो । उक्त गाउँपालिका अध्यक्षमा एमालेका डुफकुमार बाँस्तोलाले कांग्रेसका उम्मेदवारलाई ४२ मतले पराजित गरे । बास्तोलाले १ हजार ६ सय ९८ मत ल्याए भने कांग्रेसका उम्मेदवार धनराज राईले १ हजार ६ सय ५६ मत ल्याएका थिए ।
त्यसो त सोलुखुम्बु जिल्ला नै कांग्रेसको गढका रूपमा चिनिन्छ । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक १ सय ४८ पछिका सबै संसदीय निर्वाचनमा यहाँ कांग्रेसका नेता केसीले जित्दै आएको यो जिल्लामा यसपटक नौ स्थानीय तहमध्ये एमालेले चारवटा गाउँपालिकामा जित हासिल ग¥यो भने एउटा नगरपालिका दूधकुण्डमा उपप्रमुख जित्यो ।
२००७ सालदेखिको कांग्रेसको गढका रूपमा चिनिएको ओखलढुंगाको एउटा मात्र नगरपालिकामा पनि यसपटक एमालेले जित हासिल गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एमालेका मोहनकुमार श्रेष्ठले कांग्रेस उम्मेदवार डिल्लीराज खनाललाई १ सय २६ मत अन्तरले पराजित गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री रमेश लेखकको वडामा एमाले उम्मेदवार विजयी भएका छन् । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा ८ मा एमाले उम्मेदवार दुर्गासिंह भण्डारीले विजयी हासिल गरेका छन् । उनले कांग्रेसका प्रत्यासीभन्दा ८८ बढी मत ल्याएर चुनाव जितेका हुन् । यो नगरपालिकाको प्रमुखमा पनि एमालेका अशोक चन्दले जित हासिल गरेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply